
सिंगटी/विगू गाउँपालिका–१ ठाडीका चुना तमाङ उमेरले ८० वर्ष नाघे । उनले सानैदेखि बाख्रा पालन गर्दै आएका छन् । जीवनको उत्तरार्धमा पनि चुना लौरो टेकेर अहिले पनि बाख्रा चराउने र घाँसपात गर्छन् । चुनासँग अहिले १० वटा बाख्रा छन् । उमेरमा ५० वटासम्म बाख्रा पालेको उनले अनुभव सुनाए । नजिक जंगल भएकाले प्राय: दिउँसो बाख्रा वस्तु जंगलमा चराउन लैजाने गरेको उनले बताए । वर्षौंदेखि बाख्रा पाले पनि ८० वर्ष पुगेपछि घर नजिकै तमाङले सुधारिएको खोर बनाए ।




जमिनबाट केही माथि उठाएर बड्कौला भुइमा जानेगरी खोर बनाएको उनले बताए । ढुंगामाटोको गाह्रो, काठ, र जालीसमेत लगाएर खोर बनाएपछि वन्यजन्तुको जोखिम घटेको उनको भनाइ छ । ‘पहिला पहिला त हामी बारीमै बाहिर सामान्य गोठमा बाख्रा बाध्ने गरेका थियौं’ उनले भने, ‘बाघ, चितुवा जस्ता वन्यतन्तुले खाने र नष्ट गरिदिन्थ्यो, अहिले खोर बनाएपछि रातमा यस्तो समस्या झेल्नु परेको छैन ।’ जस्ताको छानो सहितको खोरले बाख्रा सुरक्षित भएको उनको अनुभव छ ।
ठाडीकै राजेन्द्र तमाङले पनि यस्तै खोर बनाएका छन् । गाउँमा यस्ता खोर बनाएपछि वन्यजन्तुबाट भेडा बाख्रा खाएको अहिले गाउँमा सुन्न नपरेको उनको भनाइ छ । खुल्ला ठाउँ भएकाले पनि वन्यजन्तु गाउँ पस्दा घरपालुवा जनावरको क्षति पुर्याउने गरेका छन् । वन्यजन्तुले विगतमा पनि क्षति पुर्याउँथ्यो, अहिले पनि कहिलेकाँही हुन्छ स्थानीय रामे तमाङको भनाइ छ । जंगल बढेर वन्यजन्तु गाउँ छेऊछाउ आउन थालेको गुनासो बढेपछि एक वर्ष यता विगू गाउँपालिका–१ मा आधुनिक खोर निर्माण तीव्र भएको छ ।

कम्तिमा ५ वटा बाख्रा पाल्ने परिवारका लागि स्थानीय संरक्षण व्यवस्थापन समितिले गोठ बनाउन सहयोग गरेको छ । विगू गाउँपालिका–१ का संरक्षण व्यवस्थापन समिति सचिव यादव आचार्यले गत आर्थिक वर्ष ७० वटा यस्ता गोठ बनेको जानकारी दिए । यो सबैतिर प्रभावकारी देखिएकाले चालु आर्थिक वर्ष ९६ वटा यस्ता गोठ बनाउने योजना रहेको बताए । खुल्ला चरिचरण र घुम्ती गोठका कारण बाख्रालाई वन्यजन्तुले सिकार गर्ने गरेको किसानको बुझाइ छ ।
गोठ निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले प्रतिगोठ २५ हजार बराबरको सामान उपलब्ध गराउने गरेको छ । गोठका लागि सिमेन्ट, जस्तापाता, काँटी कब्जा जस्ता सामान उपलब्ध गराउने र गोठ बनाउने श्रम किसानले नै गर्नुपर्ने अवस्था छ । ठाडीमा जस्तै विगू गाउँपालिका–२ ओराङमा पनि यस्ता गोठ प्रभावकारी देखिएको छ । स्थानीय संरक्षण व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ठकुरीले अघिल्लो वर्ष वडा–२ मा १५ वटा बनाएको र यस वर्ष १० वटा खोर बन्ने बताए ।
उनका अनुसार वन्यजन्तुले घरपालुवा जनावरको क्षति भए संरक्षण क्षेत्रबाट क्षतिपूर्तिको व्यवस्थासमेत रहेको बताए । किसानले पालेका घरपालुवा जनावर क्षति भए किसानको दाबी अनुसार प्रक्रिया पूरा गरेर किसानलाई क्षतिपूर्ति गर्ने गरेको बताए । ओराङ यार्साकी अमृता ठकुरीले आफ्नो एउटा बाख्रा चितुवाले मार्दा ७ हजार क्षतिपूर्ति पाएको बताइन् ।
विगू गाउँपालिका–३ का वडा अध्यक्ष ढालबहादुर तमाङले आफ्नो वडामा ३५ वटा बाख्राको खोर बनेको जानकारी दिए । चालु वर्ष थप २५ वटा बन्ने बताए । वन्यजन्तुबाट बाख्रा जोगाउने उपाय निस्केपनि बालीनाली जोगाउन भने नसकिएको बताए । विगतमा खोला किनारमा बस्ने बाँदर, दुम्सी अहिले जंगल बढेको कारण गाउँ छिरेकाले किसानले बालीनाली जोगाउन नसकेको बताए ।
गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख तुलसीप्रसाद दाहालले वन्यजन्तुको क्षति कम गर्न किसानसँग मिलेर विभिन्न कार्यक्रम गरिएको बताए । बाँदर हेर्न ठाउँ ठाउँमा पालैपालो गोठालो राख्ने काम पनि भएको छ । त्यसका लागि जंगल बीचमा मचान पनि बनाएको, परम्परागत काँडेबार लगाउने काम पनि भइरहेको बताए । किसानका मकै बालीको बीमा गर्नेलगायतका काम पनि भइरहेको उनको भनाइ छ ।

Nabin Kumar Khatiwada
विगत डेढ दशकदेखि नेपालको समष्टिगत अर्थतन्त्र, मौद्रिक नीति, वित्तीय सुशासन तथा नीतिगत सुधारका क्षेत्रमा खोजी पत्रकारिता गर्दै।
लेखकका अन्य लेख तथा विश्लेषणहरू arrow_right_altप्रतिक्रियाहरू (२४)
कागजी घोषणा मात्र नहोस्, साना उद्यमी बैंकको ढोका धाउँदा कागजात नपुगेको बहानामा ऋण नपाउने पुरानै रोग दोहोरिनु हुँदैन। ५% ब्याज अनुदान कार्यान्वयन भए साँच्चिकै रोजगारी बढ्छ।
सटीक सुझाव बिदुरजी! राष्ट्र बैंकले यसपटक अनुगमनका लागि छुट्टै अनलाइन ड्यासबोर्ड बनाउने प्रतिबद्धता जनाएको छ।
कृषि प्रशोधन केन्द्रहरूले पनि यो सुविधा पाउने कुरा निकै सराहनीय छ। तराईका शीतभण्डार र तेल मिलहरूलाई तत्काल राहत आवश्यक थियो।