दिलबहादुर केसी
दोलखा, ४ पुस
कालिञ्चोक गाउँपालिका वडा नं. १ क्याम्पोलका जितबहादुर थामीले यस वर्ष २० हजारको किबी बिक्री गरे । थामीले आफ्नो बगैंचाबाटै २ सय किलोग्राम किबी प्रति केजी एक सयमा बिक्री गरेका हुन् । जितबहादुर जस्तै पूर्णबहादुर थामीले पनि २ सय किलो नै किबी बिक्री गरेका छन् ।

किबी बिक्री गरेर आम्दानी गर्ने यि २ किसान प्रतिनिधि पात्र मात्रै हुन् । क्याम्पोलका ५० भन्दा बढी किसानले यो वर्ष किबी बिक्री गरेका छन् । क्याम्पोलको भित्रीखर्कमा मात्रै वर्षौंदेखि खेर गएको पाखो जमिनमा पकेट क्षेत्र नै बनाएर ६५ जना किसानले २ हजार २ सय किबी रोपेको कालिञ्चोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पदम थामीले जानकारी दिए । यो वडाभरीमा १५३ किसानले ४ हजार २ सय विरुवा रोपेको उनले बताए । धेर थोर सबैले यस वर्ष किबी बेचेका छन् ।
रोपेको ३ वर्षदेखि फल दिन सुरु गर्ने किबी एक वर्ष अघिदेखि मात्रै फल्न थालेको हो । किबी रोप्नका लागि कालिञ्चोक गाउँपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रले सहयोग गरेको छ । सुरुवाती वर्षमा थोरै उत्पादन भए तापनि अब बोट वयस्क हुँदै गएपछि उत्पादन बढ्ने कृषि प्राविधिक अस्मिता बस्नेतले जानकारी दिइन् ।
गाउँमै सडक सुविधा पुगेपछि वर्षे आलु पनि बिक्री गरेका छन् । वर्षे आलु पनि सोझै काठमाडौं पुगेको छ । त्यस्तै सिजन अनुसार गोलभेडा, साग, काउली, खुर्सानी यो गाउँबाट नजिकको बजार सिंगटी र चरिकोटसम्म पु¥याएर बिक्री गर्न थालेका छन् । गाउँबाट दैनिक गाडी सहर जान थालेपछि दैनिक जसो किसानहरु धेर थोर स्थानीय उत्पादन बजार पठाउन थालेका हुन् ।
स्थानीय उत्पादनका लागि किसानहरुको सहाराको रुपमा स्थानीय सहकारी भएको छ । किसानहरु आफैंले गठन गरेको दिपजंग साना किसान कृषि सहकारीमार्फत स्थानीय उत्पादन बजारसम्म पुगेको हो । सहकारीले नै २ वर्ष अघि कोल्ड च्याम्बर तयार गरेको छ । स्थानीय उत्पादन किबी र आलु यो कोल्ड च्याम्बरमा राख्छन् । बाटो सहज भएपछि बजारमा राम्रो माग भएपछि उत्पादन बजार पुग्छ ।
सहकारीका अध्यक्ष कर्णबहादुर थामीले यो वर्ष मात्रै १९ हजार केजी आलु कोल्ड च्याम्बरमा भण्डारण गरेको जानकारी दिए । किबी पनि टिपेर बजार नपुग्दासम्म कोल्ड च्याम्बरमा राखे । कोल्ड च्याम्बर सञ्चालनमा आएपछि यहाँका किसानहरु अब आलुको बीऊ नपाइएला, राखेको बीऊ कुहिएला कि भन्ने चिन्ताबाट मुक्त भएका छन् । आलु भण्डारणका लागि गाउँमै कोल्ड च्याम्बर बनेपछि उनीहरुका आलुमा बीऊ राख्ने चिन्ता हराएको हो । यो वर्ष मात्रै यो एउटै वडाबाट ५० लाख बढीको वर्षे आलु काठमाडौं पुगेको छ ।
बारीमा खनेको आलु बजार वर्षात्मा बाटोको समस्याका कारण लैजान नपाए तापनि धेरैले कोल्ड च्याम्बरमै राखे । अहिले बीऊ राम्रो भएपछि घरमा आफूले राखेकोभन्दा राम्रो भएपछि उनी खुशी भएका छन् । जसबाट आलुको बीउमा मुना पलाएर खेर जाने समस्या रहेन । बीउ सुरक्षित रहने भएकाले भण्डारमाल्याएर राख्ने गरेको उनले बताए ।
कोल्ड च्याम्बर निर्माणका लागि गत वर्ष बागमती प्रदेश सरकार, कालिञ्चोक गाउँपालिका र नाम्सालिङ सामुदायिक विकास केन्द्रको संयुक्त लगानीमा निर्माण भएको हो । यसको व्यवस्थापन संचालन स्थानीय दिपजंग सानाकिसान सहकारी संस्थाले गरेको छ । सहकारीमा ८१० शेयर सदस्य छन् । सहकारीले अहिले शेयर सदस्यहरुका लागि आवश्यक वचतका अतिरिक्त मल बीऊ खरिद, उत्पादित वस्तु संकलन र बजारिकरणमा सहयोग गरिरहेको उनले बताए ।
‘गाउँमा भएका सबै कृषिजन्य वस्तु सहकारीले संकलन गरेर बजार पठाउँछ’ सहकारीका व्यवस्थापक पूर्णबहादुर थामीले भने ‘किसानहरुलाई विस्तारै विश्वासमा लिएर उत्पादनमा लाग्न प्रेरित गरिरहेका छौं, अझै किसानका उत्पादन सहकारीमा आउनै सकेको छैन ।’ कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नाम्सालिङ सामुदायिक विकास केन्द्रले १० वर्षदेखि कृषि, पशुपालन, खानेपानी, सरसफाइ, सहकारी प्रबद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ । नाम्सालिङका जिल्ला संयोेजक राजन केसीले १० वर्षमा जीविकोपार्जनमा धेरै परिवर्तन आएको दाबी गरे ।
कालिञ्चोक गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले स्थानीय सरकारको ध्यान पनि आयआर्जन वृद्धिमा नै रहेको बताए । सडक, विद्युत, खानेपानी, विद्यालय, स्वास्थ्य चौकीका पूर्वाधार प्रयाप्त रहेको र यसलाई सेवा गुणस्तर बनाउँदै लैजाने मात्रै भएको उनले बताए । अब कृषि र पशुपालनकै क्षेत्रबाट उत्पादन बढाउन व्यवसायिक किसानहरुलाई सहयोग गर्ने र उत्पादित वस्तु बजारसम्म पु¥याउन सहयोग गर्ने बताए ।
थामीहरुले उत्पादन गरेको किबी काठमाडौं पुग्यो । गाउँमा किबी उत्पादन भएपछि खरिदका लागि व्यापारीहरु गाउँमै आए । आफ्नो उत्पादन किन्न व्यापारीहरु आएपछि थामीहरु उत्साहित भए । साविक कालिञ्चोक गाविसमा पर्ने यो गाउँ जिल्लाकै दुर्गममा पर्ने गाउँ हो । थामी जातीको बसोबास बाहुल्यता रहेको यो ठाउँमा खेतीले खानाका लागि अन्यत्र मजदुरी गर्नु पर्ने बाध्यता रहेको यो गाउँमा गाउँकै उत्पादन गाउँ जान थालेको ३ वर्ष मात्रै भयो ।
कालिञ्चोक गाउँपालिका वडा नं. १ का क्याम्पोल, बेगुम्पा, तारेभीर, डुसीखर्कका किसानहरु अहिले आलु, तरकारी खेती र किबी खेतीमा लागेका छन् । सडक खुल्नु अघिसम्म ढुङ्गाखानीबाट ढुङ्गा बोकेर गाउँ गाउँमा घरको छानो छाप्न पु¥याउने यि थामी जाती अहिले ढुङ्गा बोक्ने काम छाडेर खेतीमै रमाउन थालेका छन् । २०७२ को भुकम्पपछि घरको छानोमा ढुङ्गा छाप्न पनि बन्द भएको छ ।
तस्बिरः क्याम्पोलमा रहेको कोल्डच्याम्बर र पाखो बारीको किबी खेती ।





