फ्रेण्डसिप खबर
आजको ताजा समाचार कभर स्टाेरी

दोलखा शहरको संस्कृति तथा ऐतिहासिक सम्पदाहरु

नवीनकुमार खतिवडा

केही समय अघि ललितपुर पाटनमा रातो मच्छिन्द्रनाथको रथ यात्रामा हजारौंको सहभागीता रह्यो । राजधानीबासी र धेरैको ध्यान एक हप्तासम्म पाटनको रथ यात्रामै भयो । हिन्दु र बौद्ध धर्मावलम्बी मात्रै होइन जात्रामा रम्ने हजारौं आस्थावान रातो मच्छिन्द्रनाथको उत्सवमा सहभागी हुन्छन्
तर कमैलाई थाहा छ, पाटनभन्दा अघि नै रातो मच्छिन्द्रनाथकै जात्रा पाटनभन्दा १३५ किलोमिटर उत्तरपूर्व दोलखाको द्वाल्खा सहरमा नौ दिनसम्म चलेर सकियो । दोलखामा कहिलेदेखि रातो मच्छिन्द्रनाथको रथजात्रा सुरु भयो भन्ने अनुसन्धानकै विषय हो । तर, पाँच सय वर्षअघिसम्म जात्रा मनाइएका आधारहरु भने भेटिन्छन् ।
दोलखालीहरु पनि वर्षा र सहकालको देवता, करुणामय र अवलोकितेश्वरका रुपमा रातो मच्छिन्द्रनाथको आराधना गर्छन् । जसलाई उनीहरु बुग्देउका रुपमा सम्बोधन गर्छन् । यसको अर्थ ‘बोकेर लगिने’ भन्ने हुन्छ ।
पाटनमा देखिने भन्दा फरक भीमेश्वरको रातो मच्छिन्द्रनाथ जात्रामा ठाडो उकालोमा रथ तानिने भएकाले पनि रथको वनावट र शैली नै भिन्न छ । झण्डै ३० फिट अग्लो रथको पाङ्गा खण्डखण्ड परेको छ । जसलाई स्थानीय भाषामा गरक्चा भनिन्छ । गरक्चाको बनोटले रथलाई उकालोमा लैजान पनि केही सजिलो बनाउँछ ।
आफ्नो घरअगाडि रथ आएपछि स्थानीयहरु पूजा गर्छन्, रथ तान्न सहभागी हुन्छन् । जुन टोलमा रथ लगिन्छ, त्यही टोलका बासिन्दाले तोकिएको ठाउँसम्म रथ र्पुयाउने जिम्मेवारी हुन्छ । यसरी रथ बनाउँदादेखि जुटेका स्थानीय जात्रा नसकिँदासम्म सँगसँगै रहने स्थानीय भरतनारायण श्रेष्ठले जानकारी दिए ।
हरेक वर्ष मनाइने रथजात्रा ०४१ सालतिरबाट झण्डै १४ वर्ष आर्थिक अभावले रोकियो । ०५५ सालमा स्थानीय कालिन्चोक युवा क्लबको सक्रियतामा सहयोग संकलन गरेपछि पुनः जात्राले निरन्तरता पाएको छ । मच्छिन्द्रनाथ जात्राको धार्मिक पक्ष भीमेश्वरमा पनि पाटनको भन्दा भिन्न छैन । सामाजिक पक्षमा भने अरु आयामहरु पनि देखिएका छन् । त्यसैले पनि दोलखाको रथ तान्न वर्षेनी सयांै पाटनका नेवार समुदायका व्यक्तिहरु आउने गरेका छन् ।
कला, भाषा र सम्पदाको धनी भीमेश्वरमा जात्रा मात्र होइन भुकक्पले ढलेको बस्ती मौलिक संस्कृति झल्कने गरी उठ्दैछ । मानवीय सम्बन्ध छ, धार्मिक आस्था छ । सम्पदाको कला पनि देखिन्छ ।

मन्दिरै मन्दिरको शहर
दोलखा मन्दिरै मन्दिरको सहरको रुपमा चिन्छि । भीमेश्वर मन्दिर दर्शन गर्न देशभरका दर्शनार्थीहरु दोलखा आउँछन् । दोलखा जिल्लालाई पर्यटकीय रुपमा विकास गर्ने बहस चलिरहँदा सबैभन्दा पहिला भीमेश्वर मन्दिरको विषय आउँछ । भीमेश्वर मन्दिर दर्शन गर्न आउने धार्मिक पर्यटकहरुकै कारण पनि चरिकोट र दोलखाका होटल व्यवसाय सञ्चालनमा योगदान पुगेको छ ।
भीमेश्वर मन्दिरमा विभिन्न तिथि र पर्वमा विभिन्न भगवानको अवतारको रुपमा हिन्दु र बौद्र्ध दुवैले पूजा गर्ने गरेका छन् । भीमेश्वरसँगै त्रिपुरा सुन्दरी, सरस्वती मन्दिर लगायत टोलै पिच्चे मन्दिर छन् । सरस्वती मन्दिरलाई अहिले मञ्जुश्री पार्कको रुपमा विकास गरिएको छ । तिब्बतबाट काठमाण्डौ जाने क्रममा मञ्जुश्री यही ठाउँमा बास बसेको भनाई पनि रहेको छ ।
दोलखमा हरेक पर्वमा जात्रा देखाइन्छ । दोलखामा मुख्य रुपमा गाई जात्रा, हिले जात्रा, भैरव कुमारी जात्रा, रातो मछिन्द्रनाथको रथ तान्ने जात्रा, खड्गे जात्रा यि मुख्य जात्रा हुन् ।

भीमेश्वरमा पहिले माटो, ढुँगा र काठ प्रयोग गरिएका चार तले घरहरु थिए । केही वर्षअघिसम्म राजा पृथ्विसिंह देवले बनाएको देगल थियो । राजदरबार थियो ।
अहिले दोलखा बसपार्क रहेको ठाउँबाट ओरालो झरेपछि ढुङ्गा छापिएको पुरानो बाटो छ । तल पिङ्गल टोलसम्म नै घरहरु त्यस्तै छन् । राजदरबारको मूर्तिहरु भने संरक्षणमा नै छन् । पहिलो शताब्दीदेखि एकीकरण अघिसम्म छुट्टै राज्य रहेको दोलखा भीमेश्वरमा जात्रा, पर्व, सांस्कृतिक रीतिरिवाजसँगै सम्पदाहरुको विकास भएको देखिन्छ । भीमेश्वरमा झण्डै आधा घण्टाको पैदलमा महत्वपूर्ण ऐतिहासिक सम्पदा पर्छन् । जहाँ चार नारायण छ । अजिमाहरु छन् । त्रिपुरासुन्दरी, बालकुमारी, हरिसिद्धि, बज्रयोगिनी, नारायण मन्दिर, तलेजु, पशुपति, भीमेश्वर, गणेश, श्यामसुन्दरसहित बुद्ध गुम्बा र चैत्यका अनुपम कला देखिन्छन् ।

पुरानो व्यापारीक केन्द्र दोलखा
विगु हुदै कुती, खासा हुदै भोट जाने बाटो, लामाबगर, रचि ९लप्चि० भई भोट जाने बाटो मल्लकालको उत्तराद्र्धसम्म पनि कायम भएको हुनाले लिच्छविकालको उत्तराद्र्धमा नै दोलखा भई भोट जाने बाटो खुलेको अनुमान हुन्छ भनी धनबज्र बज्राचार्य र टेक बहादुर श्रेष्ठद्वारा लिखित दोलखाको ऐतिहासिक रुप रेखामा उल्लेख गरेको देखिन्छ ।
त्यस समयदेखि नै तामाकोशीको किनारै किनार भएर भोटसंग व्यापार मार्ग खुलेकोले व्यापार गर्न आउंदा जाँदा हालको दोलखामा कुनै डर त्रास नभई सुरक्षित स्थान भएकोले नै उक्त स्थानलाई पहिला अभयपुर भनेर चिनिन्थ्यो भन्ने भनाइ रहेको छ भने कसैको भनाइ अनुसार दोलखा राज्यको शासन व्यवस्थामा सात सुरक्षा घेरा भएको कारणले नै दोलखालाई अभयपुर महापतन भनिन्थ्यो भन्ने रहेको छ ।
अभयपुरमामा कुनै समय दुङ्गल र पिङ्गल गरेर बाहिरी र भित्री बजार थियो । विस्तारै बस्ती बढ्दै जाँदा बजार बढ्दै गयो । अहिले भने चरिकोट बजारको विस्तारले दोलखा बजार सुनसान छ ।

रथ तानिने ड्वाकुलुङा टोलदेखि पिङ्गल टोलसम्म पहिले चलेको बजार रहेको स्थानीय प्रकाश श्रेष्ठको भनाई छ । अहिले भने रथ जात्राबाहेकको समयमा गाउँ नै सुनसान हुने उनले सुनाए ।
दोलखा पहिले त व्यापारिक केन्द्र नै हो । दक्षिण भारत र चीनसँग समेतको व्यापारिक केन्द्र भएकाले पनि नेवारी बस्तीको बाहुल्य भएको देखिन्छ । इतिहासले भन्छ, मल्लकालमा सम्पन्न राज्य हो दोलखा । खेतियोग्य जमिन र व्यापारले फस्टाएको दोलखामा पछिसम्म बाहिरी आवतजावत पनि धेरै नै थियो ।
भनिन्छ, महेन्द्र मल्लले भन्दा २९ वर्ष अगाडि नै राजा इन्द्रसेन देवले दोलखा भीमेश्वरमा रहेको टक्सारबाट नै मोहर निकालिसकेका थिए । जुन टक्सार घर अहिलेसम्म छँदैछ । भूकम्पपछि जिर्ण बनेकाले ऐतिहासिक टक्सार घर पुनर्निर्माण र संरक्षणको पर्खाइमा छ । पटक पटक यसको जीर्णोद्धार गर्न खोजे तापनि निजी स्वामित्व विवादका कारण यो अहिलेसम्म अलपत्र रहेको स्थानीय पूर्व वडाअध्यक्ष विराजमान श्रेष्ठको भनाई छ ।
स्वीस सरकारको सहयोगमा तलेजु मन्दिर, त्रिपुरासुन्दरी मन्दिर, भीमेश्वर भण्डारको पुनर्निर्माण भइसकेको छ । बिग्रिएका अरु सम्पदामा पुरातत्व विभागमार्फत काम भइरहँदा व्यक्तिको नाममा रहेकाले टक्सार घरको पुनर्निर्माण हुन नसकेको हो । पुराना ढुङ्गेधारा र चौतारा पनि पुनःनिर्माण भइरहेका छन् ।
स्थानीयले रातो मच्छिन्द्रनाथ जात्रामा स्थानीयस्तरमा पाइने काठ, वेत र डोरीले उकालोमा तान्न सकिने, नढल्ने, नभाँचिने रथ निर्माण गरेर कालिगरीको उत्कृष्ट नमूना देखाइरहेको छन् । घरमा पनि सम्पदा बस्ती झल्किने गरी काम भइरहेको छ ।

माथिल्लो टोलको चैत्य
दोलखाली इतिहासबारे अध्ययन गरेका तीर्थनारायण जोशी पनि रातो मच्छिन्द्रनाथ जात्राको इतिहास उपत्यकासँग जोडिएको नभई दोलखाकै छुट्टै इतिहास रहेको बताउँछन् ।
‘बिस १६३८ सालमा पाटनका मान्छे आएर मच्छिन्द्रनाथमा परेवा चढाएको हो भन्ने प्रमाण देखिन्छ । त्यसपछि १७३८ सालमा राजा महेन्द्र सिंह देवले जात्रा चलाउन गुठी तोकिदिएको देखिन्छ । १८६० मा गिर्वाणयुद्धले गुठी यसरी चलाउनु भनेर बनाइदिएको ताम्रपत्र पनि भेटिन्छ, त्यसैले यसको आफ्नै इतिहास छ’ उनले भने ।
२०३० साल ताका इतिहास अन्वेषक धनब्रज बज्राचार्य र टेकबहादुर श्रेष्ठ दोलखाबारे अध्ययन गर्न पुगेका थिए । उनीहरुकै सक्रियताले दोलखालीलाई पनि पुरातत्व र इतिहासका बारेमा अध्ययन आवश्यक छ भन्ने ज्ञान मिलेको थियो । तर सम्पदा अध्ययनको काम प्रमाणिक रुपमा अझै हुन सकेको छैन ।
रातो मच्छिन्द्रनाथको रथयात्रा हुने ड्वाकुलुङादेखि पिङ्गल टोल, नक्छे टोल, कोर्छेटोल, टसिचा टोल, बौद्ध टोल हुँदै दुङ्गल टोलसम्म पुग्दा पनि हरेक टोलमा एक दुईवटा पुरातात्विक सम्पदाहरु देखिन्छन्, जसमा काष्ठकला, शिल्पकला र मूर्तिकलाको नमूनाहरु राम्रा छन् । त्यसले पनि सम्पदामा भीमेश्वर कति सम्पन्न छ भन्ने थाहा हुन्छ ।
समयक्रमसँगै सम्पदाहरु कमजोर हुँदै गएको तीर्थनारायण सुनाउँछन् । ‘मल्लकालसम्म जोगिएका पुराना धरोहर शाह कालमा र राणा कालमा धेरै नै बिग्रिएका हुन् । पृथ्वीनारायण शाहले एकीकरण गरेर बहादुर शाहलाई दोलखा हेर्ने जिम्मा दिँदासम्म पनि यहाँका ऐतिहासिक धरोहरहरु बिग्रिएका थिएनन् । त्यसको केही समयपछि ठूलो आगलागी भएर संरचनाहर बिग्रिएको भनिन्छ’ उनले सुनाए ।

दोलखाली रानीपोखरी
उनको भनाइअनुसार जोगाउन नसकिएको अहिले मात्रै होइन भन्ने बुझिए पनि भूकम्पपछि पुनर्निर्माणको जुन अवसर आएको थियो त्यसको पनि सदुपयोग भने भएको छैन । उदाहरणका लागि पशुपतिको पुरातात्विक महत्वको मन्दिरमा प्रयोग गरिएको सिमेन्ट र रानीपोखरीमा गरिएको ढलानले नै पुष्टि गर्छ । स्थानीय तीर्थनारायण नै भन्छन्, रानीपोखरी पहिले ठूलो थियो । देगल भएको ठाउँमा भत्काएर स्कूल बनाइएको थियो, त्यही स्कूल बिस्तार गर्दा अहिले रानीपोखरी पनि चेपियो ।
राजा इन्द्रसेन देव भन्दा अगाडि नै पोखरीको निर्माण भएको दोलखाको ऐतिहासिक रुपरेखामा उल्लेख भएको पाइन्छ । यति पुरानो पोखरीको महत्व पनि भीमेश्वरबासीले किन बुझेनन् त ?
रानीपोखरीको पुनर्निर्माण पुरातत्व विभागले गरेको हो । जहाँ अहिले पानी झिकिएको स्वीमिङ पुल जस्तो मात्र देखिन्छ । ‘पोखरीमा पहिले तल इँटा बिछाइएको थियो । जसले गर्दा पानी आइरहेको हुन्थ्यो । तर अहिले ढलान गरेको भएर पानी आएको छैन । त्यो पानी कता पस्यो भन्ने पनि थाहा छैन’ तीर्थनारायणले भने ।

दोलखाको नामाकरण र पृष्ठभूमी
‘दोलखाको इतिहास नलेखिकन नेपालको इतिहास लेखन पुरा हुँदैन’ भन्ने इतिहास शिरोमणि स्व.बाबुराम आचार्यको कथन रहेको छ । दोलखालाई पहिला अभयपुरको नामबाट चिनिन्थ्यो ।
दोलखाको नामाकरण सम्बन्धमा विभिन्न किम्बदन्तीहरु पाइन्छन् । कुनै समयमा एउटा योगी मुसलमानको आक्रमणबाट भागी गौरीशंकर हिमालको एउटा गुफामा गई तपस्या गर्दा शिवजी प्रसन्न भई बरदान दिएकोले योगी खुसीले गदगद भई अब म एक पटक सवैतिर घुमेर आउछु भनी हिड्दा जति घुमे पनि उही ठाउँमा आइपुग्दो रहेछ । यसरी २ लाख पटक घुम्न निस्कंदा पनि पुन त्यहि स्थानमा आइपुग्दा योगी थकित भएर आफ्नै आश्रममा फर्केछन् । यसरी २ लाखपटक घुम्दा पनि त्यहि स्थानमा आएकोले सो स्थानलाई दो ं लाख बाट अपभ्रस हुँदै दोलखा (हिन्दीमा दो भनेको दुई र लख भनेको लाख) नामाकरण भएको भन्ने भनाइ रहेको पाइन्छ ।
त्यस्तै अर्को भनाइ अनुसार तिब्बती भाषामा —दो‘ को अर्थ ढुङ्गा —ल‘ को अर्थ मन्दिर र —खा‘ को अर्थ घर भएकोले दोलखामा प्रसस्त मात्रामा ढुङ्गा माटोबाट बनाइएको मन्दिर र घरहरु रहेको हुनाले यसलाई दोलखा नामाकरण गरिएको हो ।
दोलखाको नामाकरणमा जे जस्ता किम्बदन्ती रहे तापनि यसलाई ज्यादै पुरानो नगरको रुपमा चिन्न सकिन्छ । जब केन्द्रमा किराँतहरुको शासन चल्यो त्यसबेलादेखि नै किराँतहरु दोलखामा उपनिवेश कायम गर्न आई हालको किराँतीछापमा बसेको र पछि १४ औं शताब्दीमा भारतका मुगल सम्राट समसुद्धिनको आक्रमणबाट उक्त बस्ती ध्वस्त भई हालको दोलखा वस्ती बसेको हुन सक्ने अनुमान गरिएको छ ।
नेपाल र भोट वीचको व्यापारको लागि लामाबगर हुँदै तिब्बत जाने व्यापारी मार्ग खुल्यो, त्यसबेलादेखि नै भक्तपुरबाट नेवारहरु दोलखामा आई व्यापार गर्न थालेको अनुमान गर्न सकिन्छ । वि.सं.को १६ औं शताब्दीको उत्तराद्र्धदेखि १७ औं शताब्दीको उत्तराद्र्धसम्म करिव १ शताब्दी जति दोलखा एक स्वतन्त्र राज्यको रुपमा रहेको कुरा इतिहासले प्रष्ट पारेको छ । केन्द्रमा यक्ष मल्लले राज्य गरे तापनि दोलखामा कीर्तिसिंह सामन्ती शासकको रुपमा थिए र उनको मृत्यु पछि उनका १४ वर्षीय छोरा उद्धवदेव दोलखाका राजा भए ।
त्यस बेला उद्धवदेवले आफ्नो नामको अगाडि “दोलखाधिपति” लेख्ने गरेका थिए । जसबाट पनि दोलखा स्वतन्त्र राज्यको रुपमा स्थापित थियो भन्ने पुष्टि हुन्छ । त्यसै गरी स्वतन्त्र रुपमा रहेको दोलखा राज्यमा उद्धवदेव, नन्ददेव, उजोतदेव, गोबिन्ददेव, इन्द्रसिंहदेव, जयनारायणदेव, जितदेव, रुपनारायणदेव आदिले राज्य गरेका थिए । एक शताब्दीजति स्वतन्त्र राज्यको रुपमा रहको दोलखालाई कान्तिपुरका राजा शिवसिंहले वि।सं। १६५५ मा भिष्मदेवलाई युद्धमा पराष्त गरी ठकुराईमा राज प्रशासन चलाए ।
दोलखा राज्यको मध्यकालीन सीमानामा पूर्वमा दूधकोशी, पश्चिममा दोलालघाट, उत्तरमा तिब्बतको सीमाना र दक्षिणमा तिरहुत राज्यको सीमाना रहेको कुरा इतिहासबाट जान्न सकिन्छ । दोलखाको राज्य व्यवस्था कहिले स्वतन्त्र त कहिले अधिनस्थ भई चलिरहेको थियो । त्यसै समयमा गोरखाका राजा पृथ्वीनारायण शाहले नेपालको एकीकरणको अभियान शुरु गरेका थिए ।
त्यसबाट दोलखा पनि अलग रहन सकेन । पहिला दोलखा भक्तपुरका राजा रणजीत मल्लको रेखदेखमा छोडेको र वि।सं। १८११ मा दोलखाली देशावर प्रधानहरुलाई “नालादुम पूर्व मेरो अम्बल भयो, तिमी प्रजापात्र हौ, मेरो हजुरमा आउ, तिम्रो रक्षा गरुलाँ” भनेर पत्र पठाएपछि दोलखाका देशावर प्रधानहरुले सो कुरा मञ्जुर गरी विना संर्घष दोलखा बृहत नेपालको एक भागको रुपमा रहन गयो ।

आर्थिक रुपमा पनि छुट्टै पहिचान राख्ने दोलखाका राजा इन्द्रसिंहले नै नेपालमा चाँदीका स्वतन्त्र मोहर प्रचलनमा ल्याएका थिए । भन्न त महेन्द्र मल्लले सवै भन्दा पहिला चाँदीका सिक्का प्रचलनमा ल्याएका भन्ने गरिन्छ तर सो भन्दा पहिला नै इन्द्रसिंहले स्वतन्त्र मोहर प्रचलनमा ल्याएको कुरा अभिलेखहरुबाट पुष्टि हुन्छ । महेन्द्र मल्लले वि।सं। १६१७ देखि १६३१ सालको वीचमा आफ्नो सिक्का प्रचलनमा ल्याएको देखिन्छ भने इन्द्र सिंहदेवले वि।सं। १६०५ अगाडि नै सिक्का प्रचलनमा ल्याएको कुरा पुष्टि हुन आउँछ । अझसम्म पनि दोलखामा टक्सार घरको नामले सिक्का काट्ने घर देख्न सकिन्छ । यसरी सिक्का प्रचलनमा ल्याई व्यापार व्यवसायलाई अगाडि बढाइएको र खानीहरु संचालन समेत गरेको देखिन्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

केपी ओलिले अवैध केबलकार उद्घाटन गरेको माओवादी केन्द्रको दावी

Friendship Khabar

सामाजिक सुरक्षा कोषलाई बहुआयामिक बनाउँदैछौ :-श्रम मन्त्री

Friendship Khabar

संघीयताको अनुभुती दिलाउन कार्यालय स्थापना:-मन्त्री काफ्ले

Kedar Dahal