फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार कभर स्टाेरी बागमती प्रदेश साहित्य र जीवनी

भवानी खतिवडाको ‘चारखोलाको आँगनीमा’ सार्वजनिक

काठमाडौँ/कवि तथा नियात्राकार भवानी खतिवडाको पद्य–नियात्रा ‘चारखोलाको आँगनीमा’ सार्वजनिक भएको छ । नेपाल सांस्कृतिक संघ तथा पर्वतीय साहित्य समाज नेपालले मङ्गलबार काठमाडौँमा संयुक्त रूपले आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।

२०७६ सालमा कोकगोष्ठीले कवि सोमनाथ सिग्द्यालको स्मृतिमा इलाममा आयोजना गरेको विशेष गोष्ठीका लागि लेखिकाले अन्य कविहरूका साथमा गरेको इलाम यात्रामा केन्द्रित उक्त कृतिलाई कोकगोष्ठीले प्रकाशित गरेको हो । पुस्तकलाई कार्यक्रममा अध्यक्ष शङ्करराज पन्त, प्रमुख अतिथि प्रा. डा. माधव पोखरेल, तथा साहित्यकारहरू प्रतीक ढकाल, भुवनहरि सिग्देल, प्रभा भट्टराई, महेश पौड्याल तथा कवि भवानी खतिवडा स्वयंले सार्वजनिक गरेका थिए ।

कृतिमाथि आफ्नो मन्तव्य राख्दै कवि प्रभा भट्टराई आफू भवानीको काव्यकारिताबाट असाध्यै प्रभावित भएको बताइन् । उनले यस कृतिमा चित्रित इलामको वर्णन सुललित र सूक्तिमय भएको बताइन् । समालोचक महेश पौड्यालले ‘पद्य–नियात्रा’ भनेर गरिएको यस कृतिको निरूपण सटीक र सैद्धान्तिक दृष्टिले तर्कसङ्गत रहेको बताए । अर्का वक्ता साहित्यकार प्रतीक ढकालले भवानीमा कवित्व र साहस प्रचूर मात्रामा रहेकोले उनको साहित्यिक क्षमता नियात्रा र कविता दुवै क्षेत्रमा उत्तिकै अब्बल देखिएको जिकिर गरे । साहित्यकार भुनवहरि सिग्देलले भवानीमा देखिएको छन्दको ज्ञान, शब्दसामर्थ्य र सूक्तिमयता असामान्य भएको बताए । छन्दसारथि रमेश खकुरेलले कवि भवानी प्रतिभा र ऊर्जाको पूञ्ज भएको भन्दै उनीबाट नेपाली साहित्यले अझै धेरै अपेक्षा राखेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा. डा. माधवप्रसाद पोखरेलले अविधात्मक वर्णनको तहबाट ध्वनि, वक्रता र रसको उदात्त तहमा उठेको भवानीको काव्यकारिता विशिष्ट र प्रतिभासम्पन्न भएको मूल्याङ्कन गरे । कवि भवानीले भने आफू अग्रजहरूको सानिध्यमा अगाडि बढिरहने र निकट भविष्यमा शे-फोक्सुण्डो यात्रा तथा सगरमाथाको बेसक्याम्पको यात्रामा आधारित नियात्राकृतिहरू पनि प्रकाशित गर्ने खुलासा गरिन् ।

विमोचन कार्यक्रममा गायिका लोचन भट्टराई, कविहरू दिनेश पाण्डे, खोलाघरे साहिँलो, नारायण पोख्रेल, रञ्जु दाहाल, सबिता बराल तथा विपिन पाठकले विमोचित कृतिका केही अंश पनि वाचन गरेर सुनाए ।

कृतिलाई पेज टर्नर प्रालिले वितरण गर्ने बताइको छ । नियात्रा–सङ्ग्रह ‘घामभन्दा पहिले’ पछि आएको यो कृतिकार खतिवडाको दोस्रो कृति हो ।

याे पढ्न छुटाउनु भयाे की ?

सामुदायिक बनमा लगाइएको कर खारेजीको माग गर्दै फेकोफनद्वारा ज्ञापन पत्र पेश

Friendship Khabar

प्रदेश खेलकुद प्रतियोगिताको तयारी पुरा,शनिबार उद्घाटन हुदैं  

Friendship Khabar

मजदुरका समस्या बारे नेकपा एस वैतेश्वरको ध्यानाकर्षण

Friendship Khabar