दोलखा/सिन्धुपाल्चोक कुभिण्डे ७ का नारायण सापकोटा १० वर्ष अघि दोलखाको बोत्ले पुग्दा भक्कानिए । दोलखाको तत्कालिन काटाकुटी गाविस २ हाल शैलुङ गाउँपालिका वडा नं. ३ बोत्लेमा आफ्नै परिवारको हत्या भइ पुरिएको चिहानमाथि उभिँदा उनीहरु कसैले पनि मन थाप्न सकेनन् ।
१५ जनाको सामुहिक हत्या भएको बोत्लेका बासिन्दाले एउटा चिहान देखाउँदा सापकोटा मात्र होइन, बोत्ले पुगेका धेरैका आँखा रसाए । नारायणका बुबा टोकनाथको सोही ठाउँमा हत्या भएको थियो । अब साउन १८ आउँदा स्थानीयहरु अहिले पनि त्रसित हुन्छन् ।
वि.सं. २०५९ साउन १८ गते भएको उक्त घटनामा दोलखाको ताम्चेत दूधपोखरी २ का दलबहादुर घिसिङ, घ्याङ सुकाठोकर ७ का गोविन्द आचार्य, कालिन्चोकका दीपक थामी, मागापौवा २ का सुकमान तामाङ, डाँडाखर्क ७ की सुन्दरी चापागाइँ मारिएका थिए ।यस्तै, सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना,‘ कुभिण्डेका बेदप्रसाद शर्मा, कुभिण्डे ७ कै टोपनाथ सापकोटा ‘ज्वाला’, सोही ठाउँकी मीना सापकोटा, मांखाकी लक्ष्मी पराजुली, पिस्करका मानबहादुर भन्ने रणबहादुर थामी, सोही ठाउँकी कल्पना थामी, धुस्कुन ८ की गायत्री श्रेष्ठ र कविता थामी तथा सिन्धुपाल्चोककै रञ्जिताको पनि तत्कालिन शाही सेनाले एउटै चिहान बनाएको थियो ।
यसरी भयो बोत्ले घटना
२०५९ साल साउन १८ गते विहान बोत्ले कुहिरोले ढपक्कै ढाकेको थियो । एकाबिहानै बन्दुक पड्किन थाले । गाउँलेहरु भागदौड गर्न थाले । दोलखा सदरमुकाम चरिकोटबाट आएको तत्कालिन शामी नेपाली सेनाको एक समूहले बोत्लेमा नरबहादुर शाक्य र मकरबहादुर शाक्यको घरमा बास बसेका माओवादी कार्यकर्ताहरुलाई घेरा हालेर पक्राउ गर्यो । सेनाले घर भित्र निशस्त्र अवस्थामा रहेका १५ माओवादी कार्यकर्ताहरुलाई समातेर नजिकैको विद्यालय छेउमा लाइन लगाएर गोली हानी एउटै चिहान बनायो । १४ वर्षअघि भएको उक्त घटना सम्झिँदा अहिले पनि गाउँलेहरु झस्किन्छन् ।
‘बिहान उठेर ट्वालेट जान लागेको थिएँ, एक्कासी पट्ङटङ आवाज आयो’, मकरबहादुरको घर नजिकैका शेरबहादुरले भने, ‘१५ जनालाई हाम्रै आँखा अगाडि गोली हानेर मारे, हामीले भागेर ज्यान बचायौं ।’ सेनाले पक्राउ गरिसकेपछि एक एक गरी गोली हानेर हत्या गरी सकेपछि गाउँलेलाई नै खाल्डो खन्न लगाएर सबैलाई त्यहीँ पुरेर छाडेका थिए । ‘ऊ त्यहि ढुंगाको छेवैमा नौ जनालाई र यतापट्टि ६ जनालाई खाल्डो खरेर पुरे, शेरबहादुरले ढुंगाको खोंच देखाउँदै भने, ‘त्यतिबेला बोल्ने कुनै हिम्मत नै थिएन, हामीले कुनै चाल नै गरेनौं ।’
‘साउन १८ गतेकादिन विहानै बाख्रालाई घाँस दिन भनी भगवानडाँडाबाट झर्दै थिएँ, सेनाले आउनै दिएन,’ अर्का स्थानीय वृषबहादुर श्रेष्ठले सम्झिए, ‘आर्मीले काल खोजेर जाने भए जा भनेर भनेपछि बीचबाटै फर्किएँ ।’ बोत्ले हत्याअघि २०५९ असार २ गते रौतहटमा दोलखा माओवादीका संस्थापक नेता रितबहादुर खड्काको हत्या भएको थियो । माओवादी पूर्वाञ्चल ब्यूरोको क्षेत्रीय बैठकका लागि केन्द्रीय समितिको बैठक सकाएर आउने क्रममा रितबहादुर मारिएका थिए ।
पूर्वाञ्चलब्यूरोको बैठक यहि ठाउँमा चलिरहँदा रितबहादुर मारिएको खबर थाहा पाएपछि साउन १५ गते बैठक बसेर गोठपानीमा सोकसभा गरेको नेकपा माओवादी केन्द्रका संस्थापक नेता शंकर लामाले बताए । ‘त्यतिबेला पूर्वाञ्चल ब्यूरोको बैठक सकेर नेताहरु फर्किएपछि देउरालीमा सामाजिक अभियान कार्यक्रम सकाएर एउटा एउटा टोली बोत्ले आएर बसेको थियो, उनले भने ‘त्यतिबेला बोत्ले आएर बसेको टोली नै सेनाको निशानामा पर्यो ।’ उक्त घटनामा स्थानीय महिला, बालबालिका, वृद्धवृद्धा र युवाहरुले पनि सेनाको कुटाइ खाए तर स्थानीय कोही पनि नमारिएकाले घट्ना सार्वजनिक गरिएन । त्यसैले १५ जनालाई सेनाले समातेर निर्ममतापूर्वक गोली हानेर एकै ठाउँमा मारेको बोत्ले घटना अहिलेसम्म पनि गुमनाम छ । ‘शान्ति प्रक्रियामा आएयता माओवादीले हरेक साउन १८ गते बोत्लेमा स्मृतिसभा पनि गर्दै आएको छ । हरेक वर्ष यो कार्यक्रम घटनास्थलमा हुने गरे तापनि यो वर्ष पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा केन्द्रीय पार्टी कार्यालय पेरिसडाँडामा गर्न लागेको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज विशाल खड्काले जानकारी दिए ।
माओवादीका अनुसार उक्त घटनामा माओवादीका दुई जना इलाका सेक्रेटरीसमेत मारिएका थिए । माओवादी इलाका सेक्रेटरी सिन्धुपाल्चोक भोटेचौरकी तीर्थमायाँ वाइबा ‘चेतना’ र अर्का इलाका सेक्रेटरी सिन्धुपाल्चोक कुभिण्डेका टोपनाथ सापकोटा बोत्ले हत्याकाण्डमा मारिएका थिए । तत्कालिन समयमा सैलुङ माओवादी ‘आधार इलाका’ बोत्ले त्यतिबेला माओवादीको आधार इलाकाभित्र पर्दथ्यो । २०५७ सालदेखि आधार इलाका रहेको सैंलुङ क्षेत्रमा सेनाले बेलाबेलामा पठाएको सुराकीसमेत छिर्न नसक्ने अवस्था रहेको माओवादी नेतृ देवी खड्का बताउँछिन् । उनका अनुसार २०५६ सालमा पूर्वी ब्यूरो कमाण्ड इन्चार्ज आलोक कारबाहीमा परेपछि मोहन वैद्य ‘किरण’ पूर्वी कमाण्डको इन्चार्ज भएर आउँदा बोत्ले नजिकैको पाँडेखानीस्थित शेर्पाको घरमा बसेका थिए ।