फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश

खिम्ती ग्रामीण विद्युत सहकारीले अर्को आयोजना बनाउने

किर्ने/नेपालको एक मात्र विद्युत गृह र विद्युतीकरण गरेको खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाले १ मेगावाटको अर्को जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।

संस्थाको १३ औं साधारण सभाको अवसरमा अध्यक्ष शेयरबहादुर खड्काले ९९६ किलो वाटको झाँक्रे २ आयोजना निर्माण गर्ने जानकारी दिनुभयो ।
नयाँ आयोजना निर्माणका लागि झाँक्रे २ को डिपिआर पूरा भइ प्रक्रियाहरु धेरै अघि बढी सकेको उनले बताए । आयोजना निर्माण प्रक्रियाका लागि सर्भे लाइसेन्स प्राप्त भएको, जग्गा सम्झौता भएको, वातावरणीय संक्षिप्त अध्ययन स्वीकृत, निर्माण, उत्पादन र प्रशारण लाइसेन्स प्राप्त भएको र बैंकसँग एलओआइ प्राप्त भइसकेको उहाले बताउनुभयो ।

सहकारीले वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्र अन्तर्गत  नवीकरणीय ऊर्जा कार्यक्रमको ५० प्रतिशत अनुदान, तामाकोसी गाउँपालिकाको २ करोड ४० लाख र गोकुलगंगा गाउँपालिकाको २ करोड ४० लाख लगानीमा आयोजना निर्माण हुने छ । सो आयोजनामा सहकारीले ७ करोड १२ लाख ४४ हजार लगानी गर्ने छ । आयोजना सार्वजनिक निजी साझेदारी मोडेलमा निर्माण गर्ने तयारी छ । आयोजनाको लागत २६ करोड हुने अनुमान छ ।
नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) गरेर विद्युत आदन प्रदान गरेको छ । विद्युत प्राधिकरणले लघुजलविद्युत आयोजनाहरुसँग पनि पीपीए गर्न थालेपछि खिम्ती विद्युत सहकारीसँग रहेका २ पावर हाउसबाट उत्पादित विद्युत पनि इनर्जी नेटिङ प्रणालीमा सम्झौता भएको छ ।

दोलखाका र रामेछापका ५ स्थानीय तहको १४ वटा वडामा विद्युतीकरण गरेर सेवा पुर्‍याउँदै आएको सहकारीले प्राधिकरणसँग सम्झौता भएपछि आफ्नो बढी भएको विद्युत प्राधिकरणलाई बेच्ने र नपुग विद्युत प्राधिकरणसँग खरिद गर्न थालेको हो । उत्पादन बढी भएर खर्च नभएको विद्युत बिक्रीबाट सहकारीले आम्दानी गर्दै आएको छ ।
खिम्ती १ जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्याङ्कन गर्दा रामेछाप जिल्ला साविक बेताली, रस्नालु, र दोलखा जिल्ला ठुलोपातल, हावा, च्यामा, शहरे गरि ६ वटा गा.वि.स. प्रत्यक्ष प्रभावित र रामेछाप जिल्ला फुलासी, खिम्ती, फर्पु र नामाडी गरि ४ गा.वि.स.पकेट गा.वि.स. गरि १० वटा गा.वि.स. प्रभावित गा.वि.स. रहेको थियो । खिम्ती १ जलविद्युत आयोजनाले आफ्नो निर्माणका लागि बनाएको ६३० किलोवाट क्षमताको झाँक्रे लघुजलविद्युत आयोजना सहकारी मार्फत सञ्चालन हुने गरी प्रभावित गाविसका घरघरमा विद्युतीकरण गरेर हस्तान्तरण गरेको हो ।

प्रभावित गाविसमा विद्युत नपुग भएपछि १३ वर्ष अघि मात्र पुनः रामेछापको बेतालीमा ४ सय किलोवाटको हलुवा खोलामा समेत अर्को आयोजना बनाएर हस्तान्तरण गरेको हो । आयोजनाको सर्वे लाईसेन्स र निर्माण अनुमती पत्र लिंदाको अवस्थामा खिम्ती १ जलविद्युत आयोजनाले प्रभावित क्षेत्र भित्र २ हजार घरधुरीमा बिद्युत वितरण गर्ने भन्ने रहेको थियो ।
सहकारीले साविकका १० गाविस तथा हालका ५ स्थानीय तहका १४ वडाका ९ हजार ९ सय २३ ग्राहकलाई सेवा पुर्‍याउँदै आएको छ । जसमा घरायसी ग्राहक ७ हजार ४५ र उद्योग मिटर भएका ५ सय ९० उपभोक्ता छन् । सहकारीसँग ३३ केभी, ११ केभी, वितरण लाइन र आफ्नै ट्रान्सफरमरहरु रहेको सहकारीका कोषाध्यक्ष धिरज सुवेदीले जानकारी दिनुभयो ।

खिम्ती १ जलविद्युत आयोजनाले ६ सय ३० किलोवाटको झाँक्रे खोला र ४ सय किलोवाटको हलुवा खोला लघु जलविद्युत आयोजना निर्माण गरी सञ्चालनका लागि सहकारीलाई हस्तान्तरण गरेको हो । साधारण सभामा उपस्थित ऊर्जा राज्य मन्त्री पूर्णबहादुर तमाङले सहकारीले सेवा दिंदै आएको क्षेत्रमा विद्युत प्राधिकरणले व्यवस्थापन गर्ने र सरकार र स्टाटक्राप्ट बीच खिम्ती १ सञ्चालनको संयुक्त कम्पनी बनाउँदा हालका विद्युत गृह व्यवस्थापन सहकारीलाई दिन सकिने जानकारी दिए । उनले आउँदो चैतसम्म खिम्ती १ सञ्चालनका लागि संयुक्त कम्पनी बन्ने जानकारी दिनुभयो ।

साधारण सभामा बागमती प्रदेश सभा सदस्य आनन्द कुमार श्रेष्ठ,दोलखा र रामेछाप जिल्लाका राजनैतिक दलका नेताहरु,स्थानीय तहका प्रमुख प्रतिनिधिहरु लगायत सेयर सदस्यहरुको उपस्थिति रहेको छ । सहकारीले यसै वर्ष नयाँ सञ्चालक समिति चयनका लागि प्रक्रिया समेत अगाडी बढेको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

नवनिर्वाचित सहकारी संघ दोलखाको सपथ ग्रहण

Friendship Khabar

इश्वरभुमी साकोसकाे ९औँ वार्षिक साधारणसभा सम्पन्न, कुल पुँजी ७५ लाख नाघ्यो

Kedar Dahal

नव जनउत्थानको साधारण सभा, शेर्पाको नेतृत्वमा नयाँ समिति चयन

Kedar Dahal