जिरी/दोलखाको जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि हालसम्म भएका काम, आगामी योजना तथा नगरको समग्र विकास यात्राबारे जानकारी गराउने उद्देश्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

जिरी नगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासंघ दोलखाको आयोजनामा सम्पन्न कार्यक्रमले नगरको विकास निर्माण, सेवा प्रवाह, सुशासन, पर्यटन प्रवर्द्धन, कृषि तथा पूर्वाधार विकासका विषयमा व्यापक छलफलको वातावरण सिर्जना गरेको छ।
नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिरी नगरपालिकाका नगर प्रमुख मित्र जिरेल प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। नगर प्रमुख जिरेलले नगरपालिकाले विगतका वर्षहरूमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन तथा सामाजिक विकासका क्षेत्रमा हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै नगरको दिगो विकासका लागि विभिन्न योजनाहरू कार्यान्वयन भइरहेको जानकारी दिनुभयो।

उहाँले जिरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्भावनाले सम्पन्न नगरका रूपमा स्थापित गर्न नगरपालिकाले पूर्वाधार विकाससँगै पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको बताउनुभयो। नगर प्रमुख जिरेलले नगरवासीलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्न सूचना प्रविधिको प्रयोग, प्रशासनिक सुधार तथा सुशासनका कार्यक्रमहरूलाई समेत प्राथमिकता दिइएको उल्लेख गर्नुभयो।

कार्यक्रममा नगर उपप्रमुख कृष्णमाया बुढाथोकीले नगर विकासमा महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा विपन्न समुदायलाई केन्द्रमा राखेर विभिन्न सामाजिक तथा आर्थिक सशक्तीकरणका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो। उहाँले समावेशी विकासमार्फत नगरका सबै नागरिकलाई विकासको प्रतिफल पुग्ने गरी योजना कार्यान्वयन भइरहेको बताउनुभयो।

त्यसैगरी जिरी नगरपालिकाका प्रथम मेयर टंक जिरेलले नगरको विकास यात्रालाई निरन्तरता दिन विगतका अनुभव र उपलब्धिहरूलाई संस्थागत गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले जिरीको दीर्घकालीन विकासका लागि राजनीतिक, सामाजिक तथा नागरिक तहबीच साझा प्रतिबद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले नगरपालिकाले कानुनी व्यवस्था, वित्तीय अनुशासन तथा पारदर्शितालाई प्राथमिकतामा राखेर सेवा प्रवाह गरिरहेको बताउनुभयो। उहाँले जनताले अनुभूति गर्ने गरी छिटो, छरितो र प्रभावकारी सेवा प्रदान गर्न कर्मचारी प्रशासन प्रतिबद्ध रहेको जानकारी दिनुभयो।
अन्तरक्रिया कार्यक्रममा जिरी नगरभित्र सक्रिय राजनीतिक दलका प्रतिनिधिहरूले पनि नगरको विकास सम्बन्धी आफ्नो धारणा तथा सुझाव राखेका थिए। नेपाली कांग्रेस जिरीका सभापति सोनाम शेर्पा, नेकपा (एमाले) जिरीका अध्यक्ष टपेन्द्र खड्का तथा नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन खड्काले नगरपालिकाले सञ्चालन गरिरहेका विकास निर्माणका गतिविधिलाई अझ प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउनुपर्ने सुझाव दिएका थिए। उनीहरूले राजनीतिक मतभेदभन्दा माथि उठेर नगरको समग्र विकासका लागि साझा सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रममा सहभागी पत्रकारहरूले नगरपालिकाको बजेट कार्यान्वयन, विकास आयोजनाको प्रगति, पर्यटन विकास, कृषि उत्पादन वृद्धि, शिक्षा तथा स्वास्थ्य सेवाको अवस्था, रोजगारी सिर्जना, वातावरण संरक्षण तथा स्थानीय सरकारको सेवा प्रवाहका विषयमा विभिन्न जिज्ञासा र प्रश्नहरू राखेका थिए। नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य वक्ताहरूले पत्रकारहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै नगरको समृद्धि र रूपान्तरणका लागि योजनाबद्ध रूपमा काम भइरहेको बताएका थिए।
कार्यक्रममा वक्ताहरूले स्थानीय सरकार, राजनीतिक दल, सञ्चार क्षेत्र, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य र समन्वय बलियो भए मात्र विकासका लक्ष्यहरू हासिल गर्न सकिनेमा जोड दिएका थिए। सहभागीहरूले पत्रकारिता क्षेत्रले विकास निर्माणका गतिविधिलाई जनतामाझ पुर्याउने, सकारात्मक बहस सिर्जना गर्ने तथा स्थानीय सरकारलाई थप जवाफदेही बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।
अन्तरक्रिया कार्यक्रमले जिरी नगरपालिकाको विकास, समृद्धि र रूपान्तरणका लागि सञ्चारकर्मी, जनप्रतिनिधि, राजनीतिक दल तथा सरोकारवालाबीच संवाद र सहकार्यको वातावरण सुदृढ बनाएको निष्कर्ष निकालिएको थियो। साथै नगरको समग्र विकासका लागि प्राप्त सुझावहरूलाई आगामी नीति तथा कार्यक्रम निर्माणमा समेट्ने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।


