फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी कृषि गृह पृष्ठ देश

बन्यजन्तु बाट सुरक्षा दिन उपयोगी बन्दैछन सुधारिएको खोर

सिंगटी/विगू गाउँपालिका–१ ठाडीका चुना तमाङ उमेरले ८० वर्ष नाघे । उनले सानैदेखि बाख्रा पालन गर्दै आएका छन् । जीवनको उत्तरार्धमा पनि चुना लौरो टेकेर अहिले पनि बाख्रा चराउने र घाँसपात गर्छन् । चुनासँग अहिले १० वटा बाख्रा छन् । उमेरमा ५० वटासम्म बाख्रा पालेको उनले अनुभव सुनाए । नजिक जंगल भएकाले प्राय: दिउँसो बाख्रा वस्तु जंगलमा चराउन लैजाने गरेको उनले बताए । वर्षौंदेखि बाख्रा पाले पनि ८० वर्ष पुगेपछि घर नजिकै तमाङले सुधारिएको खोर बनाए ।

जमिनबाट केही माथि उठाएर बड्कौला भुइमा जानेगरी खोर बनाएको उनले बताए । ढुंगामाटोको गाह्रो, काठ, र जालीसमेत लगाएर खोर बनाएपछि वन्यजन्तुको जोखिम घटेको उनको भनाइ छ । ‘पहिला पहिला त हामी बारीमै बाहिर सामान्य गोठमा बाख्रा बाध्ने गरेका थियौं’ उनले भने, ‘बाघ, चितुवा जस्ता वन्यतन्तुले खाने र नष्ट गरिदिन्थ्यो, अहिले खोर बनाएपछि रातमा यस्तो समस्या झेल्नु परेको छैन ।’ जस्ताको छानो सहितको खोरले बाख्रा सुरक्षित भएको उनको अनुभव छ ।

ठाडीकै राजेन्द्र तमाङले पनि यस्तै खोर बनाएका छन् । गाउँमा यस्ता खोर बनाएपछि वन्यजन्तुबाट भेडा बाख्रा खाएको अहिले गाउँमा सुन्न नपरेको उनको भनाइ छ । खुल्ला ठाउँ भएकाले पनि वन्यजन्तु गाउँ पस्दा घरपालुवा जनावरको क्षति पुर्‍याउने गरेका छन् । वन्यजन्तुले विगतमा पनि क्षति पुर्‍याउँथ्यो, अहिले पनि कहिलेकाँही हुन्छ स्थानीय रामे तमाङको भनाइ छ । जंगल बढेर वन्यजन्तु गाउँ छेऊछाउ आउन थालेको गुनासो बढेपछि एक वर्ष यता विगू गाउँपालिका–१ मा आधुनिक खोर निर्माण तीव्र भएको छ ।

कम्तिमा ५ वटा बाख्रा पाल्ने परिवारका लागि स्थानीय संरक्षण व्यवस्थापन समितिले गोठ बनाउन सहयोग गरेको छ । विगू गाउँपालिका–१ का संरक्षण व्यवस्थापन समिति सचिव यादव आचार्यले गत आर्थिक वर्ष ७० वटा यस्ता गोठ बनेको जानकारी दिए । यो सबैतिर प्रभावकारी देखिएकाले चालु आर्थिक वर्ष ९६ वटा यस्ता गोठ बनाउने योजना रहेको बताए । खुल्ला चरिचरण र घुम्ती गोठका कारण बाख्रालाई वन्यजन्तुले सिकार गर्ने गरेको किसानको बुझाइ छ ।

गोठ निर्माणका लागि गौरीशंकर संरक्षण क्षेत्र आयोजनाले प्रतिगोठ २५ हजार बराबरको सामान उपलब्ध गराउने गरेको छ । गोठका लागि सिमेन्ट, जस्तापाता, काँटी कब्जा जस्ता सामान उपलब्ध गराउने र गोठ बनाउने श्रम किसानले नै गर्नुपर्ने अवस्था छ । ठाडीमा जस्तै विगू गाउँपालिका–२ ओराङमा पनि यस्ता गोठ प्रभावकारी देखिएको छ । स्थानीय संरक्षण व्यवस्थापन समितिका अध्यक्ष कृष्ण ठकुरीले अघिल्लो वर्ष वडा–२ मा १५ वटा बनाएको र यस वर्ष १० वटा खोर बन्ने बताए ।

उनका अनुसार वन्यजन्तुले घरपालुवा जनावरको क्षति भए संरक्षण क्षेत्रबाट क्षतिपूर्तिको व्यवस्थासमेत रहेको बताए । किसानले पालेका घरपालुवा जनावर क्षति भए किसानको दाबी अनुसार प्रक्रिया पूरा गरेर किसानलाई क्षतिपूर्ति गर्ने गरेको बताए । ओराङ यार्साकी अमृता ठकुरीले आफ्नो एउटा बाख्रा चितुवाले मार्दा ७ हजार क्षतिपूर्ति पाएको बताइन् ।

विगू गाउँपालिका–३ का वडा अध्यक्ष ढालबहादुर तमाङले आफ्नो वडामा ३५ वटा बाख्राको खोर बनेको जानकारी दिए । चालु वर्ष थप २५ वटा बन्ने बताए । वन्यजन्तुबाट बाख्रा जोगाउने उपाय निस्केपनि बालीनाली जोगाउन भने नसकिएको बताए । विगतमा खोला किनारमा बस्ने बाँदर, दुम्सी अहिले जंगल बढेको कारण गाउँ छिरेकाले किसानले बालीनाली जोगाउन नसकेको बताए ।

गौरीशंकर संरक्षण क्षेत्र आयोजनाका प्रमुख तुलसीप्रसाद दाहालले वन्यजन्तुको क्षति कम गर्न किसानसँग मिलेर विभिन्न कार्यक्रम गरिएको बताए । बाँदर हेर्न ठाउँ ठाउँमा पालैपालो गोठालो राख्ने काम पनि भएको छ । त्यसका लागि जंगल बीचमा मचान पनि बनाएको, परम्परागत काँडेबार लगाउने काम पनि भइरहेको बताए । किसानका मकै बालीको बीमा गर्नेलगायतका काम पनि भइरहेको उनको भनाइ छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जिरी महाेत्सवको तयारी तिव्र

Friendship Khabar

महिलाहरुको क्षमता अभिवृद्धि सम्बन्धि प्रशिक्षण तालिम शुरु

Friendship Khabar

नेपालको जनसंख्या सार्वजनिक, यस्तो छ प्रारम्भिक नतिजा

Friendship Khabar