फ्रेण्डसिप खबर
Breaking आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

यस्तो छःएक क्वीन्टल सुन भित्र्याउने आरोपित  भुजेलको घर परिवार

दोलखा /एक क्वीन्टल सुन भित्र्याउने कम्पनी सञ्चालक २१ वर्षीय दिलीप भुजेल अहिले अनुसन्धानको लागि हिरासतमा छन् ।

२१ वर्षकै उमेरमा कम्पनी खोलेको ४ महिनामै एक अर्ब बढीको सुन आयत गर्न सक्ने दिलीपको घर पुग्दा भने परिवारका सदस्य र छिमेकीहरु पनि निरास  अचम्ममा परेका छन ।
दोलखाको मेलुङ गाउँपालिका वडा नं. १ पवटीमा रहेको दिलीपका घर पुग्दा आमा,भाइ र श्रीमती थिए । जस्ताले बारेको घर र बाख्राको खोर त्यसमाथि अर्को एउटा टहरोमा छानामा जस्ता समेत लगाउन नसकेपछि कृषिबाट टनेल बनाउनका लागि राहतमा आएको प्लास्टिक टनेल हालेको छ ।
थोरै जग्गा जमिन भएका भुजेल परिवार पवटीका विपन्न वर्गमा पर्छन् । वर्षभरीको खेतीले ३ महिना पनि नपुग्ने भएपछि सहरमा पुगेर मजदुरी गरेर परिवार चलाउने विगतदेखिकै चलन हो । दिलीपका बुबा पनि वर्षौदेखि मजदुरीकै लागि काठमाडौं बस्न थालेको धेरै वर्ष भयो । बुबा रामबहादुरसँगै दिलीप पनि कक्षा ११ पढ्दा पढ्दै एक वर्ष अघिदेखि काठमाडौं छिरेका हुन् ।
अहिले अवैध सुन तस्करी आरोपमा छोरा पक्राऊ परेपछि उनको बुबा एक पटक घर आएर पुनः काठमाडौंमै पुगेका छन् । तर छोरो पक्राऊबारे समाचारमा मात्र सुनेका परिवार सोझो छोरो फसेको बताउँछन् ।
घर बनाउने ठाउँमा इट्टा बोक्ने काम गर्दा धेरै कमाइ नभएपछि दिलीपले आफन्तको चाउचाऊ उद्योगमा मेसिन चलाउने र मार्केटिङको काम थालेको पनि २ महिना मात्र भएको थियो । आफ्नो डेरा समेत नभएका दिलीप आफन्तसँगै बस्थे । केही कमाएर खर्च पठाउला भनेको छोरो ठूलै सुन तस्करीमा फसेको सुन्दा परिवारमा रुवाबासी पनि चलेको छ ।
दिलीपकी आमा कल्पना भुजेला आँखाबाट छोरो पक्राऊ परेको दिनदेखि झरेको आँशु रोकिएको छैन । बाख्रालाई घाँस काट्ने र कोदो रोप्न समेत कल्पना र उनका परिवारलाई लागेको छैन । फोनमा अब छोरोको अवस्था के हुन्छ भनेर खबर लिएर सान्तोना लिनु उनको दैनिकी जस्तै भएको छ । तर छोरोलाई आफन्त कसैले पनि भेट्न पाएका छैनन् ।
२१ वर्षका युवकले कम्पनी खोलेर १ अर्बभन्दा बढीको सुन तस्करी गरे भन्ने कुरा कसरी पत्याउनु ? तर भएको यस्तै छ । कानुनको दृष्टिमा २१ वर्षका दिलिप र उनका मामा नै यो कारोबारका मुख्य पात्र हुन् । यो त कानुनी पक्ष भयो । सडकदेखि सदनसम्मको ध्यान तानेको सुन तस्करीको यो डरलाग्दो विषयवस्तु के हो त ? दिलीप जस्तै उनका मामाको घर मेलुङ गाउँपालिका वडा नं. ३ घ्याङको अवस्था पनि उस्तै छ । दिलीपका मामा राजकुमार भुजेल पनि सामान्य मजदुरी नै गर्ने हुन् । २ महिना अघिसम्म श्रीमती पनि काठमाडौंमा दिलीपसँगै बस्थिन् । चाउचाउ उद्योगमा काम गरेको आफूलाई थाहा भएको तर कम्पनी नै खोलेर ठूलो कारोबारको बारेमा आफू समेत अनभिज्ञ भएको उनकी श्रीमतीको भनाई छ । कसैले आफ्ना श्रीमान्लाई फसाएकाले उद्धारका लागि उनको गुहार छ ।
दिलीपकै स्वामित्वमा खुलेको रेडी टे«डस् प्रालिले हङकङबाट ल्याएको १०० किलो सुन पक्राऊ परेसिछ दिलीप र उनका मामा पनि अहिले अनुसन्धानका लागि हिरासतमा छन् । दिलीपलाई उनका आफन्तले समेत भेट्न पाएका छैनन् । सामान्य मजदुरी गरेर जीविका चलाउने परिवारका सदस्य एक्कासी अरबौंको अवैध व्यापारमा पक्राऊ परेको सुन्दा छिमेकीहरु पनि अचम्ममा परेका छन् ।

स्थानीय छिमेकी सोभित प्रसाद उप्रेतीले चिनेदेखि यो परिवार सामान्य जीविकोपार्जनका लागि पनि मजदुरी नै गर्ने हो । प्रयाप्त जग्गा नभएकाले अर्काको जग्गा कमाउनेले यति ठूलो कारोबार हुनै नसक्ने उनले दाबी गरे ।
७ वर्ष अघि पनि दोलखाकै तामाकोसी गाउँपालिका वडा नं. १ माझीगाउँका लक्षुमण माझी लगायतलाई राहतकै नाममा किर्ते कम्पनी बनाइ अरबौंको व्यापार गरेको थियो । राजश्व अनुसन्धान विभागले ५ करोड राजश्व छली अभियोगमा अदालतमा मुद्धा समेत परेको थियो । अहिले पवटीमा पनि उस्तै विपन्नहरुलाई फकाएर अर्काले ठगेको हुन सक्ने छिमेकीको अनुमान छ ।
स्थानीयहरु भीरकोटका माझीहरु जस्तै दिलीप पनि तस्करीहरुको जालोमा फसेको बताउँछन् । गरिब र विपन्नहरु कसरी फस्दै छन् भन्ने यो महत्वपूर्ण उदाहरण भएकाले सरकारले गहिरो अनुसन्धान गरेर वास्तविक दोषी पत्ता लगाएर कारबाही गर्नु पर्ने उनको माग छ ।
कानुनी आधारमा दिलीप र उनका मामा सुन तस्करी काण्डमा पक्राऊ परेका छन् । यो अनुसन्धानकै अवस्थामा छ । सामान्य गरिब नागरिकको कागजात दुरुपयोग गरी अरबौंको तस्करी गर्ने मुख्य नाइके पक्राऊ गरी कारबाही होस् ।

याे पढ्न छुटाउनु भयाे की ?

मन्त्री लम्सालद्वारा खुर्कोटमा ट्रायल सेन्टरको उद्घाटन

Friendship Khabar

एमाले युवा संघका अध्यक्ष माओवादी केन्द्रमा

Friendship Khabar

सुरि पुगेर काफ्लेले सोधे पार्वत दाइ तपाईंको गाउँमा मोबाईल डाटा चल्दैन त?

Friendship Khabar