केदार दहाल
जिरी / दोलखाको जिरी नगरपालिका स्तरिय छैटाैँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी लगातार पाँचौ पटक सहिद स्मृति आवासीय माविले जितेको छ ।

जिरी माविको व्यवस्थापनमा जिरी नगरपालिकाले आयोजना गरेको प्रतियोगितामा १७ स्वर्ण, ५ रजत र २ कास्य गरी जम्मा २४ पदक प्राप्त गरि उपाधि जितेकाे छ । उपविजेता बनेको जिरी माविले ७ स्वर्ण, ७ रजत र २ कास्य गरी १६ पदक प्राप्त गरेको छ भने तृतीय स्थान लिन सफल सरस्वती माविले ३ स्वर्ण, २ रजत र ३ कास्य गरी ८ पदक लिएको छ ।

प्रतियोगितामा प्रथम, दाेश्राे र तेश्राे हुनेलाई क्रमश ३५ हजार, २५ हजार र १५ हजार नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । विजेता तथा खेलाडीहरुलाई नगरपालिकाका प्रमुख मित्र बहादुर जिरेल, उपप्रमुख कृष्णमाया बुढाथोकी खड्का, जिरी माविका प्रअ कुमार जिरेल, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटाले पुरस्कार वितरण गर्नुभएको थियो ।

यही माघ १९ गतेबाट जिरी माविमा सुरु भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रतिनिधिसभा सांसद गंगा कार्कीले उद्घाटन गर्नुभएको थियो । प्रतियोगितामा जिरी नगरपालिकाभित्रका ९ वटा विद्यालयको सहभागिता रहेको थियो ।