ब्राह्मण्डको आकार कत्रो छ ? यस संसारमा २१ शङ्ख ब्राह्मण्डको एक परम अक्षर ब्रह्मा छन्, जो सृष्टिकर्ता हुन् भनेर केही धार्मीक किताबहरूमा पढ्न पाईन्छ । यदि २१ शङ्ख ब्राह्मण्डको मात्रै कल्पना गरेर संसारलाई हेर्ने हो भने, एक ब्रह्माण्डको आकारको मात्रै पनि कल्पनासम्म गर्न सक्दैनौ । एक शङ्खमा एकको पछाडि मात्रै १७ वटा शून्य अङ्क छ ।

यति ठूलो ब्राह्मण्डको, एउटा तारामण्डलको, त्यस तारामण्डल भित्रको एउटा ताराको, त्यस ताराभित्रको एउटा ग्रहको, त्यस ग्रहभित्र एक महादेशको, एउटा देशभित्रको त्यस देशको एउटा गाउँ वा नगर वा सहर, को एउटा टोल, एउटा सानो परिवेशको एउटा सानो घरमा तपाईंको अनि हामी सबैको अस्तित्व स्वत स्वीकार्य कुरा हो । यति ठूलो विशाल ब्राह्मण्डमा तपाईँ अनि मेरो माइने धुलोको एक कण बराबर पनि छैन । तर यो कुरा हाम्रो लागि सहजै अस्वीकार्य छ ।
अब फर्केर फेरि हामीलाई हेरौं त हाम्रो आफ्नो संसार कुनै ब्राह्मण्ड भन्दा सानो छ र ? हाम्रो लागि त ब्राह्मण्डको परिभाषा अलग छ नि । हाम्रो लागि त हाम्रो ब्राह्मण्ड वा संसार घर, जग्गाजमिन, श्रीमान, श्रीमती, छोराछोरी, बाआमा, दाजुभाइर्, दिदीबहिनी, इष्टमित्र, खानपिन, धनसम्पत्ति, ऐस आराम, भौतिक सुख सुविधा के–के अनेक–अनेक ! यो भएन त्यो, यतिले भएन अझ धेरै, अझ धेरै यता भाग, उता भाग, यता दौडी उता दौडी अनन्त एकदिन हावा आउँछ, अनि धुलोको एक कण सदाका लागि हावामा बिलिन हुन पुग्दछ हाम्रो लागि हाम्रो सर्वस्व अन्त्य तर ब्राह्मणडको लागि एक धुलोको कण हावामा बिलिन हुनाले के नै फरक पार्छ र ? रत्तीभर पनि फरक पर्नेवाला छैन ।
यति ठूलो सृष्टिमा तपाईँ धुलोको एक कण जति पनि होइन तर आफूले आफूलाई सर्वशक्तिमान र सर्वोपरि नठान्ने बिरलै भेटिन्छन् यहाँ । धुलोको एक कणभन्दा अझ सानो अस्तित्वको मानिसले आफ्नो जीवनकालमा गर्न मिल्ने र गर्नसक्ने के चाहिँ बाँकी राखेको हुन्छ होला र ? ब्राह्मण्डको लागि उसले दिने योगदान कति नै पो होला र खै ? ब्राह्मण्ड अलि परको कुरा आफ्नै लागि के गरेको हुन्छ होला र ? आफ्नै लागि उ कति पो बाँचेको छ र ? जीवनमा उसले भ्याएसम्मको काम गरेको छ, तर उसले आफ्नो लागि बाँच्न पक्कै बिर्सिएको छ ।
एक व्यक्तिको दृष्टान्तलाई यहाँ छोटोमा हेरौँ । कुनै व्यक्ति यस सृष्टिमा पाइला टेक्दै गर्दा, ऊ नाबालक हुन्छ । उसले कसका निम्ति बाँच्नुपर्दछ उसलाई थाहा हुँदैन । केही वर्ष बित्दै जाँदा नाबालक बालक हुँदै गर्दा दायराको भारीले थिचिइसकेको हुन्छ । केटाकेटी स्वभावैले शान्त बस्न सक्दैनन्, चकचके हुन्छन् जुन कुरा अभिभावकको कम रुचिमा पर्छ । शान्त, ज्ञानी बसिदियोस् भन्ने हुन्छ । तर यसो नहुँदै गर्दा केटाकेटी शान्त पार्न यो नगर त्यो नगर, उस्तै परे दुई चार चड्कन दिन पछि पर्दैनौ, यस्ता कुराले केटाकेटीको स्वतन्त्रता र स्मरणको क्षेत्रलाई साँघुरो पार्छ नै साथै मानसिक स्वास्थ्यलाई क्षण गर्ने बीजरोपण पनि सँगै भइरहेको हुन्छ । अलि ठूलो हुँदै गर्दा बालक विद्यार्थी, विद्यार्थीकालपछि भविष्यप्रतिको चिन्ता, सम्बन्ध विस्तार, अलि उमेरसँगै घरव्यवहार, श्रीमान, श्रीमती, छोराछोरी अनि उमेर ढल्केसँगै नातानातिनी खेलाउने रहर । साधारणतया सामान्य जीवनचक्र यही नै हो ।
एकछिन सबै कुरा बिर्सेर उक्त नाबालक वृद्ध भएको अवस्थासम्मको मानसिक स्वास्थ्यलाई एकपटक फर्केर हेरौँ न त । नाबालक हुँदा यो नगर त्यो नगर दायराको बोझ, विद्यार्थीकालमा पढाइको भारी, पढाइपछि भविष्यप्रतिको चिन्ता अनि राम्रो गर्ने परिकल्पना तर के गर्ने भन्ने सोचले दिनदिनै मारिरहेको त्यो अवस्था । त्यसपछि सम्बन्ध विस्तारको कुरा जहाँ आशा, अपेक्षा, विश्वास धेरै राखिएको हुन्छ । त्यसभित्र उत्पन्न हुने उतारचढावले दिमाग खराब पारिदिएको हुन्छ । त्यसपछि गृहस्थ जीवन, श्रीमान, श्रीमती यहाँसम्म आइपुग्दा दिमागको दही भएको हुन्छ । यदि व्यवस्थापन राम्रो तरिकाबाट भइरहेको छैन भने । त्यसपछि केटाकेटी अनि उनीहरूप्रतिको जिम्मेवारीको लागि आफ्नो जीवन समर्पण । यो समर्पणमा गरिएको सङ्घर्ष, त्याग, मनोभावको उतारचढाव मानसिक स्वास्थ्यको दृष्टिकोणबाट कतिको स्वास्थ्य रह्यो होला ? सायद हाम्रो कल्पनामा अटाउन सक्दैन । तर स्वास्थ्यको यती ठूलो क्षेत्र सदैभ छायाँमा परिरहेको छ । शरीरमा हर्मोनल झोल को उतारचढावले मानसिक स्वास्थ्यमा परेको गहिरो प्रभावलाई नापजाँच गर्ने उपकरण सम्म बनेको छैन । यदि बनेको हुन्थ्यो भने सायदै मानिसहरू मानसिक स्वास्थ्यको हिसाबले अछुतो पक्कै हुन्थेनन् होला ।
उक्त बालक वृद्ध अवस्थासम्म आइपुग्दा पनि ब्राह्मण्डका लागि धुलोको एक कण बराबर पनि छैन । तर आफ्नो लागि ऊ सम्पूर्ण हो, उ त एक ब्राह्मण्ड हो । तर पनि उसले जीवनकालमा आफ्नो लागि कति जिएको होला ? पक्कै धेरै कम । उसलाई त आफ्नो लागि समय नै कहिले थियो होला र ? उ त आजसम्म पनि अरुका निमित्त बाँचिरहेको छ ।
ब्राह्मण्डको लागि तपाईँ केही पनि होइन । तैपनि आफूलाई सर्वशक्तिमान सर्वोपरि ठान्न कहिले बिर्सनुभएन नि ? यी र यस्तै धेरै कुराले सायद तपाईंको मनलाई शान्त भने कहिल्यै बनाएन नै । जीवनकालभरि चैनको निन्द्रा र चैनको सास कति तान्नुभयो अनि कति फाल्नुभयो ? मेरै÷आफ्नै लागि भनेर के गर्नुभएको छ ? आफ्नै लागि भनेर दिनमा कति घण्टा सुत्नुभएको छ ? आफ्नै लागि भनेर के पिउनु हुन्छ ? अनि के के खानु हुन्छ ? आफ्नै लागि भनेर कति समय खर्च गर्नुभएको छ ? आफ्नो खुसीको लागि कहाँ कहाँ जानुभयो ? घुम्नुभयो नि ? आफ्नो शरीरको माया कति गर्नुभएको छ ? आफ्नो कपाल, आँखा, कान, नाक, हातखुट्टा, शरीर हेरेर कति दङ्ग पर्नुभयो ? अनि कति ख्याल राख्नुभएको छ त ? आफ्नै संसारमा रमाउन कति समय खर्चिनुभयो ? आफ्नो अनुभूति आफूलाई भएको छ ? यस्तै यस्तै धेरै कुरा । अब भन्नुस जीवनभरमा आफूलाई माया कति गर्नुभएको रहेछ ?
यदि तपाईंको संसार तपाईं आफू नै हो भने, हर्मोनको झोललाई उतारचढावमा राखेर तपाईं आफ्नो ब्राह्मण्डको दिमाग किन खराब गर्नुहुन्छ ? जबकि सृष्टिको लागि तपाईं केही चिज होइन तर तपाईं आफ्नो लागि सर्वस्व हो । संसार हो । ब्राह्मण्ड नै तपाईँ हो । यसो भन्दै गर्दा यहाँ अहमताले होइन आत्मसम्मान ले थिचिएको बोध गर्नुपर्छ । आत्मसम्मानलाई ठेस पुग्नु भनेको मानसिक स्वास्थ्यलाई चोट पुग्नु हो । आत्मसम्मान मा ठेस पुग्ने कुराबाट टाढा बसौं आफ्नो आत्मसम्मानको कदर आफैले गर्न जान्नुपर्दछ ।
हाम्रो देशको जस्तो पृष्ठभूमिबाट आएका केही सीमित व्यक्ति बाहेक अरु सबैले आफ्नो लागि बाँच्न पक्कै बिर्सिएका छन् । हामी अरुका निमित्त बाँचिरहेका छौ, अनि आशावादी त्यही रुपमा भएका छौ । अरुमाथि आशा, भरोसा अनि अपेक्षा अलि बढी नै राख्ने गरेका छौ । यदि सोचे अनुरुप सबै कुरा भयो भने ठिक छ । भएन भने नि ? हो आज त्यही नहुँदै गर्दा समाज ध्रुवीकरण र व्यक्ति एक्लोपनको शिकारबाट पीडित हुने कुरामा दुईमत नहुन सक्छ । विश्व समुदायमा मानसिक स्वास्थ्य एउटा चुनौतीको रुपमा स्थापित हुँदै गइरहेको छ । मानसिक स्वास्थ्यको विषयहरू खुलेर बहसमा आउन र समाधानका पहलकदमीहरू चालिन आवश्यक छन् । विज्ञानले जीवनलाई सरल पक्कै बनाएको छ तर यसले साथै निम्त्याएको भावनात्मक दूरी अझ दूर हुँदै गइरहेको छ । मनलाई खुसी, शान्त र आनन्दित बनाउने कुरा घट्दो छ । हामी केही कुराको पछि यसरी दगुरीरहेका छौ, त्यो कुरा के हो भन्ने हामीलाई बिरलै थाहा छ । यसर्थ जीवनलाई अध्यात्मको लेन्सबाट हेर्न पनि जरुरी भएको छ । ताकि जीवनमा जीवनलाई आनन्दको जीविका चलाएर आफ्नो जीवनमा जीवन्त रहन जीवन महत्त्वपूर्ण छ यसलाई सञ्चालित गर्ने हाम्रो मानसिक स्वास्थ्य सधैभ केन्द्रभागमा हुनुपर्दछ । मानसिक स्वास्थ्य हेर्दा सामान्य देखे पनि यसका असरहरु गम्भिर छन् । आफुलाई माया गर्दैगर्दा, आफ्नो आत्मसम्मानलाई बचाईराख्दा मात्रै पनि मानसिक स्वास्थ्यलाई केही हदसम्म्म भने सुरक्षित राख्न सकिन्छ ।
टंक बहादुर श्रेष्ठ
जनस्वास्थ्यकर्मी


