फ्रेण्डसिप खबर
लेख तथा रचना शिक्षा स्वास्थ्य

शिक्षासँगै, स्वास्थ्य र सुस्वास्थ्यको क्षेत्र विद्यालय – जनस्वास्थ्यकर्मी श्रेष्ठकाे लेख

विद्यालयल पढ्ने, लेख्ने र ज्ञान आर्जन गर्ने क्षेत्रको रुपमा बढी परिचित भएको पाइन्छ । के विद्यालय यही कुरामा मात्र सीमित हो त ? एक ठूलो प्रश्न चिन्ह हामी सबैमा उठ्न जरुरी छ । कुनै एक व्यक्तिले विद्यालय तहको शिक्षा लिँदै गर्दा कम्तीमा पनि १० वर्ष व्यतीत गरिसकेको हुन्छ । अझ उच्च शिक्षाको कुरा गर्ने, अनि, अहिले दुई वर्षदेखि विद्यालय भर्ना गर्ने प्रचलन पनि धेरै छ । यी कुराहरुलाई जोडेर हेर्ने हो भने विद्यालयमा विद्यार्थीले खर्चिने समय एकदम धेरै हुन आउँछ । यस समयभित्र कुनै पनि व्यक्तिले शिक्षा मात्र हासिल गरिरहेको हुँदैन, उक्त व्यक्तिको सर्वाङ्गिण विकास भइरहेको हुन्छ । यसलाई सरल भाषामा यसरी पनि बुझ्न सकिन्छ, उक्त व्यक्तिको शारीरिक, मानसिक, सामाजिक, भावनात्मक, संवेगात्मक र आध्यात्मिक यी सबै कुराहरूको विकास भइरहेको हुन्छ ।


दुई वर्षको विद्यार्थी विद्यालय जाँदै गर्दा उसको शारीरिक अवस्थालाई हेरौ । उसले सोच्ने कुरा हेरौ । उसले लिने निर्णय हेरौ । साथीभाइ बीच उसले बनाएको अन्तरसम्बन्धलाई हेरौ । ऊ भित्रको विचारहरू, भावना, आवेग, व्यवहार, धारणा आस्था यी सबै सबै कुरालाई हेरौ र जब उसले विद्यालय तहको शिक्षा लिइसकेपछि फेरि उक्त कुरालाई एकपटक हेरौ त । के यी सबै कुरामा हामी आकाश पातलको फरक भेट्दैनौ र ?
यदि साँच्चीनै हामीले फरक पायौं भने हामीले यो कुरा बुझ्न आवश्यक छ कि विद्यार्थीहरूले विद्यालयमा ज्ञान मात्रै आर्जन गरिरहेका हुँदैनन्, उनीहरूले बृहत्तर कुराहरु एकैसाथ सिकिरहेका हुन्छन् । तर हामीले ती कुराहरु चटक्कै बिर्सेर विद्यार्थीहरुलाई पढ्न र लेख्नमा यसरी लादिएका छौ कि घोडालाई लगाम लगाए जस्तो । हामीले अलि ठूलो होराइजनबाट हेर्न पो कतै सकेनौ कि ? के स्वास्थ्य शरीर बिना कुनै पनि कुराहरु सम्भव होला ? पक्कै पनि छैन । तपाईंले सिक्ने कुरा होस् वा सोच्ने कुरा वा निर्णय लिने कुरा वा धारणा बनाउने कुरा वा स्वस्थ शरीर वृद्धि विकासको कुरा वा सम्बन्धको कुरा वा व्यवहारको कुरा केही पनि तपाईंको स्वास्थ्य शरीर र स्वस्थ मन बिना सम्भव नै छैन ।
त्यसो हुँदै गर्दा विद्यालयलाई शिक्षाको मात्र क्षेत्र नभई स्वास्थ्य र सुस्वास्थ्यको क्षेत्र बनाउन सकियो भने यसले सर्वाङ्गीण पक्षको हित गर्नेछ । विद्यालयमा पढ्ने विद्यार्थी भाइबहिनीहरूको स्वस्थ शरीर र स्वस्थ मन को लागि विश्व स्वास्थ्य संगठन, युनेस्को, र युनिसेफ ले सन् १९९२ मा अघि सारेको अवधारणा र सन् २०१८ मा विश्व स्वास्थ्य संगठन र युनेस्कोले ल्याएको नीति “एक विद्यालय एक स्वास्थ्य प्रवर्द्धित विद्यालय ” ( One school, One health promoting school) को अवधारणालाई लागू गर्न आवश्यक छ ।
सामान्यभन्दा सामान्य कुरा गर्दै गर्दा पनि हामी हाम्रो विद्यालयलाई एक स्वास्थ्य प्रवर्धित विद्यालय बनाउन सक्छौ । हामी एउटा यस्तो विद्यालयको कल्पना गरौ जहाँ सबै विद्यार्थी भाइबहिनीहरू, शिक्षकहरू शारीरिक क्रियाकलापहरूमा सहभागी भएको होस् । शारीरिक रूपमा स्वस्थ र तन्दुरुस्त भएको होस् । रमाइलो र रिक्रिएसनको कुराहरु जहाँ होस् । सबैले राम्रो पोषण पाएको अवस्था होस् । सुर्ती टोबाको को प्रयोग नभएको होस् । लान्छना, भेदभाव र बुली नभएको होस्। विद्यार्थीको मनोभावलाई बुझेर पढाइ हुने वातावरण होस् । सबै विद्यार्थीको नियमित स्वास्थ्य परीक्षण भएको होस् । विद्यार्थीहरूको पर्सनल हाइजिन र सरसफाईमा ध्यान गएको होस् । किशोर किशोरीहरूको समस्यालाई सुन्ने बुझ्ने र समाधान गर्ने निकाय होस् । किशोरीहरूको स्वास्थ्य समस्या लाई सजिलै रास्ते वातावरण सिर्जना भएको होस् । बच्चाहरूको समस्या सुन्ने र परामर्श दिने छुट्टै एउटा कक्ष होस् । प्राथमिक उपचारको सबैमा ज्ञान होस् । विद्यालयमा First Aid Box होस् । विद्यालयको कक्षाकोठार बाहिरी क्षेत्रहरू सरसफाई भएको धुलो नउठ्ने होस् । विद्यालयमा बस्ने डेस्कवेन्चहरूमा कुनै पनि कॉटीहरु ननिस्केको घोच्ने, बिजाउने खालको नहोस् । घामपानी हावाबाट बच्नको लागि बलियो भवन र सुरक्षित छत होस् । सिक्ने र सिकाउने सबैको पवित्र भावना होस् । सहयोगी भाव र मानवताले भरिएको हृदय होस् । समुदाय र अभिभावकलाई विद्यालय र विद्यार्थीप्रति चासो भएको होस् र योगदान पनि रहेको होस् । विद्यार्थी-विद्यार्थी बीच शिक्षक-शिक्षक बीच शिक्षक-विद्यार्थी बीच विद्यार्थी-शिक्षक बीच आपसी एक घनिष्ठ र निस्वार्थ प्रेमभाव होस् । अभिभावक शिक्षक र विद्यार्थी सँगै बसेर कुरा गर्न सक्ने वातावरण भएको होस् । विद्यालयभित्र बाल क्लब होस् बाल क्लब सही ढङ्गबाट परिचालित भएको होस् । जसले विद्यार्थीलाई ऊर्जा हौसला र केही नयाँ कुरा सिक्नमा सहयोग गरोस् । विद्यालयभित्र गरिने निर्णय सूचना सबैमा पुगेको होस् । सूचना र अधिकारमा सबैको बराबरी हक भएको होस् । कसैले वाह भनिदिनको लागि होइन हामी सबैलाई वाह ! वाह ! लाग्ने होस् ।
यसर्थ धेरै ठूलो र नसक्ने कुराको पछाडि हामी लाग्दै गर्दा हामीले सामान्यभन्दा सामान्य कुरा बिर्सिरहेको हुन्छौ । जसकारण हाम्रो कुराहरु गफमा मात्रै सीमित भएको हुन्छ । सामान्य कुराहरू सामान्य लाग्दै गर्दा हामीले त्यति धेरै चासो र महत्व दिंदैनौ जसले गर्दा हामी सोचमा अगाडि त पक्कै हौला । तर वास्तविकता र व्यवहारमा हामी उत्तिकै पछाडि परिरहेका छौ । हामीले सोचेको जस्तो हाम्रो विद्यालय र विद्यार्थीहरू उत्पादन गर्न सकेका छैनौ । स्वस्थ शरीर स्वस्थ मन बिना कुनै कुरा गर्न त परको कुरा एक स्वस्थ सोच मात्रै पनि आउँदैन । त्यसकारण विद्यालयलाई अब शिक्षाको क्षेत्र मात्रै नभएर स्वास्थ्य र सुस्वास्थ्यको पनि एक महत्वपूर्ण क्षेत्रको रुपमा विकास गर्दै जानुपर्नेछ ।
टंक बहादुर श्रेष्ठ
जनस्वास्थ्यकर्मी

याे पढ्न छुटाउनु भयाे की ?

विगुमा जनसचेतनको स्वास्थ्य शिविर,७ सय ले सेवा लिए

Friendship Khabar

पशुपति स्मृति अस्पतालको न्युनतम सेवा स्तर बढ्याे

Friendship Khabar

शिक्षकहरुले आन्दोलन शुरु गर्दै आज बुझाए ध्यानकर्षण पत्र

Kedar Dahal