फ्रेण्डसिप खबर
लेख तथा रचना स्थानीय समाचार

ठुला पार्टीलाई हेर्यौं,बुझ्यौं र भोग्यौं फेरी उहाँहरुलाई मतदान गर्नु :- पश्चाताप मात्र हो

दोलखा जिल्लाको गौरिशङ्कर गाँउपालिकामा २०७९मा भएको स्थानिय निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित श्याम सुन्दर तामाङ्गको देहवसान भएपछि रिक्त रहेको उपाध्यक्ष पदमा २०८१ मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय निर्वाचन आयोगले गरे संगै दोलखाका राजनैतिक दलहरु आ-आफ्ना उमेद्धवारहरुको चयनमा लागेका छन ।
२०७९ मा भएको निर्वाचनमा गठवन्धनमा रहेका दलहरुले यस पटक आ–आफ्नैदलको तर्फवाट उमेद्धवारी दिने तयारी गरि रहेका छन् भने वर्तमान सत्ता गठवन्धनमा रहेका नेकपा एमाले र नेपाली काङ्ग्रेस समेत एक्ला एक्लै चुनावी प्रतिष्पर्धा गर्दै छन ।
गत चुनावमा गठवन्धन दलमा सामेल नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजदवादी दोलखाले यसपटक आफ्नै उम्मेदवार मार्फत जनतामा जाने निर्णय गरेको छ । उक्त दलले आफ्नो तर्फबाट दोलखा जिल्लाको गौरिशङ्कर गाँउपालिका वडा नं ५ निवासी रबिना खड्कालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पिता भुपदेव खड्का माता अम्बिका खड्काकी छोरी रबिना खड्का वाल्यकाल देखीनै वामपन्थी राजनितिवाट प्रभावित भई अनेरास्ववियुमा आवद्ध भई विद्यार्थी राजनितिमा सकृय रहदै तत्कालिन नेकपा एमालेमा क्रियाशिल रहदै आउनु भएको थियो ।
तत्कालिन नेकपाका अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको वेला संसद विघठन गरी लोकतन्त्रको घाँटी निमोठ्ने प्रबृतिको विरुद्ध आन्दोलनमा क्रियाशिल खड्का नेकपा एकीकृत समाजवादी पार्टीको गठन सङ्गै सोहि पार्टीमा संगठित हुनु भयो । पार्टीको संगठन निर्माणको क्रममा भुईतहमा नै रहेर काम गर्नु पर्छ भन्ने मान्यता अंगाल्दै गौरिशङ्कर गाँउपालिका वडा नं ५ सुरि को वडा कमिटीको अध्यक्षको जिम्मेवारीमा रहेर काम गर्दै आउनु भएकी रविना खड्का सङ्ग फ्रेण्डसिप खबरले लिएको अन्तरबार्ता

१) तपाईलाई नेकपा एकीकृत समाजवादी दोलखाले यहि मंसिर १६ गते गौरिशङ्कर गाँउपालिकामा हुन गई रहेको उपाध्यक्ष पदको रिक्त पदमा हुने उपनिर्वाचनमा उम्मेदवार वनाएको छ,कस्तो महसुस गर्नु भएको छ र तयारी कस्तो छ?

म सानै उमेरदेखी बामपन्थी राजनितिमा क्रियाशिल रहँदै आएको छु । विशेष गरी समाजमा पछाडी पारीएका वर्ग र समुदायको शशक्तिकरण र उनिहरुको अधिकारका लागि कृयाशिल छु । त्यस मध्ये पनि महिला र वालवालिकाको अधिकारको वकालत गर्दै आईरहेको छु । सामाजीक काम र राजनितिक काममा आफुलाई क्रियाशिल वनाई रहँदा म नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको कार्यकर्ता भएकोले मलाई मेरो राजनिति प्रतिको विश्वास र लगावको आधारमा पार्टीले गौरिशंङ्कर गाउँपालिकामा हुन गईरहेको उपनिर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनाएको छ । पार्टीले मलाई दिएको जिम्मेवारीलाई शिरमा राखेर कलम चुनाव चिन्ह वोकेर जनताको विचमा जाने अवसर मिलेको छ । म पार्टीको निर्णयलाई धन्यवाद दिन चाहन्छु ।
जहाँसम्म तयारीको कुरा छ,हामी हाम्रो विचार वोकेर जनताको घर–घरमा जान्छौ, हाम्रा विचार र योजना राख्छौ,गर्न सक्ने कुरा भन्छौ, आनावश्यक आश्वासन वाढ्दैनौ, जनताको कुरा सुन्छौ,उहाँहरुवाट आएका राय, सल्लाह सुझावलाई ग्रहण गर्दै अघि वढछौ । आफ्नै गाउँघरका आमा बुवा, दाजुभाई दिदी वहिनीहरुको विचमा पुग्न खासै ठुलो तडक भडक आवश्यक हुदैन । हामी राजनितिमा ईमान्दारीता र सरलताको संस्कृति वोकर सवैको घर दैलोमा जान्छौ ।


२)तपाई युवा उमेर मै राजनितिमा क्रियाशिल हुन खोजी रहनु भएको छ, तपाईले राजनितिलाई कसरी लिईरहनु भएको छ ?


मैले राजनितिलाई समाजसेवाको रुपमा बुझेको छु, जनप्रतिनिधी भन्ने शब्दलाई नै सम्झौ न जनताको प्रतिनिधि भनेको छ । जनताको प्रतिनिधि हुन खोजेपछि जनताको भावनामा ठेस पुग्ने काम गर्नु हुँदैन । जनताको सेवा,गाँउको सेवा, देशको सेवा भन्ने कुरालाई व्यक्तिले आफ्नो स्वार्थसिद्धको लागि दुरुपयोग गर्नु हुन्न । हामीजस्ता युवाहरुले समाजमा भएका गलत प्रबृतिहरु विरुद्ध समाजलाई जागृत गर्नु पर्छ र देश वनाउन सक्छौ भन्ने नयाँ सपना बोक्नु र सोहि वमोजिम आफुलाई बदल्न सक्नु पर्छ । म यहि मान्यतामा अडिक छु ।

३)उपाध्यक्ष पदका लागि निर्वाचनमा जाँदा तपाईका एजेण्डाहरु के के छन?


पहिलो कुरा अहिले देशमा सुशासनको अभाव छ,मलाई गौरिशंङ्कर वासी जनसमुदायले निर्वाचनमा मत दिई जिम्मेवारी प्रदान गर्नु भयो भने म स्थानिय सरकारमा रहेर सुशासनको प्रत्याभुति दिलाउन लागि पर्नेछु । दोश्रो अहिले मानिसहरु सकरात्मक भन्दा नकरात्मक तरिकाले सोच्ने गर्दछन,कतिपय कारण जिम्मेवार निकायवाट हुने गलत कामले प्रभाव पारेको हुन सक्छ तर पनि आम युवाहरुमा यो देशमा नै केहि गर्न सकिन्छ भन्ने भावना जागृत गराई युवाहरुलाई उत्पादन संग जोडनु पर्छ । तेश्रो गौरिशङ्कर गाउँपालिका प्राकृतिक श्रोत र साधनले सम्पन्न गाउँपालिका भएकोले त्यसको सदुपयोग गर्दै प्राकृतिक श्रोत र पर्यटनमा आधारित उद्यमको विकास गर्दै युवा रोजगारी श्रृजना गर्न सकिन्छ । चौथो हाम्रो गाउँपालिका भौगोलिक रुपमा विकट पनि छ,विशेषगरी गाउँपालिका कार्यालयमा आउने सडक सञ्जाललाई व्यवस्थित वनाउनु पर्ने छ । भौतिक पुर्वाधारको विकास, रोजगारी श्रृजना, गुणस्तरिय शिक्षा, स्वास्थ्य, कृषी पशुपालन र पर्यटन क्षेत्रको व्यवसायीकरण लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्छु ।


४)गौरिशङ्कर गाँउपालिकामा अहिलेसम्मको स्थितिमा अन्य पार्टीको सांगठनिक प्रभाव वलियो देखिन्छ । यस्तो अवस्थामा तपाई र तपाईको पार्टी एक्लै निर्वाचनमा होमिएको छ कसरी अघि बढने सोच राख्नु भएको छ ?

ठुला दल भनिने दलको वारेमा मैले भन्नु भन्दा पनि गौरिशङ्करवासी जनसमुदायले धेरै जान्नु र बुझ्नु भएको छ । सवैपार्टीका ठुला नेता गौरिशङ्करमा हुनु हुन्छ । उहाँहरु राष्ट्रमा नै प्रभाव राख्छौ भन्नु हुन्छ तर हालसम्म अन्य पालिका भन्दा गौरिशङ्कर किन पछि पर्‍यो त ?जनताले सोध्ने वेला भएन र र?
ठुला पार्टी भन्ने हरुले गौरिशङ्कर गाउँपालिकालाई धनवाद र डनवादको प्रभावमा राखेर सधै रणमैदान वनाउने वाहेक केहि गर्नु भएको छैन । यो कुरा जनताले बुझेका छन।अव जनताले डनवाद र धनवादलाई परास्त गर्दै शान्ति, विकास र समृद्धिको पक्षमा उभीने अवसरको रुपमा यो निर्वाचनलाई सदुपयोग गर्नु हुनेछ ।
हामी जनताको विकासको चाहनालाई वैचारिक वहसको माध्यमद्धारा समाजवाद निर्माणको दिशामा अगाडी वढाउन चाहन्छौ । जनताको चाहना र हाम्रो चाहना मिल्ने भएकोले यस पटक जनताले हाम्रो पार्टीको चुनाव चिन्ह कलम मा मतदान गर्नुहुने विश्वास लिएको छु ।

५)अन्त्यमा गौरिशङ्करवासी मतदातालाई केहि भन्नु छ ?

मैले माथी पनि उल्लेख गरी सके कि हामीले ०४६ साल देखी एमाले, कांग्रेस,०६२ देखी माओवादी पार्टीलाई हेर्यौं, बुझ्यौं र भोग्यौं फेरी पनि उहाँहरुलाई मतदान गर्नु भनेको पुनः पश्चाताप गर्नु वाहेक केहि होईन त्यसैले एकपटक हामीलाई विश्वास गर्नुहोस । म र हाम्रो पार्टीले तपाईहरुलाई विश्वास घात गर्ने छैनौ । गौरिशङ्करवासी आमा, बुवा, दाजुभाई दिदी वहिनीहरुमा स्वाभिमानपुर्वक कलम चिन्हमा मतदान गर्न अनुरोध गर्दछु ।
अन्तमा विशेषगरी युवा साथीहरुमा मेरो अनुरोध छ । विग्रेको समाज र राजनितिलाई सच्याउने जिम्मेवारी तपाई हाम्रो पुस्ताको हो । हाम्रो पुस्ताले समयमा सहि निर्णय गर्न सकेन भने अरुलाई गाली गरेर समाज वन्दैन । गौरिशङ्कर गाउँपालिकाको राजनितिलाई शान्ति, बिकास र समृद्धिको दिशामा अघि बढाउने कि धनवाद र डनवादको पासोमा पारिरहने भन्नेमा सहि निर्णय लिन आग्रह समेत गर्दछु ।

याे पढ्न छुटाउनु भयाे की ?

अनेरास्ववियु वैतेश्वरकाे अध्यक्षमा सुशील दहाल

Friendship Khabar

ईश्वरभुमि साकोषको अध्यक्षमा पुनःबस्नेत निर्वाचित

Friendship Khabar

नेकपा एस शैलुङ अध्यक्षमा ढुङ्गेल,यस्तो छ ४० बर्षे राजनैतिक यात्रा

Friendship Khabar