फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश

त्रिदेशीय सम्बन्ध बढाउन लामाबगर फलाक सडक पूरा गर्ने:-प्रचण्ड

दोलखा/प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले राष्ट्रिय महत्वका चीन, नेपाल र भारतको त्रिदेशीय व्यवसायिक सम्बन्ध थप विस्तार गर्न तामाकोसी करिडोरको रुपमा लामाबगर फलाक सडक निर्माणमा सरकारले प्राथमिकतामा राख्ने बताए ।

लामाबगरदेखि तिब्बतको फलाकसम्मको सडक निर्माण पूरा भए त्रिदेशीय व्यवसायिक सम्बन्ध विस्तार गर्ने उत्तरदक्षिण जोड्ने सबैभन्दा छोटो मार्ग हुने छ ।
दोलखा उद्योग वाणिज्य संघले आयोजना गरेको वृहत दोलखा महोत्सवको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री दाहालले आफ्नै पालामा सुरु गरेर रोकिएको फिल्म सिटी निर्माणलाई गति दिने र पर्यटन विकासका लागि समेत दोलखामा सरकारले सहयोग गर्ने बताए । भीमेश्वर रंगशाला सहितका योजना पूरा गर्न संघीय सरकारले सहयोग गर्ने समेत उनले आश्वासन दिए ।
महोत्सव उद्घाटनमा आउँदा सर्वदलीय रुपमा सहमति गरेर दोलखा विकासका लागि अत्यावश्यक १५ बुँदे ज्ञापन पत्र जिल्ला समन्वय समिति दोलखाका प्रमुख बर्जुराम घतानेले पेश गरेका थिए ।
ज्ञापन पत्रमा स्थानीय तहका जनप्रतिनिधिहरुका तर्फबाट समन्वय समिति प्रमुख घताने, नेपाली काँग्रेसका सभापति वर्मा लामा, नेकपा एमाले अध्यक्ष नरबहादुर श्रेष्ठ, नेकपा माओवादी केन्द्रका संयोजक कुलबहादुर बुढाथोकी र नेकपा एकीकृत समाजवादीका अध्यक्ष भीम दाहालले हस्ताक्षर गरेका छन् ।

अर्थतन्त्र सुधारोन्मुख

प्रधानमन्त्री दाहालले देशको अर्थतन्त्रमा सुधार आइरहेको बताएका छन् । महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आफूले सत्ता सम्हाल्दा देशको अर्थतन्त्रका सूचकहरु ठिक नभएकोमा अहिले विदेशी मुद्रा संचिति, पर्यटक आगमन, घर जग्गा कारोवार लगायतका सबै सूचकहरु सकारात्मक बन्दै आएको बताए ।
“मैंले एक वर्ष अघि सत्ता सम्हाल्दा नेपाली अर्थतन्त्र डुबिसकेको भाष्य थियो । राजश्व घट्दो क्रममा थियो, बैंकको ब्याजदर बढ्दो क्रममा थियो । तीन महिनाको आयात धान्न पुग्ने बैदेशिक मुद्रा सञ्चिति मात्र थियो ।” प्रचण्डले भने, “तर एक वर्ष पछि अहिले अर्थतन्त्रमा सुधार देखिएकोछ । राजश्व बढ्न थालेको छ । रेमिटेन्समा बृद्धि भएको छ । बैंकको ब्याजदरमा कमी आएको छ । पर्यटकहरुको संख्यामा बृद्धि भएको छ । विदेशी मुद्रा सञ्चिति उल्लेखनीय रुपमा बढेको छ । ”
निजीक्षेत्र तथा सरकारको सहकार्यबाट नै अर्थतन्त्र चलायमान हुने भएकोले बृहत दोलखा महोत्सवले दोलखाको अर्थतन्त्रलाई चालयमान बनाउने विश्वास उनले ब्यक्त गरे ।
पुुस लागेपछि आफूले काम गर्ने तरिकामा परिवर्तन गरी सिंहदरबार केन्द्रित भइ काम गर्ने भनेता पनि परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका रितबहादुर खड्काको जिल्ला भएकोले आफू दोलखा महोत्वसको उद्घाटन गर्न दोलखा आएको उहाँले बताए । शान्ति प्रक्रियापछि आफू दोलखा नै आएको र पटक पटक दोलखामा प्राकृतिक सुन्दरताका कारण पनि आएकाले आफूले दोलखाका लागि प्राथमिकतामा राखेको बताए ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य विशाल खड्का, नेकपा एमालेका पोलिटब्युरो सदस्य पार्वत गुरुङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जिपछिरिङ लामा लगायतले सम्बोधन गरे । उद्घाटन समारोहको अध्यक्षता दोखला उद्योग वाणिज्य संघका अध्यक्ष ईन्द्रबहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको थियो । उद्घाटन सत्रमा सातदोबाटोदेखि भीमेश्वर नगरपालिका वडा नं. ४ को महिला पञ्चेबाजा, थामी, तमाङ, जिरेल, सुनुवार, शेर्पा, नेवारी, खस क्षेत्री लगायतका विभिन्न जातजातीको झाँकी तथा भजन, विद्यालयका विद्यार्थीको र्‍याली सहित स्थानीयहरु महोत्सव स्थल पुगेका थिए ।
“दोलखा महोत्वसवको दिब्य दृष्टी,आर्थिक क्रान्तिको नयाँ सृष्टि” नाराका साथ दोलखा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रवारबाट सुरु भएको बृहत दोलखा महोत्सव २०८० दश दिनसम्म चल्नें छ । महोत्सवमा स्थानीय उत्पादन सहितका १५० वटा स्टल राखिएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

अध्यक्षले सिफारिस नदिएको भन्दै सात राजनितिक पार्टीको सामुहिक विज्ञप्ती

Friendship Khabar

राष्ट्रिय कर्मचारी सङ्गठनको क्षेत्रीय संयोजकमा थामी

Nabin Kumar Khatiwada

मैनापोखरीमा शनिबार हाटबजार

Friendship Khabar