तेन्जिङ शेर्पा
दोलखा, जेठ २३, २०८३ — दोलखाको बैतेश्वर गाउँपालिका–३, खावा स्थित नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड ले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संस्थाको झण्डा शिखरसम्म पुर्याउने आफ्ना सदस्य ङवाङ नाम्गेल शेर्पा लाई सम्मान तथा बधाई ज्ञापन गरेको छ।

संस्थाको आयोजनामा सम्पन्न सम्मान तथा बधाई कार्यक्रममा संस्थाका अध्यक्ष तेम्बा शेर्पा को अध्यक्षता रहेको थियो भने दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडका महासचिव तेन्जिङ शेर्पा प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।
कार्यक्रममा सम्मानित व्यक्तित्व ङवाङ नाम्गेल शेर्पालाई सम्मान–पत्रसहित विशेष सम्मान प्रदान गरिएको थियो। पहिलो पटक सगरमाथाको सफल आरोहण गर्दै संस्थाको झण्डा विश्वकै सर्वोच्च शिखरमा पुर्याउन सफल भएको भन्दै संस्थाले उनको योगदानको उच्च प्रशंसा गरेको थियो।
कार्यक्रममा संस्थाका सचिव मंगले शेर्पा, लेखा सुपरिवेक्षण समिति सदस्य दावा शेर्पा, उपाध्यक्ष सोनाम शेर्पा तथा व्यवस्थापक आङनर्बु शेर्पा ले शुभकामना मन्तव्य व्यक्त गर्दै ङवाङ नाम्गेल शेर्पाको साहस, आत्मविश्वास र दृढ संकल्पको प्रशंसा गरेका थिए। वक्ताहरूले उनको उपलब्धिले संस्था, स्थानीय समुदाय तथा समग्र दोलखा जिल्लाको प्रतिष्ठा बढाएको उल्लेख गर्दै युवा पुस्तालाई प्रेरणा प्रदान गरेको बताए।
प्रमुख अतिथि तेन्जिङ शेर्पाले सगरमाथा आरोहण केवल व्यक्तिगत सफलता नभई राष्ट्र, समाज र संस्थाको गौरवसँग जोडिएको विषय भएको बताउँदै ङवाङ नाम्गेल शेर्पाको उपलब्धि अनुकरणीय रहेको धारणा व्यक्त गरे। उनले यस्ता सफल व्यक्तित्वलाई सम्मान गर्ने संस्थाको कार्यको समेत प्रशंसा गरे।

अध्यक्ष तेम्बा शेर्पाले सम्मानित व्यक्तिको सफलताले सम्पूर्ण सहकारी परिवारलाई गौरवान्वित बनाएको उल्लेख गर्दै आगामी दिनमा पनि सदस्यहरूको उत्कृष्ट योगदानको कदर र सम्मान गर्ने संस्थाको परम्परा निरन्तर रहने बताए।
कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले ङवाङ नाम्गेल शेर्पालाई बधाई तथा शुभकामना व्यक्त गर्दै आगामी दिनमा अझ उच्च सफलता हासिल गर्न शुभेच्छा व्यक्त गरेका थिए।






विश्वकै सर्वोच्च शिखरमा संस्थाको झण्डा फहराएर नव जनउत्थान सहकारीको पहिचानलाई नयाँ उचाइमा पुर्याउने ङवाङ नाम्गेल शेर्पाको सम्मान कार्यक्रमले स्थानीय समुदायमा गर्व र उत्साहको वातावरण सिर्जना गरेको छ।


