दिलबहादुर केसी
चरिकोट/कालिञ्चोक गाउँपालिका वडा नं. ६ का चौरी व्यवसायी लालवीर थामीको मुहारमा उत्साह छाएको छ । उनी उत्साहित हुनुको कारण उनले गोठ राखेको खर्कमै पशु प्राविधिकहरु पुगे र चौरीको स्वास्थ्य जाँच गरेर उपचार हुनु हो ।
थामीको गोठमा ३० वटा चौरी छन् । डेढ वर्षदेखि चौरीपालनमा लागेका थामीको गोठ अहिले कालिञ्चोकको कुरीमा छन् । उनको एउटा चौरीमा ट्युमर आएर एक वर्षदेखि पेटमा डल्लो झुण्डि रहेको थियो । त्यसको उपचार पशु प्राविधिकहरु खर्कमै पुगेर उपचार गरे । उपचार नहुने भयो भनेर माया मारिसकेका थामीको चौरीको उपचार भएर एक वर्ष अघिदेखिको चौरीको पेटमा भएको डल्लो काटेर फालेपछि थामी उत्साहित भएका हुन् ।

चौरीको शल्यक्रिया सहितको उपचार खर्कमै पुगेर भएपछि अरु चौरी व्यवसायीहरु पनि खुशी भएका छन् । उपचारमा कालिञ्चोक गाउँपालिकाले चिकित्सक सहितको टोली खर्कमा पुगेपछि सबै किसानहरु भेला भएर र लालवीरलाई सहयोग गरे । ‘चौरीको उपचार संवेदनशिल पनि हुन्छ’ चौरी किसान थामीले भने ‘खर्कमा रगतको गन्ध आए वा चौरी कराए खर्कमा भएका सबै चौरी जम्मा हुन्छन् र कुनै संकट आएको भन्दै हान्ने र आपसमा जुध्छन् ।’ जंगलमा बस्ने र चरिचरणमा रमाउने चौरीको सामुहिकता भएकाले अरु चौरीले थाहा नपाउने र अप्रेसनमा निस्केको रगत बगाउन खोला किनारको ठाउँ खोज्नु पर्छ ।

उच्च लेक भएकाले छिनछिनमा पानी पर्ने हुँदा मौसमलाई पनि ख्याल गर्नु पर्ने तर उपचारमा लामो समय लाग्दा अत्यन्तै संवेदनशिल हुनु पर्ने उपचारमा संलग्न पशुचिकित्सक डा निशान दाहालले बताए । चौरी विरामी भए पशु सेवा कार्यालयमा ल्याउने संभावना पनि हुन्न, सामान्य उपचार सहजै हुन्छ तर शल्यक्रिया नै गर्ने काम भने चौरीका लागि सहज नभएको उनले बताए ।
चौरी व्यवसायी लालवीर थामीका अनुसार सुरुमा चौरी किनेर ल्याउँदा पेटमा सानो फोका जस्तो थियो । त्यो विस्तारै बढ्दै गएर ठूलो भकुण्डो जत्रो भयो । जंगलमा चरनमा जाँदा अकअर्कासँग जुध्दा र जंगलभित्र छिर्दा छेस्का र काँडाले खोप्दा भने धेरै रगत बग्ने समस्या भएकाले उनले बताए ।
उपचारमा संलग्न भीमेश्वर नगरपालिका पशु शाखा प्रमुख डा निशान्त दाहालले ट्यूमर पशुहरुमा देखिने बताए । ‘अरुमा सामान्य फोका जस्तो हुन्छ, त्यसको उपचार पनि सहजै हुन्छ’ उनले भने ‘तर कुरीमा रहेको एउटा चौरीको ट्यूमर बढ्दै गएर ठूलो भएको पीप र रगत जमेर भुण्डिएको नसा पनि जोडिएकाले जडिल थियो ।’ पशुको ट्यूमर बढेर यति ठूलो भएको आफूले पहिलो पटक उपचार गरेको उनले बताए ।
यसरी संभव भयो उपचार
एक महिना अघि कालिञ्चोक गाउँपालिका उपाध्यक्ष कुलबहादुर बुढाथोकी सहित,पत्रकार महासंघ दोलखाका उपाध्यक्ष नवीनकुमार खतिवडा,कालिञ्चोक गाउँपालिका पशु शाखा प्रमुख संगीता बस्नेत सहित भेडा अनुगमनका लागि कालिञ्चोक घ्याङडाँडा हुँदै भेडा गोठतिर जाँदै थियो । बाटो छेऊमै एउटा चौरीको पेटमा ठूलो डल्लो झुण्डिएको देखियो । नजिकैबाट फोटो खिचे र उनीहरुले तत्कालै पशु सेवा कार्यालय चरिकोटका प्रमुख डा. ज्ञानबहादुर जिरेलसँग समन्वय गरे । त्यस बेला जिरेल टोली पनि कुरीमै थिए ।
रोग पत्ता लगाउन बाँध्नु पर्ने र हेर्नका लागि गोठालो खोज्ने सल्लाह भयो । तत्कालै गाउँपालिका उपाध्यक्ष बुढाथोकीले गोठालो पत्ता लगाउन फोन घुमाए तर कुनै चौरी व्यवसायीको फोन सम्पर्क हुन सकेन । एक हप्तापछि बल्ल चौरीको व्यवसायी पत्ता लागे । व्यवसायीलाई गाउँपालिका पशु शाखाले सम्पर्कमा ल्याएपछि उपचार प्रबन्ध गर्न लागे ।
कालिञ्चोक गाउँपालिकामा पशु प्राविधिकहरु भए तापनि जटिल खालको रोग भएकाले पशु सेवा कार्यालय चरिकोटमा समन्वय गरे । तर पशु सेवा कार्यालयमा पनि अहिले डाक्टरहरु नभएकाले भीमेश्वर नगरपालिका पशु शाखामा समेत समन्वय गरी भीमेश्वरका शाखा प्रमुख डा निशान दाहाल नेतृत्वमा पशु सेवा कार्यालय र कालिञ्चोक पशु सेवा शाखाका प्राविधिक टोली लिएर शनिबार फेरि उपाध्यक्ष बुढाथोकी कुरी पुगे । टोलीले ४ घण्टा लामो प्रयासमा ट्यूमर काटेर फाले र घाउ सिलाएर औषधी लगाएर आए ।
कालिञ्चोक गाउँपालिका पशु सेवा शाखा प्रमुख संगीता बस्नेतले सबै व्यवस्थापन गाउँपालिकाले गरेर प्राविधिक सहयोग भीमेश्वर नगरपालिका र पशु सेवा कार्यालयसँग लिएको जानकारी दिइन् । चौरीको घाउ ठीक नहुनञ्जेल बेला बेलामा पुगेर घाऊ सफा गर्ने र टाँका काट्ने जानकारी दिइन् ।
कालिञ्चोक क्षेत्रको कुरी, घ्याङडाँडा र टुटानका खर्कमा अहिले चौरी गोठ छन् । कालिञ्चोक गाउँपालिका भित्रका किसानहरुका मात्रै अहिले २१६ वटा चौरी छन् । हरेक चौरीको बीमा, खर्कमा घाँस, पानी र गोठ व्यवस्थापनका लागि गाउँपालिकाले लगानी गरेको छ । २ वर्षदेखि चौरीको दुध संकलन गरी चीज उत्पादनका लागि समेत गाउँपालिकाले सहयोग गरेको उपाध्यक्ष बुढाथोकीले जानकारी दिए ।
चौरी र भेडा पालन लेकाली क्षेत्रको पर्यावन संरक्षणमा समेत जोडिएकाले यो व्यवसायको संरक्षण र प्रबद्र्धनका लागि गाउँपालिकाले सहयोग गरेको उनले बताए । गाउँपालिकाको सहयोगपछि चौरी र भेडापालन तर्फ किसानहरु फेरि फर्कदै गएका छन् । कालिञ्चोक क्षेत्रमा चौरीको दुधबाट बन्ने घिऊ, छुर्पी, चिज कालिञ्चोक आउने पर्यटकहरुको कोसेली बन्ने गरेको छ।
