फ्रेण्डसिप खबर
लेख तथा रचना

स्थानीय निर्वाचन २०७९ को घोषणा पत्रमा समेटिनुपर्ने बिषयहरु : सन्दर्भ वैतेश्वर गाउँपालिका

२०७९ सालमा हुन गइरहेको स्थानिय निर्वाचनमा तल उल्लेख गरिएका काम गर्न र गराउन सकिने भएकोले मतदाताहरु सचेत भइ  उमेदवारलाई यसबारे प्रश्न  गर्न र सोही अनुसार आफ्नो धारणा निर्माण गर्न सजिलो होस भनी प्रेषित ।    

 # कृषि  विकास —            
 कृषि ग्रामीण जीवनको मुख्य आधार भएकोले यसलाई व्यावसायिकरण, यान्त्रिकरण र आधुनिकिकरणको नीति लिइने छ।यसका लागि निम्न काम गरिने छ-

* धान, गहु, मकै र कोदो उत्पादन वृद्धिका लागि व्यावसायिक र बैज्ञानिक खेती प्रणालीलाई जोड दिइने छ।

* गोलभेडा, आलु,कुरिलो, प्याज, छ्यापी,लप्सी,  खुर्सानी, बेसार, धनिया,जस्ता नगदेवालि उत्पादनलाई जोड दिइने छ।

* बेमौसमी तथा व्यावसायिक तरकारी   खेतिलाई प्रवर्द्धन गरिने छ।

* सामुदायिक बनमा निगालो, अमला, अम्रीसो, बास लगाई आय आर्जन वृद्धिमा पहल गरिने छ।

* व्यावसायिक पशुपालनमा जोड दिइने छ।उन्नत जातका खसी बाख्रा , बङुगुर, रागा भैंसी, कुखुरा, कालिज , माछा पालन गर्न प्रोत्साहित गरिने छ।

* नर्सरी तथा पुष्प व्यबसायको सम्भाब्यता अध्यन गरि आवश्यक कार्य योजना निर्माण गरिने  छ।

* दुग्ध उत्पादनका लागि उन्नत गाई / भैंसी पालन गरि दुग्ध उत्पादन गरिने छ।दुध ,दहि ,घिउ , छुर्पी , मख्खन उत्पादनलाई विशेष जोड दिइने छ।

* सबै खाले पशुपालान, कृषि ब्यबसायको  र कृषि बालीको बिमा गरि किसानलाई हुने हानि नोक्सानी न्यूनीकरण  गरिने छ।

* उत्पादित बस्तुको  बजारीकरणमा  सहजीकरण गरिनेछ।

* कृषकको उत्पादनलाई बजारीकरण गर्न सहकारीसग सहकार्य गरिने छ।

* कफी तथा चिया खेतिको सम्भाब्यता अध्यन  गरि कार्य योजना बनाइने छ।

* फलफूल खेति जस्तै; सुन्तला, कागती, अनार, किबि, अम्वा,नास्पाती, आल्चा, आरुबखडा आदिको व्यावसायिक उत्पादनलाई जोड दिइने छ।

* आल्चा र आरु बखडाको जाम उत्पादन गर्ने कारखाना खोल्दा अनुदानको ब्यबस्था मिलाईने छ।

* खेतिको चक्लाबन्दी र लिज प्रणाली  बिकास गरि व्यावसायिक खेतिलाई प्रबर्द्धन गरिने छ।

* कृषिमा यान्त्रिकरणलाई जोड दिइने छ। ब्यवसायिक किसान/ उदधमिलाई त्यस्ता सामग्री किन्न आवश्यकता हेरि अनुदान दिइने छ।

* सिंचाइको बारै महिना सुबिधा  हुने गरि कुलो निर्माण , बर्षाको पानी सङकलन तथा लिफ्ठ सिन्चाई प्रणाली  बिकास गरिने छ।

* व्यावसायिक मौरी पालन र मह उत्पादनको कार्यक्रम ल्याईने छ।

* तुलनात्मक लाभ हुने फसल;आलु लगाउन बैती बेशी, मार्बुटार,काब्रे ,मजुवा बेशी, गोपिबेसिलाई आलु उत्पादनको पकेट क्षेत्र घोषण गरि सोही अनुसार कार्ययोजना बनाईने छ।

* हरेक वडामा कृषि , पशुपालन, फलफूल खेतिका लागि प्राबिधिक  सहजीकरण गर्न वडाको तर्फबाट प्राबिधिक खटाईने छ।उनिहरुको सेवा निशुल्क हुने छ।

* बिकास निर्माण लगायतका कारणले समाजमा  निम्तिने द्वन्द सहजीकरण, मेलमिलाप  तथा बिकास योजनालाई सफल बनाउन  ग्रामीण बिकास बिज्ञ खटाइने छ।यो सेवा पनि निशुल्क हुने छ।

* सडक पहुँच भएको स्थानमा कोल्ड स्टोरको निर्माण  गरिने छ।

* कृषि बालीलाई क्षती गर्ने बादर, दुम्सी, लोखर्के आदि नियन्त्रको ब्यवस्था मिलाईने छ।

*सामुदायिक वनलाई हानी नोक्सानी  नहुने गरि बास, निगालो, अलैची, अमला, अम्रीसो खेती गर्न प्रोत्साहित गरिने छ।सो कामका लागि सहजीकरण  गरिने छ।

# उद्योग बिकास / ब्यबसाय प्रबर्द्धन कार्यक्रम –

कृषिले जिबिकोपार्जनमा सधाउछ। त्यसैले तिब्रतर बिकास गर्न उद्योग बिकासको नीति लिइने छ।

*कृषिलाई उद्धममा परिणत गरिने छ। सस, अचार, सिन्की , गुन्द्रुक आदिको व्यावसायिक उत्पान र ब्यापार गरिने छ।

*कुटानी पिसानी मिल स्थापना गर्न प्रोत्साहित गरिने छ।

*कृषिलाई उद्धमा आवश्यक टनेल,औजार तथा प्राबिधिक सहायता प्रदान गरिने छ।

*मैदा, आटा, चामल आदिको स्थानिय ब्रान्ड निर्माण गरि जिल्ला  भर निर्यात गर्न निजि क्षेत्रसग सहकार्य गरिने छ।

*स्थानिय काठको सदुपयोग गर्दै फर्निचर तगायत झ्याल-ढोका, खापा निर्माणको लागि सहजीकरण गर्ने छ।यस्तो काम गर्ने व्यावसायिलाई कारखाना स्थापना गर्न र निजलाई तालिम आवश्यक भए तालिम लिन एक मुष्ट अनुदान दिइने छ।

*ट्राउट एवं पोखरी माछा पालनलाई प्रोत्साहन गरिने छ।पोखरी  निर्माण  लगायतमा अनुदान दिइने छ।

*कुखुरा , कालिज आदिको ब्यबसायिक उत्पादन र चल्ला उत्पादन गर्ने उद्योगीलाई अनुदान तथा प्राबिधिक सहयोग दिइने छ।

* काब्रे, मिर्गे, गैरिमुदीमा भएको  स्लेट र खरिढुङा उत्खननलाई जोड दिइने छ।त्यसको बजारीकरणमा सहजीकरण गरिने छ।

*स्थानिय रक्सीलाई ब्रान्डिङ गरि बजारीकरण गरिने छ।गुणस्तरीय उत्पादनलाई जोड दिइने छ।

*धान, गहु, मकै, कोदो लगायतका खाद्यान्न खरिद- बिक्रिका लागि पाएक पर्ने ठाउमा डिपो सन्चान गरिने छ।

*स्थानीय कच्चा पदार्थ प्रयोग हुने घरेलु उद्योगमा जोड दिइने छ।कुसन, मुढा, खेलौना,माडा/ अचार, चाउचाउ , पाउरोटी आदि बनाउने उद्योगलाई प्रोत्साहन गरिने छ।

*नर्सरी ब्यवसाय गर्नेलाई प्रोत्साहन गरिने छ।

* बिदेशबाट फर्किएका सीप युक्त ब्यक्तिलाई उसको सीप अनुसारको  ब्यबसाय गर्न प्रोत्साहन गरिने छ।

# रोजगार-

बसाइँसराइको मुख्य कारण मध्ये बेरोजगारीता एक हो।त्यसैले हरेक बिकास कार्यक्रमको उद्देश्य रोजगार सिर्जना गर्नु हुने छ।सोही अनुसार नीति बनाईने छ।

*  ब्यक्तिको क्षमता अनुसार सानो ठूलो जे भए पनि ” एक घर एक रोजगारीको” ग्यारेन्टी गरिने छ।

*  सिकर्मी , डकर्मी, विद्युत वाईरिङ,मोटरसाइकल मर्मत, मोबाइल, कम्युटर, टि.भि, भिडियो निर्माण र इडिटिङ, फोटोग्राफी  आदिको अल्पकालीन तालिम दिई स्वरोजगार हुने अवसर सिर्जना गरिने छ।

• · कृषि, उद्योग , निर्माण , पर्यटन आदिबाट अधिकम रोजगारी सिर्जना गरिने छ।

# शिक्षा –

बैतेश्वरलाई आकर्षक शैक्षिक केन्द्रको रुपमा बिकास गरिने छ। निरक्षरता उन्मुलनका साथै प्राबिधिक जनशक्ति  उत्पादन कार्यक्रम अगाडि बढाईने छ।

*पालिकाबाट लिने वृद्ध भत्ता एवं अन्य भत्ता प्राप्त गर्न साक्षर भएको प्रमाणित गर्नु पर्ने प्राबधान राखिने छ। साक्षर पालिका बनाउन कार्यक्रम बनाईने छ। आवश्यक सहजीकरण गरिने छ।

*सात वटा अलग अलग माध्यामिक बिद्यालयमा अलग अलग प्राबिधिक धारका बिषय पढाइ हुने ब्यवस्था मिलाईने छ।प्राबिधिक धार संचालन गरेको हनुमन्तेश्वर माबिलाई प्रोत्साहन गरिने छ।

* कृषि , भेटेनरी, निर्माण, अनमी , अटोमोवाइल, अहेव,कम्युटर, आदि प्राबिधिक बिषयकि पढाइ/ सिकाईका लागि  अनुकुल हुने बिध्यालयहरु छनौट गरिने छ। बिषय दोहोरो हुने नीति बनाईने छैन।

*नाम्दुमा रहेको त्रिपूरा क्याम्पसलाई बैतेश्वरको एक मात्र  उच्च अध्यनको केन्द्र बनाईने छ।जहाँ शिक्षा, मानबिकी र ब्यवस्थापनको पढाइ हुने ब्यवस्था मिलाईने छ।

*अटोमोवाइल,मोटर साईकल मर्मत , हाउस वाईरिङ, प्लम्बिङ, सिकर्मी, डकर्मी, बिउटिसियन आदिको अल्पकालिन तालिम पनि शैक्षिक सस्थाले दिने गरि ब्यवस्था मिलाइने छ।

* शिक्षाको गुणस्तर सुधार गर्न शिक्षकलाई आवश्यक तालिम दिइने छ।हरेक विद्यालयमा इ- हाजिरीको ब्यवस्था गरिने छ।सि. सि. क्यामेराको नेटवर्क मार्फत सुक्ष्म निगरानी प्रणाली बिकास गरि मुल्यांकन गरिने छ।

*विद्यार्थीको उपलब्धि सुधारमा अभिभावकलाई पनि जिम्मेवार बनाईने छ।

*पालिका मध्येबाट हरेक  बर्ष उत्कृष्ट बिध्यालय,उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी ,उत्कृष्ट  ब्यवस्थापन समिती र उत्कृष्ट  अभिभावकलाई पुरस्कार दिइने छ। पुरस्कार राशी आकर्षक  हुने छ।

*समय समयमा स्रोत केन्द्र मार्फत बिज्ञसग शिक्षा,शिक्षण पद्धति र बाल- मनोविज्ञानका बारेमा बिचार बिमर्श   गोष्टि आयोजना गरिने छ।

*शिक्षालाई अङ्क र प्रतिशत सगसगै जीवन र ब्यबहारिकतासग मापन गर्ने प्रणालीको बिकास गरिनेछ।

*बैतेश्वरको परिवेश  सुहाउदो स्थानीय पाठ्यक्रम निर्माण गरि पठनपाठन गरिने छ।

# स्वास्थ्य र सरसफाइ –

स्वास्थ्य नै धन हो भन्ने कुरालाई आत्मासाथ गर्दै स्वास्थ्यका कार्यक्रम संचालन गरिने छ।

*गाउँ पालिका भित्र बिरामीले माग गरेको एक घण्टा  भित्र एम्बुलेन्स सेवा उपलब्ध  गराईने छ।एम्बुलेन्स सेवा  न्यून शुल्कमा उपलब्ध  हुने छ।

*काब्रे तथा बुस्तिमा संचालित हस्पिटलको सेवालाई गुणस्तरीय  बनाउन आवश्यक सहयोग गरिने छ।

*स्थानिय स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकिलाई थप प्रभावकारी सेवा प्रदान गरिने छ।स्वास्थ चौकी तथा उप स्वास्थ्य  चौकिमा इ- हाजिरको ब्यवस्था गरिने छ।गाउँ पालिका भित्रका सबै स्वास्थ्य निकायलाई सि. सि. क्यामेराबाट निगरानी गरिने छ।

*स्वास्थ बिमा कार्यक्रमबाट सबै नागरिकलाई स्वास्थ्य सेवा प्रदान गरिने छ। कमजोर बर्गको बिमा शुल्क पालिकाले बेहोर्ने नीति लिइने छ।

*साच्चिकै गरिव र निमुखालाई ठूलो खालको उपचार गर्नु परेमा स्वास्थ बिमाले अपुग भएमा सहयोग गर्ने नीति बनाईछ।  

*प्रसुती सेवा, खोप कार्यक्रम आदिलाई थप प्रभावकारी बनाइने छ।

*स्वयंसेबिकाको सेवालाई एथोचित सम्मान  गरिने छ।

*सामुदायिक स्वास्थ कार्यक्रमलाई प्रभावकारी बनाईने छ।

* वातावरण सफा राख्न प्लास्टिकको प्रयोग कम गर्ने नीति अपाईने छ।

* विद्यालय एवं संघसंगठनको बार्षिक दिवसमा बोट्बिरुवा रोप्ने अभियान चलाईने छ।

*घर घरमा सौचालय हुनै पर्ने बाद्यात्मक अवस्था  सिर्जना गरिने छ।सौचालय नबनाउने घरलाई पालिकाबाट प्रदान गरिने सेवा सुबिधा रोक्का गर्न सकिने नीति बनाईने छ।

# सडक –

सडक नै बिकासको मेरुदण्ड हो भन्ने नारालाई ब्यबहारिक प्रयोगमा ल्याइने छ।

*बैतेश्वर रिङ रोड्लाई बारै महिना चल्ने गरि स्तरोन्नति गरिने छ। ढलान/ पिच कार्यलाई क्रमिक रुपमा अगाडि बढाउन प्रदेश तथा केन्द्रिय  सरकारलाई अनुरोध  गरिने छ।

*पालिका भित्रका शाखा सडक स्तरोन्नति गरिने छ।

* आवश्यकता र औचित्यका आधारमा मात्र थप सडक बिस्तार गरिने छ।

*सडक निर्माणबाट रोजगारिको सिर्जना गरिने छ।

*अत्यावश्यक बाहेकमा सडक निर्माणमा डोजर प्रयोग गरिने छैन।

*सडक निर्माण गर्दा खेतीयोग्य जमिन बचाउने नीति लिईने छ।

*सडकका दायाँबायाँ बस्ती बिकासका कार्यक्रम बनाईने छ।

# पिउने पानी र सिंचाइ –

हरेक घर/ टोलमा पिउने पानी पुर्याउने हिसाबले कार्यक्रम संचालन गरिने छ।

*घर घरमा धारा भन्ने अभियान  राखिने छ । कम्तिमा 3 मिनेट भन्दा बढी हिड्नु नपर्ने गरि धारा बितरण गरिने छ।

*धाराको पानीबाट करेसा तरकारी खेती प्रबर्द्धन गर्न प्रोत्साहित गरिने छ।

*सिंचाइको अभावमा वारि तथा खेत बाझो नहुने गरि नीति बनाईने छ।

*कुलो, लिफ्ट सिन्चाई तथा आकासे पानी सङकलनका ठूलाठूला पोखरी  निर्माण  गरिने छ।पोखरीमा माछा पालन कार्यक्रम राखी आय वृद्धिमा जोड दिइने छ।

*ग्रामीण सहरीकरण र बस्ती बिकास –

वस्ती बिकास र सहरीकरणको माध्यमबाट आर्थिक वृद्धिदर उच्च बनाउन सकिन्छ। जनतालाई गुणस्तरीय  आधारभूत सेवा एकै ठाउँबाट दिन सकिने हुनाले बस्ती बिकास र ग्रामीण सहरीकरणलाई प्राथमिकतामा राखिने छ।

• · हरेक माद्यामिक बिद्यालय,वडा कार्यालय र गाउँ  पालिकाको केन्द्र तथा अन्य उपयुक्त स्थानमा नयाँ  एकीकृत बस्ती निर्माणका लागि गुरु योजना बनाई जग्गा प्राप्तिको कार्यक्रम ल्याईने छ।

• · पातलो बस्तिमा पूर्वाधार निर्माण  भन्दा बस्ती नै खरिद गरि एकीकृत बस्तिमा स्थानान्तरण  गर्ने कार्यक्रम अगाडी  वढाइने छ।

• · एकीकृत बस्तिमा सम्पूर्ण  आधारभूत सुबिधा पुर्याइने छ।

• · एकीकृत बस्ती निर्माणवाट ठूलो मात्रामा रोजगारी सिर्जना गरिने छ।

• · बैतेश्वर रिङरोड, लामोसाघु जिरी सडक तथा मुख्य शाखा सडकमा मात्र घर बनाउन पाईने नीति बनाईने छ।

• · घर बनाउदा वडा कार्यालयको अनुमति अनिबार्य रुपमा लिनु पर्ने ब्यवस्था गरिने छ।

• · बस्ती निर्माण गर्दा सकेसम्म  एउटै डिजाइनमा हुने ब्यवस्था मिलाईने छ।इन्जिनियरिङ सेवा निशुल्क हुने छ।

• · बस्ती निर्माणलाई सभ्यता र बिकासको परिचायकको रुपमा प्रतिबिम्बित गरिने छ।

# संचार विकास-

एकाईसौ शताब्दी सुहाउदो संचार बिकास गर्ने नीति लिइने छ।

• · परम्परा हुलाक सेवालाई आधुनिक हुलाक सेवालाई पार्सल र कुरियर सेवा प्रदान गर्ने  जिम्मेवारि  दिइने छ।

• · गाउँ पालिकाका मुख्य मुख्य  ठाँउमा फ्री वाईफाई जोन निर्माणको नीति लिइने छ।

• · ईन्टरनेट सेवालाई गाउँ गाउँ सम्म पुर्याउन पहल गरिने छ।

• · हरेक बिध्यालयमा गुणस्तरीय ईन्टरनेट सेवा पुर्याइने छ।

# पर्यटन बिकास-

पर्यटनलाई आय आर्जन र रोजगारको माध्यम बनाईने नीति लिइएको छ।

• · ग्रामीण पर्यटन र होम स्टेको बिकास गरिने छ।

• · क्षेत्रपाको जिरेल बस्ती, काब्रे र खावा डाडामा ग्रामीण एवं होम स्टे पर्यटनको बिकास गरिने छ।

• · हनुमन्ते डाडा, कैलेश्वर तथा बैतेश्वर महादेवमा धार्मिक पर्यटन बिकास गरिने छ।

• · तामाकोसी नदिमा साहसिक  जलयात्रा,हनुमन्ते तथा देउराली डाडाबाट प्यारा ग्लाईडिङको सम्भाब्यता बारे लगानी कर्तासग घनिभूत छलफल गरि कार्यक्रम बनाईने छ।

• · नाम्दु लामागाउ- घोरे ढुङा झोलुङ्गे पुल निर्माण गरि बन्जी जम्पको सहासिक पर्यटन बिकास गर्न आवश्यक लगानी गर्न  वातावरण मिलाईने छ।

• · तारे भिरमा रक क्लाईमिङ पर्यटन  बिकास गरिने छ।

# सहकारी  तथा बचत कार्यक्रम –

भबिस्यको लागी बचत भन्ने कार्यक्रम  संचालन गरिने छ।बैक तथा सहकारीमा रकम बचतको अभियान संचालन गरिने छ।बचतलाई  लगानीमा प्रोत्साहित गरिने छ।

• · एक घर एक बचत खाताको अवधारणा लिइने छ।बैंक वा सहकारीलाई निशुल्क खाता खोलिदिन अनुरोध गरिने छ।

• · सकेसम्म  स्थानीय बचत स्थानिय क्षेत्रमा नै लगानीको नीति लिन सरोकारवालासग अनुरोध  गरिने छ।

• · कृषि सहकारीलाई व्यावसायिक कृषिको बिकास र कृषिको बजारीकरणमा प्रोत्साहन गरिने छ।

• · सहकारीलाई बचतका साथसाथै उत्पादन ,रोजगार र उदध्मशीलता बिकासमा प्रोत्साहित गरिने छ।

# बसाइँसराइ नियन्त्रण कार्यक्रम –

शिक्षा, स्वास्थ्य ,रोजगारीको अभाव नै बसाइँसराइका कारक तत्व  रहेछ्न।उल्लेखित कुराको सुधार हुनासाथ  मानिस आफ्नो गाउँ ठाँउ छोडदैन भन्ने ठ्म्याई छ। मानिस गुणस्तरीय जीवनको खोजी  गर्न देश बिदेश  भौतारिएको छ। बसाइँसराइ रोक्न पालिकाले निम्न नीति लिने छ।

• · अरु पालिका वा जिल्लाबाट बसाइँसराइ गरि आउनेलाई घर निर्माणको लागि एक पटकपटकलाई दुई लाख सम्म अनुदान दिइने नीति बनाईने छ।निजलाई 10 बर्ष सम्म बसाई सरेर जाने अनुमती दिइने छैन।

• · बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य र रोजगारिका कार्यक्रमलाई प्रभावकारी बनाईने छ।

# अन्य बिबिध –

• ·  बैतेश्वर पालिका भित्र हुने विद्युत गड्बडिको समस्या निराकरण  गरिने छ।यसका लागि विद्युत प्राधिकरणमा आवश्यक समन्वय गरिने छ।

• · सुशासन र पार्दर्शिताका लागि हरेक 6/ 6 महिनामा पालिकाले सम्पादन गरेका काम  पत्रकार सम्मेलन गरि सार्वजनिक गरिने छ।

• · बिकास गतिलाई जनचाहना अनुसार बनाउन पालिका भित्रका,क्याम्प प्रमुख,प्राध्यापक , प्रधानाद्यापक, बुद्धिजीवी , पत्रकार  आदिको एक सल्लाहकार समिती गठन गरिने छ।

• · बैतेश्वर रिङ रोडमा नियमित यातायात सेवा संचालन गरिने छ।

• · बर्षमा एक पटक पालिका स्तरिय खेलकुद आयोजना गरिने नीति बनाईने छ।

• · बेरुजुलाई सून्यमा झारिने छ।

• · ब्यक्ति , पार्टी , जात , धर्म नहेरि ठेक्का पट्टा दिइने छ।यो पुरै पारदर्शी हुने छ।

• · इ- टेन्डरक्क ब्यवस्था गरिने छ।

• · पालिका अध्यक्ष र वडा अध्यक्षहरुले समेत इ- हाजिरी गर्ने ब्यवस्था मिलाइने छ।

• · पालिका कार्यालयहरु सि. सि. क्यामेराको निगरानिमा हुने छ्न।

• · हरेक वडा कार्यालय आसपास पुलिस चौकी रहने ब्यवस्थाका लागि नेपाल सरकारसग पहल गरिने छ।

• · गरिबी निवारण र गुणस्तरीय जीवन निर्माण मुख्य मुद्दा  हुने छ्न।

• · जातिय बिभेदलाई गाउँ गाउँबाट उन्मुलनको लागि सचेतना कार्यक्रम चलाइने छ।यस्तो कुरिती बिरुद्ध अभियान चलाउन बिद्यालयका शिक्षकलाई जिम्मेवार बनाईने छ।

अन्तमा, गाउँ पालिकाको स्थानीय निर्वाचनमा उल्लेखित काम गर्न सकिन्छ।तपाईं प्रतिस्पर्धा गर्ने उमेदवारलाई यसबारे प्रश्न  गर्नु होला।भाषण, आश्वासन र खानपिनमा बरालिएर मतदान नगर्न अनुरोध  छ।

(एउटा फलदायी प्रयोजनका लागि प्रेशित।) 

याे पढ्न छुटाउनु भयाे की ?

गलत कर्म !!

Friendship Khabar

यसरी अनेरास्ववियू विद्यार्थी सम्म पुग्नेछ

Friendship Khabar

अब त बिहे गर्नुपर्छ यार !

Friendship Khabar