उमेर १८ वर्षकी नाम र थर परिवर्तन गरिएको शमीरा । उनी कक्षा ११ मा अध्यनरत छात्रा हुन् । हिजो-अस्ति झैं आज पनि शमीरा स्कुलबाट घर फर्किन्छिन् । तर आज भने उनलाई खाजा खाए पछि, एक छिन आराम गर्दै मोबाइल चलाइ रहदा, पेट दुख्दै आउँछ र अलिकति श्वास छिटो-छिटो फेर्नुपर्ने जस्तो अनुभूति हुन्छ। अलि बढि पेट दुख्न थालेपछि उनले आमालाई बोलाउँछिन् । उनकी आमाले उनलाई दुखेको ठाउँमा मसारि तेल लगाइदिन्छिन् । एकछिन त उनले आराम महशुस गर्दछिन् । तर केहि छिनमा पिडा/दुखाई झन् बढेर आउँदछ । श्वास फेर्न गाह्रो पनि हुन्छ | त्यसपछि झन् उनी रुने र कराउने गर्दछिन्।
परिवारका सदस्यहरुले शमीराको वरिपरि घेर्न थाल्दछन् । उनलाई राहत दिलाउने वा सजिलो बनाउने कोसिसमा घरपरिवारबाट हातखुट्टा मालिस गर्ने, पेट सुम्सुम्याउँने,पानी छम्कने,पुजापाठ गर्ने जस्ता गतिविधिहरु बढ्न थाल्दछन्। शमीराको पिडा/दुखाई झन् बढ्दै जान्छ। आमाले आत्तिएर शहरमा पढ्न बसेका अरु छोरा र छोरी (शमीराका दाई र दिदि) लाई फोन गरि उनको समस्या र उपचारको लागि के गर्ने भन्ने बारेमा सल्लाह गर्दछिन् । छोराछोरीको सल्लाह बमोजिम, आमाले शमीरालाई जिल्ला अस्पतालमा दुईघण्टाको लामो यात्रा पश्चात आकस्मिक (इमर्जेन्सी) कक्षमा पुर्याउछिन्, जहाँ उनलाई भर्ना गरिन्छ । त्यहाँ डाक्टरको सल्लाह अनुसार शमीराको सबै आवस्यक मेडिकल जाँच वा परिक्षण गरिन्छ । उक्त परिक्षणबाट शमीरालाई कुनैपनि यस्ता लक्ष्यणहरु देखापर्ने शाररिक समस्या वा कुनैपनि शारीरिक रोग नभएको पुष्टि हुन्छ। यति बेलासम्म उनका दिदि र दाई पनि शहरबाट आइपुग्दछन् ।
शमीराको पेटमा भएको पिडा/दुखाई भने अझै पनि कम हुदैन । यो देखेर दिदि र दाई आत्तिन्छन्, अनि दिदिले शमीरालाई काखमा राखेर शरिर र पेटमा मसारिदिन्छिन्। शमीरा पिडा/दुखाईमा झन् छटपटाइ रहन्छिन्। कुनैपनि शारीरिक रोग नभएकोले उनलाई भएको समस्या अब कुनै देवि-देवता वा पिचास लागेको पो हो भनि अविभावकले अनुमान लगाउन थाल्दछन् । तर जिल्ला अस्पतालका डाक्टरले भने उनलाई मनोसामाजिक समस्या भएको हुनसक्ने र परामर्श गराउन सुझाबहरु दिन्छन् | उपचारका लागि अविभावक जे गर्न पनि तयार हुन्छन् । शमीराका आमा र अन्य आफन्तहरु धामीझाँक्री लगाउन यताउता सम्पर्क गर्न थाल्छन् तर उनका दिदि र दाईले भने डाक्टरको सल्लाहा अनुसार मनोसामाजिक परामर्श लिने निर्णय गर्छन् |
भोलि पल्ट बिहान अस्पतालका कर्मचारीहरुले शमीरालाई आमा, दिदि र दाईको साथमा मनोसामाजिक परामर्शको लागि ओ.पि.डिमा चिकित्सा मनोबिद (Clinical Psychologist) सँग भेट्न पठाइदिन्छन् । यस क्रममा चिकित्सा मनोबिदले उनी र उनको परिवारसँग अन्तरवार्ता गरि उनको बारेमा बढी भन्दा बढी जानकारि लिने कोशिस गर्छन् । उनले मनोवैज्ञनिक परिक्षणहरु गर्छन्। जसबाट उनले तनाव सम्बन्धि अन्य लक्षणहरु (जस्तैः मुटुको धड्कन बढ्ने, छाती भारी हुने, मनमा अनावश्यक डर-चिन्ता आईरहने, झनक्क रिस आउने, धेरैजसो घरमा आमासँग गनगन गर्ने, धेरै रुने, निन्द्रा नलाग्ने, ध्यान केन्द्रित गर्न नसक्ने, पढाईमा पहिले भन्दा धेरै नै गिरावट आएको, विद्यालय जान मन नलाग्ने,आदि) भएको झन्डै ६-७ महिना नै कटिसकिसकेको पत्ता लगाउनुको साथै तनाबको व्यवस्थापन गर्ने सकारात्मक तरिकाहरुको ज्ञानमा कमी र सुधार गर्नुपर्ने आवस्यकता बारेमा थाहा पाउछन् |
यसै वमोजिम उनले शमीरालाई पिडा/दुखाईबाट ध्यान बिकेन्द्रिकरण गर्ने अभ्यासहरु सिकाउदै जान्छन्। शमीरा र उनका परिवारलाई आरामदायी अभ्यासहरु तथा लामो र गहिरो श्वास फेर्ने अभ्यास गराउदै, यी अभ्यासहरु उनीहरु आफैले पनि गर्न सक्ने गरि सिकाउदै जान्छन् । शमीरा र उनका परिवारलाई शमीराको समस्याबारे मनोशिक्षा दिन्छन् र यसमा ज्यान जाने कुनै खतरा नभएको वा शरीरमा अन्य कुनै घातक असर नपर्ने भएकोले नआत्तिकन सिकाईएका कुराहरु बारम्बार व्यवहारमा उतार्न सुझावहरु दिदै जान्छन् ।
यस्तो अवस्थामा परिवारले अपनाउनु पर्ने उचित व्यवहार तथा सावधानिहरु बारे बताउछन् । शमीरा र परिवारका सदस्यहरुको समेत तनाव व्यवस्थापन गर्न वा समस्या समाधान गर्न सिकाउछन् | यसपछि विस्तारै शमीराको पेटमा भएको पिडा/दुखाईमा दिन-प्रतिदिन कमी हुदै जान्छ र शमीरालाई डिस्चार्ज गरि घरमा पठाएर फेरि एक हप्ता पछि (फलोअपको लागि) भेट्ने गरिे अस्पतालबाट डिस्चार्ज गरिन्छ ।
शमीरामा देखा परेको यो समस्या एक प्रकारको सामान्य मानसिक समस्या हो। उनमा देखा परेका यस्ता समस्याका लक्षणहरु चिन्ता विकार (Anxiety Disorder) सँग मेल खाएका छन्। जब बिरामीलाई भावनात्मक पिडा हुने गर्दछ, यसको असर शरीरमा पनि देखिन्छ जस्तैःपेटमा,टाउकोमा दुखाई,मुटुको धड्कन बढ्ने,श्वास बढ्ने,आदि। जसलाई कम गर्न अचेतन मनले कोसिस गरिरहेको हुन्छ।
हामीले यस समस्याको बेलैमा पहिचान र उपचार गर्न सुरु गर्यो भने राम्रोसंग सन्चो हुन्छ | विभिन्न वैज्ञानिक अध्ययनहरु अनुसार यस्ता प्रकारका मनसँग सम्बन्धित समस्याहरु सबै उमेर समुहका मानिसहरुमा आउन सक्छन् | तर किशोरकिशोरिहरुमा प्रायः बढी नै देखा पर्दछ किनकि यो उमेरमा उनीहरुको द्रुतगतिमा शारीरिक र भावनात्मक परिवर्तन हुनुका साथै तनाव व्यास्थापन गर्ने उपायाहरुका बारेमा जानकारी कम हुन सक्छ।
यसै गरि यस्ता समस्याका कारणहरु भने विभिन्न हुने गर्दछन । जस्तैः
- वंशाणुगत,शरिरमा रासायनिक गडबडी
- व्यक्तित्व विकाशमा समस्या,समस्यासँग जुध्ने सीपहरु विकास गर्ने अवसरको कमि
- विभिन्न प्रकारका आघातहरु जस्तै:दुर्घटना, प्रियजनको मृत्यु, बिछोड
- घरपरिवारको वातावरण नराम्रो जस्तै: लागूपदार्थको सेवन, कलह,झैझगडा
- धेरै तनाव जस्तै: पढाइमा कठिनाइ, परिक्षामा फेल
- साथीभाई वा अन्य व्यक्तिबाट हुने हेपाई,अपहेलना, दुर्व्यवहार
- अभिभावकको राम्रो मार्गदर्शनको अभाव,सहयोगी हातहरूको कमी
समाधानका उपयाहरु: माथि चिकित्सा मनोबिदले ओ.पि.डिमा गरे जस्तै-
- समस्याहरुको कारण बेलैमा पत्ता लागाउनु र मनोवैज्ञानिक उपचार, मनोविमर्श प्रधान गर्नु
- घरपरिवारका सदस्यहरुलाई रोगको बारेमा बुझाउनु, सम्झाउनु,उपचारको लागि बोलाईएको समयमा अस्पतालमा फलोअपको लागि उपस्थित हुनु
- आरामदायी अभ्यास (प्रोग्रेसिप मसकुलर रिल्याक्सेसन), श्वासप्रस्वासको अभ्यास सिक्नु र दिईएको सल्लाहा बमोजिम लगातार अभ्यास गरिरहनु
- तनाव व्यवस्थापन गर्न उचित र सकारात्मक तरिकाहरु सिकाउनु र यसलाई लगातार रुपमा व्यवहारमा अपनाईरहन प्रोत्साहन तथा सहयोग गर्नु
- अवस्था हेरि(आवस्यकता अनुसार) औषधिको माध्यमबाट पनि उपचार गर्नुपर्ने हुन्छ, यसका लागि मानसिकरोग विशेषज्ञसँग सम्पर्क गर्नु
१. भूपेन्द्र गुरुङ,Clinical Psychologist, CAPMH Unit (KCH), पशुपति चउलागाई मेमोरियल अस्पताल र सिंगटि अस्पताल दोलखा, सिविन नेपाल
२. नरमदा देवकोटा, Clinical Psychologist, CAPMH Unit, कान्ति बाल अस्पताल काठमाण्डौ, सिविन नेपाल


