१२, माघ
चरिकोट अस्पताल १ दिन मात्र बन्द भए के हुन्छ
चरिकोट अस्पताल बिगतको बर्षमा प्रादेशिक अस्पतालको रुपमा परिणत भएका हो । यो अस्पताल जिल्लाको रेफरल अस्पताल हो । जिल्लाका अरु अस्पताहरुमा हुन नसकेका उपचार यो अस्पतालमा हुने गरेको पाईन्छ । अहिले कोभिड– १९ फैलिरहेको अबस्थामा यस अस्पतालले कोभिड अस्पतालको रुपमा बिशेष सेवाहरु दिईरहेको छ साथै काेभिड बिरुद्दको खोप सेवा पनि उपल्बध गरउदै आएको छ ।
प्रादेशिक अस्पतालको रुपमा स्तरोन्नती गर्ने निर्णय भएको भएतापनि प्रदेशले सरकारले यस्मा धेरै चासो नदिदा भीमेश्वर नगरपालिकाले यसलाई ब्यवथापन गरेकाे छ । नगरपालिकाले मुख्यरुपमा कर्मचारीहरुको तलब ब्यवस्थापन र अस्पतालको ब्यवस्थापनमा उल्लेखनिय भुमिका खेलेको छ। अस्पताल ब्यवस्थापनमा अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष श्री भरत बहादुर के.सी र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री मान बहादुर खड्काको अतुलनिय योगदान रहेका छ। चरिकोट अस्पतालका प्रमुख डा. बिनोद दंगालले स्थानिय सरकारको रुपमा भीमेश्वर नगरपालिकालाई बिशेष धन्यवाद दिनु भएको छ ।
यो अस्पताल बन्द हुन्छ कि भन्ने आशंका विभिन्न सामाजिक संञ्जालहरुमा आइरहदा हामीले तयार पारेको यो रिर्पाट हेरौं, यो रिपोर्ट तयार पार्दा हामीले अस्पतालका केही कर्मचारीहरु र सेवा लिने आउने बिरामीहरु लाई सोधेका छौं । यो अस्पताल एक दिन मात्र बन्द भएमा के के सेवाहरु लाई असर गर्छ ।
१. कोभिड–१९ ब्यवस्थापन र पि.सि.आर. सेवा बन्द हुन्छ ।
जिल्लामै काभिड–१९ ब्यवस्थापन अस्पताल रहेकोले कोभिड–१९ का बिरामाीहरुको भर्ना अनि पि.सि.आर. सेवा बन्द हुन्छ । जस्ले गर्दा ति गरिब अनि निमुखा बिरामीहरुलाई धेरै असर पर्छ । हालसम्म यस अस्पतालले ७५०० वटा पि.सि.आस. सेवा प्रदान गरेकाे छ र यो सेवा अहिले पनि निरन्तर छ । चरिकाेट अस्पतालले कोरोना संक्रमित बिरामी बढेको खण्डमा ५० वटा आइसोलेसन बेड ब्यवस्थापन गरि उपचार सेवा दिन सक्दछ ।
२. एच.आई.भी, MDR, क्षयरोग र कुष्ठरोग सेवा बन्द हुन्छ ।
एच.आई.भी, MDR क्षयरोग र कुष्ठरोग सेवा सुरु भएको छ जिल्लामा अरुठाउँमा यो सेवा नहुदा र अन्य जिल्लाका बिरामीले पनि यो सेवा लिएका छन । एच.आई.भीका फोकल पर्सन सुनिल दाहालका अनुसार ३० जना भन्दा बढिले यो सेवा लिने गरिका छन् ।
३. एक द्धार संकट ब्यवस्थापन केन्द्र बन्द हुन्छ ।
२०७२ सालको भुकम्प पछि जिल्लामा महिला हिंसा बढेपछि यो कार्यक्रम चरिकोट अस्पतालमा सुरु भएका हो , अहिले सम्म १००० जना भन्दा बढिले यो सेवा लिएका छन् र यो सेवा धेरै नै सम्बेन्दशिल रहेकोले यो सेवाले जिल्लाका जोखिममा रहेका समुदायका महिला तथा पुरुषलाई समेत समेटेको कुरा यस केन्द्रकी फोकल पर्सन सन्जिता कायस्थ बताउँछिन ।
४. पोस्टमोर्टम वा अटाेप्सि सेवा बन्द हुन्छ ।
यस अस्पतालले सुरुदेखि हाल सम्म १००० भन्दा बढि पोस्टमोटम गरि बिबिध कारणले मृन्यु भएका शबहरुको ब्यवस्थापन गरेको छ । पोस्टमोर्टम गर्नै पर्ने मुख्य केसहरुका आत्मा हत्या विसाधीहरुको सेवन, कुटपिट आदी पर्दछन् । यो सेवा बन्द भएमा काठमाडौं लान पर्ने बाध्यता हुन्छ ।
५. मानोसामाजिक परामर्स र मानसिक स्वास्थय सेवा बन्द हुन्छ ।
यस अस्पतालले २०७२ सालको भुकक्प पछि मानसिक बिरामीहरु बढेकाले मनोसामाजिक परामर्स सेवा सुरु गरको थियो र उक्त सेवा वर्तमान समय सम्म पनि निरन्तर चलिरहेकै छ हाल सम्म ५००० भन्दा बढि सेवाग्राहीहरुले याे सेवा लिएका छन् । याे सेवाका फोकल पर्सन रहेकी सुनिता जिरेलका अुनसार दैनिक १०–१५ ले सेवा लिइरहेका छन् र याे सेवा नभएमा मनसिक बिरामीहरु काठमाडौंको पाटन अस्पताल वा अन्य मानसिक अस्पतालमा जानुपर्ने बाध्यता हुन्छ ।
६. कोभिडकाे खोप सेवा बन्द हुन्छ ।
जिल्लनमा कोभिड–१९ को संक्रमण बढे संगै चरिकाट अस्पतालले हरेक शुक्रबार जिल्ला स्वास्थ कार्यलयको अनुराेधमा यो सेवा सञ्चालनमा ल्याएको हो । हरेक शुक्रबार खोप लगाउने व्यक्तिहरु करिब ५०० भन्दा बढि हुन्छन । यो सेवाले जिल्लाका काेभिड–१९ बिरुध खोपको कभरेज बढाएको छ।

७. बालबच्चाहरुको खोप सेवा बन्द हुन्छ ।
नेपाल सरकारको राष्ट्रिय खोप कार्यक्रम यो अस्पतालले सुरुवात देखिनै चलाउदै आएको छ । यो खोप सेवाले बच्चाहरुलाई लुलो लंगडो हुन बाट जोगाउने र बिभिन्न संक्रमणबाट जागाउने गर्दछ । हरेक सोमबार २०० भन्दा बढि बच्चाहरुले यो सेवा पाएको कुरा खोप बिशेषज्ञ प्रतिमा भट्टाराई बताउनु हुन्छ ।
८. आमासुरक्षा कार्यक्रम अन्तर्गत CEONC सेवा बन्द हुन्छ ।
जिल्लाकै आमा सुरक्षाको रेफरल अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालले मासिक १०० का हाराहारीमा सामान्य प्रसुति सेवा दिदै आएको छ । यहाँ सेवा लिन आउनेहरु गरिब र निमुखा बर्ग भएको कुरा यस कार्यक्रमकी फोकल पर्सन मनिसा बस्नेत बताउनु हुन्छ । सेवा निशुल्क रहेको र जटिल प्रसुति पनि गराइने हुनाले यस अस्पतालमा धेरै महिलाहरु आउने गर्दछन् ।
९. सुरक्षित गर्वपतन सेवा बन्द हुन्छ ।
जिल्लाको एउटै अस्पताल, चरिकोट अस्पताल जसमा दोस्रो त्रैमासिक गर्वपतन सेवा उपल्बध छ । दैनिक ४–५ जना महिलाहरुले यो सेवा लिने गरेको कुरा नर्सिङ इन्र्चाज मनिसा बस्नेत बताउछिन् । यो सेवा बन्द भएमा धेरै महिलाहरु काठमाण्डाै जानुपर्ने बाध्यता रहन्छ ।
१०. स्थाई परिवार नियाजन सेवा बन्द हुन्छ ।
जिल्लामा चरिकाट अस्पताल मात्र त्यस्तो अस्पतालहो जस्ले महिला र पुरुषलाई स्थाई बन्धाकरण सेवा दिरहेको छ । यो सेवाले परिवार नियोजनमा ठुलो सहयोग पुर्याको छ । बार्षिक १०० भन्दा बदि मानिहरुले यो सेवा लिइरहेको ओ.टी. नर्स फेसि जिरेल बताउनु हुन्छ ।
११. इलेक्ट्रोनिक मेडिकल रेकर्ड प्रणालि बन्द हुन्छ ।
२०७२ साल देखि नै बिधुतिय प्रमाणलि (Digital Health Record System, EHR)मा सञ्चालित चरिकोट अस्पतालले बिरामीको तथ्याङ्कलाई यस प्रविधि अनुसार व्यस्थापन गरेको छ भने अस्पतालले नेपाल सरकारकाे अबकाे धारणा अनुसार स्वास्थ्य क्षेत्रमा सुचना प्रबिधिकाे प्रयाेग गरी उच्च गुणस्तरकाे स्वास्थ्य सेवा प्रदान गर्ने तथा सहि तथ्यांक राख्नमा उल्लेख्य प्रगति गरेकाे छ । यस प्रणालीले बिरामीलाइ बिभिन्न स्वास्थय सम्बन्धि कागजी रीपाेर्ट बाेक्नु पर्ने झन्झट बाट छुटकारा दीएकाे छ । यो सेवा बन्द भएमा स्वास्थ्य व्यवस्थापन सुचना प्रणाली सहित डाटा ब्यवस्थापन नहुने कुरा यस अस्पतालका सुचना प्रबिधी बिभागका प्रमुख संजित श्रेष्ठ बताउछन् ।

१२. जटिल सल्यक्रिया सेवा बन्द हुन्छ ।
यस अस्पतालले मासिक ५०–६० वटा जटिल शल्यक्रिया गर्दै आएको छ जसमा सिजरियन सेक्सन, हाडजोर्नी शल्यक्रिया, पाठेघरको शल्यक्रिया र अन्य जनरल शल्यक्रियाहरु पर्दछन । यो सेवा बन्द भएमा निम्न बर्गका गरिब असहायहरु जाे काठमाण्डाैका ठुला र महंगा अस्पतालकाे खर्च उठाउन सक्दैदनन उनीहरू यस्ता जटील किसीमका स्वास्थ्य सेवाहरू लीन बाट बन्चीत हुनसक्ने जस्ता कुराहरू अस्पताल प्रमुख डा. बिनोद दंगाल बताउनु हुन्छ ।

१३. निशुल्क डिजिटल एक्सरे सेवा बन्द हुन्छ ।
यस अस्पतालबाट दैनिक ३०–४० वटा डिजिटल एक्सरे सेवा निशुल्क रुपमा प्रदान हुन्छ । यो सेवा बन्द भएमा बिरामीहरु प्राइभेट अस्पतालमा गई भारी शुल्क तिर्न बाध्य हुनु पर्ने कुरा एक्सरे डिपार्टमेन्ट प्रमुख काशीराज ओली बताउँछन् ।

१४. भिडियो एक्सरे र मुटुको इको सेवा बन्द हुन्छ ।
दैनिक ३०–४० वटा निशुल्क भिडियो एक्सरे र मुटुका इको गर्ने चरिकाेट अस्पतालले गर्भवती र मुटुका बिरामीहरुलाई प्राथमिकता दिएको छ । भिडियो एक्सरे सेवामा तालिम प्राप्त डाक्टर बिनोद दंगालले यो सेवाले धेरै रोगहरु पत्ता लागउन सहायोग पुगेको कुरा बताउनु भएको छ ।
१५. एच.डि.यु र बिरामी भर्ना सेवा
यस अस्पतालमा २०७६ साल देखी नै भीमेश्वर नगरपालिका को सहयोगमा ५ बेडको एच.डि.यु सेवा सञ्चालनमा आएको छ र यस विभागमा दैनिक ४–५ जना जटिल बिरामीहरुले सेवा पाईरहेका छन् । दैनिक रुपमा ३० जनाको हाराहारीमा भर्ना हुने यस अस्पतालमा बिशेष गरि दम, न्युमोनिया, टाईफोईट, कोरोना संक्रमित, गर्भवती र हाडजोर्नीका निम्न स्तरका बिरामीहरुले सेवा पाएका छन् ।
चरिकोट अस्पताल एक दिन मात्र पनि बन्द भएमा जिल्लाका अरु अस्पतालमा उपल्बध नहुने माथि उल्लेखित सेवाहरुमा गम्भिर असर पर्नेकुरा अस्पतालका प्रशासनिक व्यक्ति शान्ति प्रसाद न्यौपाने बताउनु हुन्छ । जिल्लाको लगभग ६० प्रतिशत भन्दा बढी बिरामीको भार बोकेको यस अस्पतालले हाल सम्म स्थानिय सरकारको रुपमा रहेको भीमेश्वर नगरपालिकाको सहयोगमा सम्पुर्ण सेवाहरु ब्यवस्थापन गर्दै आएको छ । यस अस्पताललाई अझ बढी व्यवस्थित र प्रभाबकारी बनाउनको लागि छिटो भन्दा छिटो बागमती प्रदेश सरकारले जिम्मेवारी बहन गर्नुपर्ने कुरा अस्पताल प्रमुख डा. बिनोद दंगालले बताउनु भयो ।


