फ्रेण्डसिप खबर
कृषि गृह पृष्ठ

नाम्दुको बाँझो जग्गामा ड्रागन खेती

नाम्दु/लामो समय ठेक्कापट्टा व्यवसाय गर्दै आएका बैतेश्वर गाउँपालिका–६ नाम्दूका मानबहादुर तामाङ आजभोलि बारीमा भेटिन्छन् ।

धेरै वर्ष ठेक्काकै सिलसिलामा सडक, पुल, सिँचाइ कुलो बनाउने साइटमा व्यस्त हुने तामाङलाई तीन वर्षयता आफ्नै बारीमा भेटिन्छ । आफूले गर्दै आएको ठेक्काको काम घटाउँदै खेतीमा रमाउन लागेका तमाङ लामो समय खेती गर्न छाडेको सुक्खा बारीमा ड्रागनखेती सुरु गरेपछि उनलाई त्यही बारीमा भेट्न थालिएको हो ।

पहिलो पटक रहरले १० रोपनीमा सुरु गरेका उनी पहिलो चरणमै हौसिएका छन् । जमिन तयारी, बिरुवा खरिद, पोल निर्माणमा २० लाख खर्चबाट सुरु गरेको खेती अरुलाई पनि प्रेरणा मिल्दै गएको छ । लामो समय निर्माण व्यवसायमा संलग्न तामाङ निर्माण व्यवसायमा ठेकेदारप्रति नजर पनि नराम्रो हुँदै गएको र आत्म सम्मान हुने खेतीमै नयाँ ड्रागनबाट उनले पुन: कृषितिरै लागेको बताउँछन् । पानीको स्रोत नभएर सुक्खा नाम्दूमा रहरमै ड्रागनखेती सुरु गरे ।

उनले ड्रागनको बारेमा सुनेकै भरमा पानी कम चाहिने भएकाले आफ्नो बारीमा सुरु गरेका हुन् । उनले खेती सुरु गरेको तीन वर्ष भयो । यो बीचमा बिरुवा खरिद, जमिन तयारी, घेराबार, पोखरी निर्माण, पोल निर्माण लगायतमा ४५ लाख लगानी गरेका छन् । तीन वर्षअघि रोपेका बिरुवाले अहिले राम्रो उत्पादन दिन थालिसकेको छ । एक वर्षअघि रोपेका नयाँ बिरुवाले पनि उत्पादन सुरु भएको छ । असारदेखि फूल फुल्ने र फल दिने क्रम असोजसम्म हुन्छ ।

अघिल्लो वर्षसम्म सञ्चालन खर्चमात्र धानेको फार्मबाट यस वर्ष कम्तीमा १५ लाखको उत्पादन बजार पठाउने तामाङको अनुमान छ । स्थानीय बजारमा अहिले ड्रागन प्रतिकिलोग्राम चार सय रुपैंयामा बिक्री हुन्छ । स्थानीय फार्ममै खरिद गर्न आउँछन् । फार्मबाटै पनि चार सय रुपैंयामा बिक्री भइरहेको फर्म व्यवस्थापक कमल श्रेष्ठले बताए । नाम्दूको ड्रागन तामाकोसी बजार, जिरी, मैनापोखरी चरिकोटबाटै बिक्री हुन्छ । काठमाडौंमा पनि यसको माग राम्रो भएको उनले बताए ।

नयाँ फल जिल्लामै एकमात्रै भएको र खाँदा स्वादिलो भएकाले बजारको माग धान्न नसकिने उनले बताए । जिल्लामै पहिलो पटक खेती गरेको ड्रागनको आकर्षक बगैंचा बनाएकाले पनि दैनिक उनको फार्ममा आउने आन्तरिक पर्यटक पनि बढ्दै छन् । ‘सुरुवातमा जे होला भन्ने लागेको थियो, जोखिम मोलेरै खेती सुरु गरेका हौं,’ मानबहादुरका छोरा किशोर तामाङले भने, ‘अहिले राम्रै काम सुरु गरेछौं भन्ने पनि लागेको छ, धेरै जना आउँछन्, आम्दानी पनि राम्रै छ ।’

बैतेश्वर गाउँपालिकाका पूर्वउपाध्यक्ष रविचन्द्र आचार्य बाहिर बस्ने छोराछोरी, आफन्तलाई कोसेली पठाउन पनि धेरैलाई सजिलो भएको बताउँछन् । अहिले एउटा मात्रै फार्म छ । एउटा फार्मको खेती देखेर धेरै उत्साहित पनि छन् । अब उस्ता बाँझो जग्गामा यस्तै खेती गर्दा बाँझो जग्गा पनि घट्ने र रोजगारी पनि सिर्जना हुने उनले बताए । खेतीयोग्य जमिन बाँझोमा परिणत हुँदै गएपछि कृषिजन्य उत्पादन पनि घट्दै गएको छ ।

सरकारले व्यावसायिक खेतीमा प्रोत्साहनका कार्यक्रम पनि ल्याउँदै छ । तर प्रभावकारी हुन सकेको छैन । एक पटकको लगानी वर्षौंसम्म निरन्तर आम्दानी हुने, उच्च मूल्य र स्वास्थ्यलाई लाभ हुने र बजारमा पनि राम्रो माग हुने फलफूल खेतीमा किसानको आकर्षण हुनु सुखद् विषय हो । यसमा सरकारी क्षेत्रबाट पनि प्रोत्साहित गरी अरु बाँझो जग्गालाई पनि सदुपयोग गर्दै स्वरोजगार बनाउन उपयुक्त हुन्छ । यसले वैदेशिक रोजगारीलाई समेत घटाउन सक्छ ।

याे पढ्न छुटाउनु भयाे की ?

महिलाको पाठेघर खस्ने रोग सम्बन्धि निःशुल्क शिविर

Friendship Khabar

पशुपति चौलागाई अस्पतालमा मुकड्रिल

Friendship Khabar

नव जनउत्थान साकोषको कुल पुजी १८ करोड

Friendship Khabar