चरिकोट/ठेक्का लागेको नयाँ पुल १० वर्षदेखि अलपत्र भएपछि तामाकोसी र सुनकोसीकाे पुरानो पुल मर्मत हुने भएको छ । पुरानो पुल जीर्ण भएपछि नयाँ पुलकाे ठेक्का लागेको थियाे । दुवै पुलकाे काम अहिले अलपत्र छ ।
दोलखा जिल्लालाई तराई र राजधानीसँग जोड्ने लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत पर्ने तामाकोशी नदी र सुनकोसी नदीमा निर्माणाधीन मोटरेबल पुल १० वर्षदेखि अलपत्र रहेको हो।

विहीबार भाैतिक पूर्वाधार तथा यातायात मन्त्री माधवप्रसाद चाैलागाई, सचिव केशवकुमार शर्मा, प्रवक्ता रामहरि पाेखरेल, सडक विभागका महानिर्देशक विजय जैसी, पुल महाशाखा डिभिजन प्रमुख लगायतले स्थलगत निरीक्षण गरेका छन् । निरीक्षणका क्रममा भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता पाेखरेलले नयाँ ठेक्काको काम अलपत्र भएपछि अहिले पुरानो दुवै पुल मर्मतको लागि पुल महाशाखामार्फत ठेक्का आव्हान भइसकेको जानकारी दिए । नियमित मर्मत संहार भइरहने पुरानो ट्रष्ट पुल नयाँ ठेक्का लागेसँगै मर्मत हुन छाडेको छ । मर्मत ठेक्का लागि सकेकोले चाँडै काम सुरू हुने उनले बताए ।

`नयाँ ठेक्काको अलपत्र भएपछि ठेकेदारलाई ताकेता गर्ने काम भइरहेको छ´ उनले भने `पुरानो पुल पनि जीर्ण भएर समस्या भए दाेलखालाई राजधानी र तराईसँग जाेड्ने सम्पर्क विच्छेद हुन सक्ने भएकोले मर्मत गर्न लागेको हाे । ´
भीमेश्वर नगरपालिका र बैतेश्वर गाउँपालिकाको सिमानामा रहेको तामाकोसी पुल र खाडीचाैरकने सुनकोसी पुल ४५ वर्षअघि निर्माण भएको हाे । यी पुल जीर्ण भएपछि २०७२ सालको भूकम्पपछि २०७३ मा नयाँ पुल निर्माण गर्ने भनेर नीलगिरि–नेसनल जेभी कम्पनीले ठेक्का सम्झौता गरेको थियो । २ वर्षभित्र निर्माणको काम सम्पन्न गरिसक्ने भनेर कम्पनीले सम्झौता गरेर काम सुरुवात पनि गरेको थियो तर निर्माण कार्य सुरु गरेपछि अहिले ठेकेदार बेपत्ता छ। सदरमुकाम चरीकोटलाई तराईसँग जोड्ने तामाकोशी पुल अलपत्र परेपछि स्थानीयले पटकपटक गुनासो गर्दै आएका छन्। पुरानो पुल जीर्ण बनेपछि नयाँ पुल निर्माणका लागि तामाकोशीका घर तथा टहरा हटाएको थियो।

‘नयाँ पुलको जग उठाएर अलपत्र पारेर राखेको छ, पुरानो पुलबाट हेब्बी गाडीहरू आवातजावत गर्दा कुन दिन ठूलो जोखिममा पर्छ। यसमा कसैको ध्यान गएको छैन। हामीले धेरैलाई सुनायाैं राष्ट्रिय सभा सांसद घनश्याम रिजालले संसदमा समेत पटकपटक आवाज उठाउँदा समेत काम नभएको बताए ।तामाकोसीमा निर्माणाधीन पुलको माथि डन्डीमा खिया लागेको छ, फलामको खिया क्यान्सर जस्तै हो माथि खिया लागेपछि जरासम्म पुग्छ।

तामाकोशीको पुरानो पुल जीर्ण भएपछि ७५ मिटर लामो दुई लेनमा बन्ने आरसीसी आर्क ब्रिज डिजाइनका १० करोड लागतको नयाँ पुल निर्माण गर्ने भनेर जिम्मा लिएका निर्माण कम्पनीले काम नगरी अलपत्र अवस्थामा छाडिदिएको छ। पुलको दुवैतर्फ जिप उठाइएको छ । नयाँ पुल निर्माण हुने भएपछि तामाकोशीका पुरानो पुल मर्मत नभएर खिया लागेर जीर्ण बन्दै गएको छ। भारवाहक सवारीसाधनहरू आवातजावत गर्दा कुनै पनि बेला संरचना भाँचिने अवस्थामा पुगिसकेको छ। ४५ वर्षअघि बनेको ट्रस्ट पुलमा खिया लागेर जीर्ण बनिसकेको छ। यात्रा गर्नेहरू कुनै दुर्घटना हुने हो कि भनेर त्रासकै बीचमा यात्रा गर्न बाध्य छन्।
मन्त्री चाैलागाईले मन्त्रालय र सडक विभागकाे सिङ्गो टिम सहित तामाकोसी र सुनकाेसी पुल सहित १० वर्षदेखि अलपत्र चरिकोट-मुडे सडक र दाेलखाकै किर्नेमा बाढीले क्षतिग्रस्त सडकको स्थलगत निरीक्षण गरेका छन् । अघिल्लो वर्षको बाढीले पुष्पलाल राजमार्गमा पर्ने किर्नेकाे सडक तामाकोसीले सडक बगाएपछि सडक विभागले ठेक्का लगाएर गत वर्षदेखि पुनर्निर्माण थालेको छ । तर ठेकेदारले याे हिउँदमा काम पूरा गर्ने गरि काम नगरेकाे स्थानीयकाे गुनासाे छ ।
किर्ने सडककाे काम पूरा नभए आउँदो वर्षातमा समस्या हुने बताए । फेरि सडक बगाउने अवस्था भए किर्ने बजार, खिम्ती १ जलविद्युत केन्द्र, स्कुल र अस्पताललाई असर गर्ने अवस्था छ ।स्थलगत निरीक्षणपछि मन्त्री चाैलागाईले सडक र पुलका मुख्य ठेकेदारलाई सम्पर्कमा ल्याएर १५ दिन भित्रै कामलाई तिव्रता दिन निर्देशन दिए । मन्त्री चाैलागाईले बाढीले क्षतिपछि वीपी राजमार्गकाे पुनर्निर्माणकाे काम समेत स्थलगत निरीक्षण दिए ।वीपी राजमार्ग, पुष्पलाल र अरनिको राजमार्गकाे निरीक्षणका क्रममा दाेलखा र रामेछापको निर्वाचन तयारी लगायतका विषयमा सुरक्षा बैठकमा जानकारी लिए ।



