फ्रेण्डसिप खबर
गृह पृष्ठ

१० पर्यटक ना गाउँमा अलपत्र

चरिकोट/दोलखाको रोल्वालिङ उपत्यकास्थित ‘ना’ गाउँमा खसेको पहिरोसँगै च्छोरोल्पा घुम्न गएका १० पर्यटक ४ दिनदेखि अलपत्र परेका छन्। शुक्रबार राती ‘ना’ र वेदिङको बीचमा ठूलो पहिरो गएसँगै फसेका पर्यटकको हेलिकप्टरमार्फत उद्धार गर्नुपर्ने अवस्था छ।

गुम्बाको पूजाका लागि बेदिङ पुगेका स्थानीयको साथमा पर्यटक ‘ना’ गाउँ घुम्न गएका थिए। ‘ना’ च्छोरोल्पा हिमताल नजिककैको गाउँ हो। साथमा लगेको खानेकुरा समेत सकिन थालेको ‘ना’मा अलपत्र परेका दावाछिरी शेर्पाले गुनासो गरे। उनले ४ दिनदेखि उद्धारका लागि आग्रह गरे पनि कतैबाट सुनुवाइ नभएको बताए।

अलपत्र पर्नेमा गौरीशंकर गाउँपालिका-९ का दावाछिरी शेर्पा, पेमाछिरिङ शेर्पा, ङावाङ दोर्जे शेर्पा, ओङगछे शेर्पा, नावाङ दोर्जे शेर्पा, पासाङयाङ्जी शेर्पा, दावादिकी शेर्पा र मिङ्मायाङजी शेर्पा छन्। यस्तै सोलुखुम्बुका छिरिङयाङ्जी शेर्पा र ऐसस्ग्याम्छो शेर्पा छन्।
थाङ्दिङमा अलपत्र परेका ४ जनाको भने स्थानीयको सहयोगले समदर गोरा मन्दिर नजिकै रहेको खोलामा रुख ढालेर त्यसैको सहायतामा जंगलको बाटो हुँदै सोमबार उद्धार गरिएको गौरीशंकर गाउँपालिका-९ का वडा अध्यक्ष निमगेली शेर्पाले बताए।

पहिरोमा फसेकाहरूको उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समितिलाई गौरीशंकर गाउँपालिकाले आग्रह गरेको छ। जिल्ला विपद् व्यवस्थापनमा हेलिकप्टरबाटै उद्धार गर्ने स्रोत नहुँदा गृह मन्त्रालयमा अनुरोध गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए। 

गृह मन्त्रालयमा जानकारी आए पनि आलटाल हुँदा उद्धारमा ढिलाइ भएको छ। गौरीशंकर गाउँपालिका अध्यक्ष विश्वास कार्कीले पालिकाको खाता पनि बन्द रहेको र लाखौं खर्च गरेर उद्धार गर्ने स्रोत नभएको हुँदा गृह मन्त्रालयमै गुहार माग्नुपरेको बताए। 

‘दुर्गममा भएकाले अलपत्र पर्नेहरुको विवरण ढिला आयो। जानकारी पाए लगत्तै गृह मन्त्रालयमा ताकेता गरिरहेका छौं। संभवत: गृहले हेलिकप्टर पठाए चाँडै उद्धार हुन्छ,’ अध्यक्ष कार्कीले भने।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाउने तयारी गरिए पनि मौसम खराबीको कारण समस्या भएको जानकारी दिए। ‘दोलखाका प्रमुख जिल्ला अधिकारीबाट पर्यटक उद्धारका लागि लिखित निवेदन आउनेवित्तिकै सेनालाई हेलिकोप्टरमार्फत उद्धारका लागि भनिसकेका छौं,’ प्रवक्ता भट्टराईले भने, ‘मौसम खुल्नासाथ उद्धार गर्छौ।’

गौरीशंकर हिमालबाट बहेर आउने छ्योमुगुल्छ्यु खोलामा आएको बाढी-पहिरो, वरपरका खोल्सा खोल्सीबाट र च्छोरोल्पा (रोल्वालिङ खोला)को बाढीले ५ वटा ट्रष्ट पुल, झोलुंगे पुल र काठे पुल बगाएको छ। बाढीले समदर गोरा महादेव स्थलबाट दालदुङ सिमीगाउँ जान बनाइएको फलामे ट्रस्ट पुल, ठेम्लुङ ट्रस्ट पुल, डोंगाङ पुलसहित बगाउँदा रोल्वालिङ पदमार्गमा तत्कालका लागि हिँडडुल गर्न नसकिने अवस्था छ। बाढीले डोंगाङका वस्ती नै विस्थापित गर्दा बेपत्ता एक जनाको खोजीका लागि गएको सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली डोंगाङभन्दा माथि पुग्न नसकेपछि फर्किएको छ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतन द्वारा मैनापोखरीमा डस्वीन वितरण

Friendship Khabar

जिल्ला सहकारी संघ दोलखा नेपालकै उत्कृष्ट सहकारी संघ घोषणा

Nabin Kumar Khatiwada

माओवादी केन्द्र द्वारा सर्वसम्मत अध्यक्षकाे उम्मेदवार चयन

Friendship Khabar