फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी कृषि गृह पृष्ठ देश बागमती प्रदेश समाचार

क्याम्पोलमा किवी प्रशोधन उद्योग

दिलबहादुर केसी

दोलखा/दोलखाको दुर्गम गाउँ क्याम्पोलमा किवि प्रशोधन उद्योग संचालनमा आएको छ । किबीको उत्पादन बढेपछि कालिञ्चोक गाउँपलिकाको वडा नम्वर १ को क्याम्पोलमा उद्योग संचालन गरिएको हो।

अधिकांश थामी समुदायको बसोबास रहेको सो क्षेत्रका १० जना कृषकहरुले किवि प्रशोधन सम्बन्धी तालिम लिएपछि उद्योग स्थापना भएको हो । उद्यमीलाई जाम, क्यान्डी र चाना उत्पादन सम्बन्धि तालिम प्रदान गरिएको नामसालिङ बिकास केन्द्र दोलखाका संयोजक राजन केसिले बताए । ‘उद्योगमा १० जना किसानहरुको लगानी छ’ उनले भने ‘स्वरोजगारको रुपमा उनीहरु आफैंले काम गर्छन् । तर यसको व्यवस्थापन दिपजंग सानाकिसान कृषि सहकारी संस्थाले गर्नेछ ।’

करिब १२ लाख रुपैयाँ लागतमा सञ्चालन गरिएको सो उद्योग कुला लोन इन्टरनेशनलर नामसालिङ सामुदायिक विकास केन्द्रबाट १० लाख ७२ हजार, वडाबाट ५० हजार, स्थानीय जनश्रमदानबाट २ लाख ५० हजार लगायतको सहयोगमा संचालन गरिएको संयोजक केसिले बताए ।

दुर्गम भौगोलिक अवस्था, कमजोर सडक र बजारिकरणको अभावका कारण किसानले उत्पादनको उचित मूल्य पाउन नसकिरहेको अवस्थामा प्रशोधन केन्द्रले महत्वपूर्ण भूमिका खेल्ने सोही वडाका वडा अध्यक्ष पदम बहादुर थामीले बताए ।उनले भने, किवि उत्पादन राम्रै हुन्थ्यो, तर बजारसम्म पु¥याउने सुविधा नहुँदा किसानले मूल्य पाउन सकिरहेका थिएनन् । यही समस्या समाधान गर्न किवि प्रशोधन कार्यक्रम सुरु गरिएको हो । अब गाउँमै जाम, क्यान्डी जस्ता उत्पादन हुन थालेका छ, जसले आम्दानी बढ्नुका साथै स्थानीयहरुलाई रोजगारी समेत दिएको वडा अध्यक्ष थामीले बताए ।

कालिन्चोक–१ का क्याम्पोल र आसपासका बस्तीमा २०० रोपनीमा ६५ जना किसानले एउटै प्लटमा किबी खेती गरेका छन् । ४ वर्ष अघि रोपिएका ति विरुवाले यस वर्षबाट उत्पादन दिन थालेका छन् । अरु किसानले पनि यतिकै क्षेत्रमा किबी रोपेका छन् ।
यस वर्ष ७ हजार किलो उत्पादन भयो । त्यसमध्ये ५ हजार किलो किवि प्रशोधन गरिएको उनले बताए।  उद्योगमा सो क्षेत्रको मात्र नभएर जिल्लाका विभिन्न स्थानमा उत्पादन गरिएको किवि प्रशोधन गर्न सहज भएको उनको भनाई छ । २ हजार किलोग्राम काठमाडौंमा लगेर बिक्री गरिएको अध्यक्ष थामीले बताए ।

‘किबी सिजनमा सबैतिर एकै पटक निस्कन्छ, बजारमा ठूला ठूला दाना मात्रै जान्छ’ उनले भने ‘सिजनमा मूल्य पनि राम्रो नपाउने र साना बिक्री नहुने समस्या थियो, यसले किसान निरास थिए, उद्योग खोलेपछि ति समस्याको अन्त्य हुने छ ।’ उद्योगको उत्पादन लेबलिङ र ल्याब परीक्षणका लागि खाद्य गुणस्तर विभागमा पठाएको र त्यहाँबाट प्रमाणीत भएर आएपछि उत्पादन बजारमा पठाउने तयारी छ ।
क्याम्पोलका ५० भन्दा बढी किसानले यो वर्ष किबी बिक्री गरेका छन् । क्याम्पोलको भित्रीखर्कमा मात्रै वर्षौंदेखि खेर गएको पाखो जमिनमा पकेट क्षेत्र नै बनाएर ६५ जना किसानले २ हजार २ सय किबी रोपेको कालिञ्चोक गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष पदम थामीले जानकारी दिए । यो वडाभरीमा १५३ किसानले ४ हजार २ सय विरुवा रोपेको उनले बताए । धेर थोर सबैले यस वर्ष किबी बेचेका छन् ।रोपेको ३ वर्षदेखि फल दिन सुरु गर्ने किबी एक वर्ष अघिदेखि मात्रै फल्न थालेको हो । किबी रोप्नका लागि कालिञ्चोक गाउँपालिका र नामसालिङ सामुदायिक विकास केन्द्रले सहयोग गरेको छ । सुरुवाती वर्षमा थोरै उत्पादन भए तापनि अब बोट वयस्क हुँदै गएपछि उत्पादन बढ्ने कृषि प्राविधिक अस्मिता बस्नेतले जानकारी दिइन् ।

गाउँमै सडक सुविधा पुगेपछि वर्षे आलु पनि बिक्री गरेका छन् । वर्षे आलु पनि सोझै काठमाडौं पुगेको छ । त्यस्तै सिजन अनुसार गोलभेडा, साग, काउली, खुर्सानी यो गाउँबाट नजिकको बजार सिंगटी र चरिकोटसम्म पु¥याएर बिक्री गर्न थालेका छन् । गाउँबाट दैनिक गाडी सहर जान थालेपछि दैनिक जसो किसानहरु धेर थोर स्थानीय उत्पादन बजार पठाउन थालेका हुन् ।
स्थानीय उत्पादनका लागि किसानहरुको सहाराको रुपमा स्थानीय सहकारी भएको छ । किसानहरु आफैंले गठन गरेको दिपजंग साना किसान कृषि सहकारीमार्फत स्थानीय उत्पादन बजारसम्म पुगेको हो । सहकारीले नै २ वर्ष अघि कोल्ड च्याम्बर तयार गरेको छ । स्थानीय उत्पादन किबी र आलु यो कोल्ड च्याम्बरमा राख्छन् । बाटो सहज भएपछि बजारमा राम्रो माग भएपछि उत्पादन बजार पुग्छ ।

सहकारीका अध्यक्ष कर्णबहादुर थामीले यो वर्ष मात्रै १९ हजार केजी आलु कोल्ड च्याम्बरमा भण्डारण गरेको जानकारी दिए । किबी पनि टिपेर बजार नपुग्दासम्म कोल्ड च्याम्बरमा राखे । कोल्ड च्याम्बर सञ्चालनमा आएपछि यहाँका किसानहरु अब आलुको बीऊ नपाइएला, राखेको बीऊ कुहिएला कि भन्ने चिन्ताबाट मुक्त भएका छन् । आलु भण्डारणका लागि गाउँमै कोल्ड च्याम्बर बनेपछि उनीहरुका आलुमा बीऊ राख्ने चिन्ता हराएको हो । यो वर्ष मात्रै यो एउटै वडाबाट ५० लाख बढीको वर्षे आलु काठमाडौं पुगेको छ ।

बारीमा खनेको आलु बजार वर्षातमा बाटोको समस्याका कारण लैजान नपाए तापनि धेरैले कोल्ड च्याम्बरमै राखे । अहिले बीऊ राम्रो भएपछि घरमा आफूले राखेकोभन्दा राम्रो भएपछि उनी खुशी भएका छन् ।  जसबाट आलुको बीउमा मुना पलाएर खेर जाने समस्या रहेन । बीउ सुरक्षित रहने  भएकाले भण्डारमाल्याएर राख्ने गरेको उनले बताए ।

कोल्ड च्याम्बर निर्माणका लागि गत वर्ष बागमती प्रदेश सरकार, कालिञ्चोक गाउँपालिका र नाम्सालिङ सामुदायिक विकास केन्द्रको संयुक्त लगानीमा निर्माण भएको हो । यसको व्यवस्थापन संचालन स्थानीय दिपजंग सानाकिसान सहकारी संस्थाले गरेको छ । सहकारीमा ८१० शेयर सदस्य छन् । सहकारीले अहिले शेयर सदस्यहरुका लागि आवश्यक वचतका अतिरिक्त मल बीऊ खरिद, उत्पादित वस्तु संकलन र बजारिकरणमा सहयोग गरिरहेको उनले बताए ।
‘गाउँमा भएका सबै कृषिजन्य वस्तु सहकारीले संकलन गरेर बजार पठाउँछ’ सहकारीका व्यवस्थापक पूर्णबहादुर थामीले भने ‘किसानहरुलाई विस्तारै विश्वासमा लिएर उत्पादनमा लाग्न प्रेरित गरिरहेका छौं, अझै किसानका उत्पादन सहकारीमा आउनै सकेको छैन ।’ कालिञ्चोक गाउँपालिका वडा नं. १ मा नाम्सालिङ सामुदायिक विकास केन्द्रले १० वर्षदेखि कृषि, पशुपालन, खानेपानी, सरसफाइ, सहकारी प्रबद्र्धनका क्षेत्रमा काम गर्दै आएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नं. १ का क्याम्पोल, बेगुम्पा, तारेभीर, डुसीखर्कका किसानहरु अहिले आलु, तरकारी खेती र किबी खेतीमा लागेका छन् । सडक खुल्नु अघिसम्म ढुङ्गाखानीबाट ढुङ्गा बोकेर गाउँ गाउँमा घरको छानो छाप्न पुर्याउने यि थामी जाती अहिले ढुङ्गा बोक्ने काम छाडेर खेतीमै रमाउन थालेका छन् । २०७२ को भुकम्पपछि घरको छानोमा ढुङ्गा छाप्न पनि बन्द भएको छ ।

तस्बिरः क्याम्पोलमा रहेको कोल्डच्याम्बर र पाखो बारीको किबी खेती ।
उद्योगमा प्रशोधन गर्दै ।

याे पढ्न छुटाउनु भयाे की ?

जनसचेतनद्वारा मैनापोखरी बजारमा वृक्षरोपण

Friendship Khabar

मन्त्री खड्काले शुरु गरे वन तथा वातावरण क्षेत्रको सुधार र अधिकार बाँडफाँड

Friendship Khabar

सहकारी बैंकद्वारा स्थानीय तह हरुलाई निति तथा कार्यक्रम सम्बन्धमा १४ बुदे सुझाव

Friendship Khabar