चरिकोट /दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर ५ मा निमार्ण भएको काप्ती लघु जलविद्युत आयोजनाको आम्दानी तथा खर्च विवरण सार्वजनिक गर्न माग गर्दै स्थानीय उपभोक्ताले जिल्ला प्रशासन कार्यलय दोलखामा निवेदन दिएका छन् ।
दोलखा गौरीशंकर गाउँपालिका ५ काप्तीमा ११ वर्ष अघि निमार्ण भएको ५० किलोवार्ड क्षमताको काप्ती खोला लघु जलविद्युत आयोजनाको हाल सम्म पनि आम्दानी, खर्च विवरण सार्वजनीक नभएको भन्दै स्थानीय उपभोक्ताले निवेदन दिएका हुन् । योजना निमार्णको लागि वैकल्पिक उर्जा प्रवर्धन केन्द्रबाट सत्तरी लाख रुपैयाँ अनुदान रकम प्राप्त भएको स्थानीयको भनाई छ। आयोजना सम्पन्न गर्नको लागि स्थानीय उपभोक्ताको श्रमदान र श्रमदानमा नजाने घर धुरीले प्रत्येक परिवार सोह्र हजार रुपैयाँका दरले रकम सहयोग गरी उक्त आयोजना निमार्ण सम्पन्न गरिएको बताएका छन् ।
स्थानीय उपभोक्ताहरु ध्रुब खड्का,आङडेण्डी शेर्पा, आङछिरी शेर्पा,रामबहादुर खड्का सहितको समुहले छानविन गर्न माग गर्दै दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलाई निवेदन बुझाएका छन् । उक्त स्थानमा केन्द्रीय प्रसारण लाइन पुगेको कारण अहिले सो आयोजना बन्द रहेको छ । समितिले गैरकानूनी ढंगले ११ लाख चौरासी हजार रुपैया आयोजनाको ऋण छ भनि कवाडीको सामान बेचबिखन समेत गर्न लागेको आरोप उनिहरुको छ। उपभोक्ताले पटक पटक लागत सार्वजनिक गर्न,उपभोक्ताको लगानी स्पष्ट पार्न,आयोजनाको आम्दानी र खर्च विवरणलाई सार्वजनिक सुनुवाई गर्न सञ्चालक समितिलाई लिखित तथा मौखिक निवेदन दिए पनि कुनै सुनुवाई नभएको गुनासो उनिहरूकाे छ ।