फ्रेण्डसिप खबर
Breaking अर्थवाणिज्य आजको ताजा समाचार कभर स्टाेरी गृह पृष्ठ समाचार स्थानीय समाचार

२० घण्टा बन्द भएर चल्याे माथिल्लो तामाकोसी

चरिकोट/देशकै सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् केन्द्रको उत्पादन २० घण्टापछि सुचारु भएको छ ।
तामाकोसी नदीको माथिल्लो तटीय क्षेत्रमा भारी वर्षापछि खतराको तह पार गर्ने गरी बाढी आएपछि शनिबार रातीदेखि उत्पादन बन्द गरेर बाँधका ढोका खोलिएको थियो । 
वर्षा रोकिएर नदीमा पानीको बहाव कम भएपछि आइतबार साँझ ५ः४० बजेदेखि उत्पादन सुचारु गरिएको केन्द्रका प्रमुख पूर्णगोपाल रञ्जितले ऊर्जा खबरलाई जानकारी दिए । शनिबार राती ९ः३० बजेदेखि केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द गरिएको थियो । तामाकोसीमा बग्ने पानीको मुख्य मुहान तिब्बततर्फ पर्दछ । 

माथिल्लो तामाकोसीको बाँधमा पानीको सतहले खतराको तह पारे गरेपछि नेपाल विद्युत् प्राधिकरणको भारप्रेषण केन्द्रसँगको समन्वयमा उत्पादन बन्द गरेर बाँधका ४ वटै ढोका खोलिएको थियो । केन्द्र प्रमुख रञ्जितले केन्द्रका अन्य संरचनामा बाढीले थप क्षति नपु¥याओस् भनेर पूर्व सावधानीपूर्वक विद्युत्‌गृह नै बन्द गरिएको जानकारी दिए । खोला किनारमा हुने हरेक जलविद्युत् केन्द्रले यो सिद्धान्त अपनाउँदा विद्युत् उत्पादनका संरचना जोगाउन वा क्षति न्यूनीकरण गर्न सकिन्छ । 
विद्युतगृह उत्पादन बन्द गरे तापनि यही मौकामा आइतबार बिहानैदेखि बाँध क्षेत्रमा जम्मा भएको लेदो, गेग्रान हटाउन बाँध सरसफाइको काम भएको छ । नदीमा पानीको बहाव बढी भएकाले मान्छेले गर्ने केही काम बाहेक पानी जमाउँदै खोल्दै गरेर बालुवा बगाउने काम गरिएको केन्द्र प्रमुख रञ्जितले बताए । अहिले केन्द्रबाट पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । 

उनका अनुसार विभिन्न खोला खोल्सीहरूबाट भू–क्षय र पहिराले ल्याएर बाँधमा जम्मा भएको बालुवा लगायतका सामाग्री हटाउन सरसफाइ गरेको हो । २ किलोमिटर लामो बाँध क्षेत्र बालुवा र गेग्रान थुप्रिँदा जलाशयको आकार घट्दै गएको छ । हिउँदका लागि पानी बढी जम्मा गरेर उत्पादन बढाउन बाँध सफाइ गर्ने गरिएको छ । नियमित कार्यतालिका अनुसार गत साउन अन्तिममा र एक हप्ताअघि अर्थात् असोज ११ गते पनि बाँध सफा गरिएको थियो तर असोज ११ गते प्राधिकरणको भारप्रेषण केन्द्रले पर्याप्त समय नदिएकोले ६ घण्टा मात्रै बन्द गरेर सामान्य सफा भएको थियो । त्यसले बाँधमा जमेका बालुवा सबै सफा भएको थिएन । ३ दिनयताको बाढीले ल्याएर थुपारेका गेग्रान पनि आज दिनभर सफा गरिएको हो । 

‘वर्षात्‌मा पर्याप्त पानी हुन्छ, हिउँदमा नदीमा पानी घट्दै जान्छ,’ उनले भने, ‘दिन र रातमा नदीको पानी जम्मा गरेर बढी विद्युत्को माग हुने समय बिहान र साँझमा उत्पादन बढाउन अहिले बाँध सफा गरेका हौँ ।’ उनका अनुसार मध्य वर्षात् भएकाले बाँध सफाइ गरेको हो । अहिले केन्द्रको उत्पादन बन्द गर्दा राष्ट्रिय प्रणालीमा समेत असर नगर्ने हुँदा यही बेला बाँध सफाइको कार्यक्रम बनाएको हो । 
केन्द्रको उत्पादन सुरु भएको ४ वर्षको इतिहासमा बाढीकै कारण विद्युत् गृह नै बन्द गर्नु परेको यो तेस्रो पटक हो । नदीमा बाढीले खतराको तहभन्दा बढी आएपछि गत वर्ष साउन १७ गते, असोज ११ गते र शनिबार उत्पादन बन्द गरेको हो ।

गत साउनमा २४ घण्टा उत्पादन बन्द गरेर नदीमा पानीको सतह सामान्य भएपछि सुचारु गरिएको थियो भने असोज ११ गते रातीबाट उत्पादन बन्द भए पनि भोलिपल्ट दिउँसो माथिबाट पहिरोसहित ठूला–ठूला ढुङ्गा खसेर बालुवा थिग्राउने पोखरी र कन्ट्रोल रुमसहित ४ जनाको ज्यान नै गएको थियो । त्यसपछि ३ महिना उत्पादन बन्द भएको थियो । 
लप्ची खोलामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूले लामाबगरदेखिको माथिल्लो क्षेत्रमा सडक निर्माणका क्रममा निस्केको ढुङ्गा, माटो र पहिरो तामाकोसीमै आएकाले त्यो बगाएर माथिल्लो तामाकोसीकै बाँधमा ल्याएर भरिएको छ । बाँध क्षेत्रमा बालुवा बगाउन स्काभेटर जस्ता कुनै पनि उपकरण सडक असुविधाले लैजान नसकिने हुनाले पानी जम्मा गर्दै खोल्दै गर्नु पर्छ । बाँध क्षेत्रमा बालुवाको सतह बढेकाले बाँधको लम्बाई र पानी जम्मा हुने मात्रा समेत घट्दै गएको छ । 
आयोजनाको बाँध नदीको सतहबाट १४ मिटर उचाइमा पानी भर्ने गरी डिजाइन गरेको छ । समुद्री सतहबाट १९७९ मिटरसम्म मात्रै बालुवा गेग्रान भरिनुपर्नेमा अहिले त्यसभन्दा ४ मिटर माथिसम्म भरिएको छ । बाँधमा २ हजार मिटरका तहमा नदीमा पानीको बहाव आउँदा खतरा हुन्छ । 
केन्द्र प्रमुख रञ्जितले बाँधका ढोका बन्द गरेर पानी जम्मा गर्ने र खोल्ने गर्दा ठूला ढुङ्गाबाहेक अरु बगाएर लैजाने बताए । बालुवा बगाएपछि पानीको मात्रा बढी जम्मा हुँदा हिउँदको सुख्खा मौसममा बढी विद्युत् उत्पादन गर्न सकिन्छ । नदीमा पानीको बहावलाई ख्याल नगरी उत्पादन गृह बन्द नगर्दा गत असार २४ गते रसुवाको भोटेकोसीमा आएको बाढीले १११ मेगावाटको रसुवागढी सहित, त्रिशूली थ्री ‘ए’, लगायतका त्रिशूली नदी किनारका अधिकांश जलविद्युत् केन्द्रमा ठूलो क्षति भएको थियो । रसुवागढीमा भएको क्षतिले जलविद्युत् आयोजनाको धेरै संरचना पुनर्निर्माण गर्नु पर्ने भएको छ ।

याे पढ्न छुटाउनु भयाे की ?

जलवायु परिवर्तन सम्बन्धि सन्देशसँगै विश्व साइकल यात्रामा दाेलखाका कार्कि

Kedar Dahal

शिक्षा ऐन विरुद्ध नेपाल शिक्षक महासंघको नेतृत्वमा राहत शिक्षक सहितको आन्दोलन, आन्दोलनको मिति भाेलि सार्वजनिक हुने

Friendship Khabar

शैक्षिक सामाग्री वितरण गरेर आफ्नो जन्मोत्सव मनाए युवा व्यवसायी एवं संवाददाता अधिकारिले

Friendship Khabar