चरिकोट/दोलखाको विगू गाउँपालिका वडा नं. ८ मा निर्माण भएकाे साँघु खोला जलविद्युत आयोजनाले परीक्षण उत्पादन थालेको छ ।
हिमपर्वत हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको २ जलविद्युत आयोजना मध्ये पहिलो चरणमा ५.५ मेगावाटको साँघु खोला १ जलविद्युत आयोजनाको शुक्रबारदेखि परीक्षण उत्पादन थालेकाे हाे ।

अहिले नेपाल विद्युत प्राधिकरणबाट आएका प्राविधिक टोलीले एक हप्तादेखि विद्युत गृह,सबस्टेसन र प्रशारण लाइनको विभिन्न उपकरणको परीक्षण सफल भएपछि उत्पादन सुरू गरेको आयोजनाको प्रबर्द्धक हिमपर्वत हाइड्रोपावर लिमिटेडका अध्यक्ष हिमाल गुरुङले जानकारी दिनुभयो । परीक्षण सफल भएकाले १५ दिनसम्म नेपाल विद्युत प्राधिकरणलाई निशुल्क विद्युत उत्पादन गरेपछि व्यवसायिक उत्पादन थाल्ने बताउनुभयो ।

साविक आलम्पू गाविस र चिलंखा गाविसको बीच भएर बग्ने साँघु खोला र चिलंखातिरबाट आउने स्याँखू खोलाको दोभानभन्दा ३ सय मिटर माथि बाँध बाँधेर पानी फर्काएर पेगू दोभानमा खसाली ५.५ मेगावाट विद्युत उत्पादन गर्ने गरी एउटा आयोजना निर्माण गरिएको छ । सो आयोजनाको बाँधमा स्याखु खोलाको पानी समेत फर्काएर मिसाउने योजना छ ।
सो आयोजनाको १४९ मिटर ग्रस हेड रहेको छ भने पेनस्टक पाइप २ हजार ३१२ मिटर मध्ये पाइप जडान गरेको छ । विद्युत प्रसारणका लागि पेगू दोभानदेखि सोरुङ खोलासम्म १३२ केभी स्वीच्याडसम्म ३३ केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरेको छ ।

एक महिनामा अर्को २० मेगावाट विद्युत थपिने
हिमपर्वतले नै निर्माण गरिरहेको २० मेगावाटको अर्को आयोजनाबाट एक महिनापछि विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ । पेगू दोभानमा विद्युत गृहबाट निस्केको पानीलाई सोझै पेनस्टकबाटै २० मेगावाटको साँघु खोला जलविद्युत आयोजनाको हेडपोनमा हालिएको छ । साँघु खोला र पेगू खोलाको दोभानमा पेगू खोलाको पानीलाई समेत बाँध निर्माण गरी फर्काएर बालुवा थिग्रयाउने पोखरीबाट बनाएर दुवै खोलाको पानी मिसाएर पेनस्टक पाइपबाट सोरुङ खोलामा ल्याएर विद्युत उत्पादन हुने छ । आयोजनाको ग्रस हेड ३७३ मिटर रहेको छ ।
२० मेगावाटको आयोजनाको सिभिल, प्रसारण लाइन र विद्युत गृहको सबै काम पूरा भएका छन् । पेनस्टक पाइप जडान पूरा गरी त्यसको प्रेसर परीक्षणको काम भइरहेको अध्यक्ष गुरुङले बताउनुभयो। पाइप जडानको काम र विद्युत गृहको सामान्य काम एक महिनामा पूरा गरी विद्युत उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
यो आयोजनाको ५ हजार ८१० मिटर पेनस्टकपाइप जडान गर्नु पर्छ । सोरुङ खोलामा विद्युत गृह निर्माण भएको छ । विगू गाउँपालिका वडा नं. ८ मा हाल निर्माणाधिन ३ वटै आयोजनाको विद्युत जोड्न मिल्ने गरी स्वीच्याड निर्माण भएकाे छ । यहाँ भविष्यमा निर्माण हुने जलविद्युत आयोजनाहरुलाई समेत लक्षित गरी स्वीच्याड निर्माण गरेर १३२ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत प्राधिकरणको ८ किमी टाढा रहेको सिंगटी सवस्टेशनमा जोडिएको छ । सोरुङ खोलादेखि सिंगटीसम्मको १३२ केभीको २५ वटा टावर निर्माण भएका छन् ।
दुवै आयोजनाको निर्माण व्यवसायी सिभिलत तर्फ मस्तिङ हिमाली जेभी, इलेक्ट्रोमेकानिकलमा फ्लोबेल इनर्जी प्रालि भारत, हाइड्रोमेकानकलमा डाउन हाइड्रो मस्तिङ जेभी र प्रसारण लाइनमा सम्प्रधा ट्रेडिङ प्रालि रहेका छन् ।
हिपर्वतले निर्माण गरिरहेको २० मेगावाटका आयोजनाको लागत ३ अर्ब ९० करोड रहेको छ भने ५.५ मेगावाटको आयोजनाका लागि १ अर्ब ५ करोड लागत अनुमान गरिएको छ । दुवै आयोजनामा सिटिजन्स बैंकको नेतृत्वमा हिमालयन बैंक र माछापुछ्रे बैंकले ऋण लगानी गरेका छन् । ऋण र स्वपूजी लगानी ६५:३५ को अनुपातमा छ । हिमपर्ततका यि आयोजनामा अवसर इक्वीटी डाइभर्सीफाइड फण्डले ३९ करोड स्वपूजी लगानी गरेको छ ।
हिमपर्वत हाइड्रोपावरले ४२ करोड रुपैयाँ बराबरको ४२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सिबिआई एल क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक चयन गरेको छ ।
सम्झौता अनुसार आयोजना प्रभावित स्थानीय र सर्वसाधारण गरी जम्मा ५९ लाख कित्ता साधारण सेयर निष्कासन गर्नेछ । दुवै आयोजनाबाट वार्षिक १४९ गिगावाट आवर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।
