चरिकोट /जिरी उद्योग वाणिज्य संघको आयोजनामा हुने दोश्रो जिरी महाेत्सवको तयारी तिव्र पारिएको छ।
नेपालकाे स्विजरल्याण्ड भनेर चिनिने जिरी शहरमा महोत्सव २०८० चैत २३ देखि २०८१ वैशाख २ गतेसम्म सम्पन्न हुने छ।यस अघि पनि जिरीमा २०६८ सालमा पहिलो पटक जिरी महाेत्सव गरिएको थियो ।
विगतमा सगरमाथाको प्रवेशद्वार र आधार शिविरकाे रुपमा रहेको जिरीको आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उदेश्यका साथै व्यापार व्यवसायलाई समेत लक्षित गर्दै यस महाेत्सव गर्न लागिएको हाे । जिरेल,शेर्पा,सुनुवार,तामाङ,थामी,नेवार र सुरेल जातिको माैलिकता झल्काउने संस्कृति,झाकी तथा खानाकाे समेत प्रदर्शनी रहने जिरी उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराजा श्रेष्ठले जानकारी दिनुभयो।
महाेत्सव मुख्य आयोजक जिरी उघाेग वाणिज्य संघ रहेको छ भने जिल्लाका सबै स्थानीय पालिकाहरु र रामेछापका उमाकुण्ड र गाेकुलगंगा गाउँपालिका सह आयोजक रहेका छन ।
महोत्सवमा जिरीमा संचालनमा रहेका लघु तथा मझौला व्यवसायलाई प्रबर्द्धन गर्ने गरि सबै पक्षलाई समेटेर कार्यक्रम तालिका तयार गरिएको छ ।
