फ्रेण्डसिप खबर
गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना समाचार

“आधुनिक विश्व परिवेशमा हरित हाइड्रोजन ईन्धनको सान्दर्भिकता”

कविन्द्र खड्का (द हिमालयन सोउल)

आजको विश्वनवीनतम् खोज र आविष्कारको सिलसिलामा व्यस्त परिवेशमा गुज्रिरहेको यथार्थ छ ।

विज्ञान र प्रविधिको देन स्वरुपअत्याधिक क्षमताको यन्त्रहरु हाम्रो दैनिकीको एक हिस्सा बनिरहेको अवस्थामा अनवीकरणीय जीवाशेष ईन्धनप्रति आश्रित हुन परेको तीतो यथार्थ पनिनकार्न सकिन्नँ । भोलिको परिवेशमा हरित हाइड्रोजन एक उत्तमउर्जाको रुपमा स्थापितहुन सक्ने सम्भावनामा टेकेर थुप्रै परियोजनाएवम् अन्वेषणहरु भईरहेका छन् ।
वैज्ञानिकहरुका अनुसार हरित हाइड्रोजनले अत्यधिक प्रदुषण हुने संवेदनशील क्षेत्रहरुमा जीवाशेष इन्धनको प्रतिस्थापन गर्ने सामथ्र्य राख्दछ, जुन सौर्य र वायु उर्जाबाट प्रभावकारी रुपमाहुन सक्दैन । सार्वजनिक यातायात तथा औद्योगिक क्षेत्रहरुमा परम्परागत इन्धनलाई प्रतिस्थापन गर्न समेत हरित हाइड्रोजन एक विशेष सम्भावना बोकेको प्रयोग हुन आउँछ । यसर्थ, भविष्यकोे इन्धनको श्रोतको एक उत्तम विकल्प हरित हाइड्रोजन हुने आँकलन गर्न सकिन्छ ।
हाइड्रोजन ग्यासलाई जलाउँदा हरितगृह ग्यासको उत्सर्जन नहुने भएकाले यसलाई हरित हाइड्रोजन नामाकरण गरिएको हो । कार्बन उत्सर्जन नगरी उर्जा उत्पादन गर्न सक्ने क्षमता यसमा निहित हुँदा स्वच्छ इन्धनको विकल्पका रुपमा यो संभावित छ ।
ब्रम्हाण्डमा तत्व या यौगिकका रुपमा यो ग्यास प्रचुर मात्रामा पाउन सकिन्छ । पानीको विद्युत विच्छेदन गराएर पनि सामान्य प्रयोगशालामा समेत यसको उत्पादन गर्न सकिन्छ । तथापी व्यावसायिक उत्पादनको लागि भने आवश्यक पुर्वाधार विकास गर्नु महँगो हुन आउँछ । कारखाना विस्तार तथा क्षमता भण्डारण एवम् हरित हाइड्रोजनबाट चल्ने ईञ्जिन विकास गरिनु त्यत्ति सहज विषय नहुन सक्छ ।
उत्पादित हरित हाइड्रोजनलाई यातायात क्षेत्रमा व्यापक प्रयोग गर्न सकिन्छ । यसका अलवा मल उद्योगमा युरिया बनाउन, आणविक भट्टीहरुमा प्रयोग गरिने कोइलाको विकल्पको रुपमा समेत प्रयोग गर्न सकिन्छ । फ्युल सेलउत्पादन गरी हरित हाइड्रोजनलाई ब्याट्रीमा समेत प्रयोग गर्न सकिन्छ । सन् २०३० सम्म हरित हाइड्रोजनको मुल्य प्रतिकिलो एक अमेरिकी डलर कायम गर्ने लक्ष्य धेरै देशहरुले राखेका छन् । तर त्यसका लागि नीतिगत व्यवस्था हुनु अपरिहार्य छ ।
<span;>भारत, पाकिस्तान र दक्षिण एसियाका अन्य भागमा हरित हाइड्रोजन विकासको अन्तर्राष्ट्रिय अभ्यासलाई नियाँल्ने हो भने नेपालले पनि यस तर्फ अभ्यासको थालनी गर्नु सान्दर्भिक हुने देखिन्छ । हरित हाइड्रोजन पुर्वाधार विकासको लागिवित्त तथा ज्ञान हस्तान्तरण गरी इलेक्ट्रोलाईजरको उत्पादन पहिलो शर्त हो । जलश्रोत र अन्य सम्भाव्यताका आधारमा नेपाल हरित हाइड्रोजन हबबन्न सक्छ । नेपालमा यसको उत्पादन हुन सके विश्वबजारमा नेपालको छवि उचाईमा पुग्ने देखिन्छ । हरित हाइड्रोजन र एमोनिया निर्यात गर्ने यो एक सुवर्ण अवसर पनिबन्न सक्छ । यसका लागि स्पष्ट नीति निर्माण , उत्पादन प्रविधि व्यवस्थापन र खपत क्षेत्र निर्धारण गरी अन्वेषण र विस्तार गरिनु पर्दछ । जीवाष्म इन्धनको खपतबाट विश्व परिवेशले खेपिरहेका पर्यावरणीय असन्तुलन, जलवायु परिवर्तन, ग्लोबल वार्मिङका कारण सिङ्गो मानव अस्तित्व नै संकटमा रहेको परिप्रेक्ष्यमा हरित हाइड्रोजन भविष्यका सन्ततिको सुरक्षित भविष्यको आधार र दिगो विकासको लक्ष्य प्राप्तिको संवाहक हुन सक्छ ।

नेपालमा हरित हाइड्रोजन उत्पादन गर्न सके युवा शक्तिविदेश पलायनको समस्या समाधान सम्बोधन गर्न समेत सहायक सिद्ध हुनेछ । इलेक्ट्रोलाइसिस प्रविधि विस्तारै सुुलभ हुने हो भने हरित हाइड्रोजन उत्पादनतर्फ सोच्नु अब ढिलाई गरिनुहुन्न । सगरमाथाको देश भनेर गर्व गर्ने नेपाली प्रजाती आज हिमालको हिउँ पग्लिएर अस्तित्व जोखिममा रहेको मौजुदा अवस्थामा हिमाली पर्यावरण संरक्षणमा पनि हरित हाइड्रोजन विशेष अचुक ओखती बन्न सक्छ । जलश्रोतको अपार सम्भावनालाई हरित हाइड्रोजन उत्पादनमा पनि उपयोग गरी नेपालको स्तर उन्नयन गर्न सकिन्छ । नेपालमा हरित हाइड्रोजनको सम्भावनाको बहस जनस्तर बाटै पनि हुन आवश्यक देखिन्छ ।

नेपाल सरकारको तर्फबाट भएको हरित हाइड्रोजन योजना र आयोजनाकार्यान्वयन गर्न काठमाण्डौ विश्वविद्यालयसँग भएको सम्झौता सराहनीय छ । सम्झौतामा हरित हाइड्रोजन प्रविधिको पाइलट स्केलमा अनुसन्धान गर्न, ग्रिडको गुणस्तर र विश्वसनीयता सुधार गर्न हरित हाइड्रोजन प्रविधिका् प्रयोग, हिउँद मौसममा उर्जा भण्डारणका साथै नेपालमा जलविद्युतको उचित सदुपयोग गर्न क्षमता विकास गर्ने जस्ता विषयहरु समाविष्ट छन् । निकट भविष्यमा नेपालमा हरित हाइड्रोजन प्रविधिको प्रयोगमा तीनवटा स्नातकोत्तर तह र विद्यावारिधी तहका कार्यक्रम समेत प्रदानगरिने पनि सम्झौतामा उल्लेख गरिएको छ । विश्वमै नवीन उर्जाको स्रोतको रुपमा बहस हुँदै आएको हरित हाइड्रोजनलाई अब कार्यन्वयनतर्फ लैजानु आवश्यक छ ।
विश्व परिवेशमा हेर्दा केही सफल कम्पनीहरुले हरित हाइड्रोजनबाट चल्न सक्ने इञ्जिन प्रयोग गरिएका सफलयन्त्रहरु पनि आविष्कार भई परीक्षण प्रयोगमा रहेका छन् । जसमा टाटा मोटरको हरित हाइड्रोजन बस , ईण्डियन रेलवेको हरित हाइड्रोजन रेलवे सेवा, हरित हाइड्रोजन कार आदि उदाहरण स्वरुप पेश भएका विकल्पहरु हुन् । काठमाण्डौ विश्वविद्यालयको हरित हाइड्रोजन प्रयोगशालामा समाविष्ट ग्रीन फ्युल, ग्रीनपावर, ग्रीन हिट र ग्रीनप्रोसेस् सम्मान गर्न लायक विषयहरु हुन । हरित हाइड्रोजन उत्पादन र व्यवस्थापनतर्फ लाग्नु अब सरकार , औद्योगिक व्यवसायी तथा विश्वविद्यालयको प्रधान जिम्मेवारी रहनेछ ।
हरित हाइड्रोजन ग्यास जलाउँदा कार्बन उत्सर्जन गर्दैन तर उक्त प्रक्रियामा प्रयोग हुने विद्युतले भने प्रत्यक्ष अप्रत्यक्षहिसाबले जीवाष्म इन्धनको प्रयोगले हरित गृह ग्यास उत्सर्जन गरेको हुन सक्दछ चाहे त्यो इलेक्ट्रोलाइसिस् मार्फत होस् या अन्य प्रविधिमार्फत नै किन नहोस् । त्यस्तो अवस्थामा यसलाई खैरो हाइड्रोजन भनिन्छ । यसले अहिलेको कुल उत्पादनको करिब ९५ प्रतिशत हिस्सा ओगटेको छ ।
कोइलावा ग्यासबाट विद्युत प्रयोग गरी उत्पादन गरिएको तर कार्बन क्याप्चर एण्ड स्टोरेज प्रविधिसँग जोडिएको हाइड्रोजनलाई निलो भनी वर्गीकरण गर्न सकिन्छ । कार्बन क्याप्चर एण्ड स्टोरेज प्रविधिले उत्सर्जित कार्बन समाउँछ र वातावरणमा प्रवेश गर्नबाट रोक्दछ । हरित हाइड्रोजन सौर्य वावायु उर्जाका विविध प्रविधिहरु मार्फत उत्पादन गरिएको नवीकरणीय विद्युत बाट सञ्चालित इलेक्ट्रोलाइसिस् मार्फत प्राप्त गर्न सकिन्छ । यो एक अत्याधुनिक संयन्त्र हुनेछ ।
अन्ततः आजको मानव दैनिकी उपकरणको सहायताविना अपुर्ण हुने परिस्थितिमा जीवाशेष इन्धन जस्ता अनवीकरणीय स्रोतको सीमिततापनि सोचनीय विषय अवस्य हो । वातावरणीय असन्तुलन तथा जलवायु परिवर्तनको सिकार बनिरहेको विश्वले अब भविष्यको चिन्ता गर्नुपर्ने समय आइसकेकोले अबको प्रविधिहरुमा हरित हाइड्रोजन प्रयोग गरी निकास दिनुपर्ने आवश्यकता देखिन्छ ।

यस मार्फत नेपाल जस्तो विकासशील मुलुकलाई समेत पर्यावरणीय संकटसँग मुकाविला गरी देशमा औद्योगीक क्रान्तिमार्फत अर्थव्यवस्था समृद्ध बनाई बेरोजगारी समस्या अन्त्य गर्नुको साथै प्रविधिको दुनियाँमा नेपाल पनि सक्षम छ भन्ने सन्देश प्रवाह गर्न हरित हाइड्रोजन उत्पादन एक टर्निङ प्वाईन्ट हुनेछ । यसको विकास र प्रयोग प्रभावकारी रुपमाहुन सके नेपालको ईतिहासमाप्रविधिको क्षेत्रमा एक युगान्तकारी अभ्यास हुने र भोलिका पिँढीले समेत गर्व गर्न सक्ने एक नमुना प्रोजेक्ट हुने तर्क गर्दा अत्युक्ति हुदैन ।

याे पढ्न छुटाउनु भयाे की ?

भरतपुरले उचाल्याे जिरी च्याम्पियनसिप २०८० काे उपाधि

Kedar Dahal

नेपाली काङ्ग्रेस बैतेश्वर काठमाडौं सम्पर्क समिति गठन

Friendship Khabar

वैतेश्वरमा जनता संग काङ्ग्रेस अभियान शुरु, तोकियो संयोजकहरू

Friendship Khabar