फ्रेण्डसिप खबर
आजको ताजा समाचार गृह पृष्ठ बागमती प्रदेश लेख तथा रचना

नारी दिवसलाई स्थानीय संस्कृति बनाऔं

बिर्ख क्रान्ति, दोलखा

आदरणीय आमा तथा दिदी बहिनी र दाजु भाईहरु !
११२ औं अन्तरराष्ट्रिय नारी दिवसको हार्दिक शुभकामना । सन् २०२२ को ८ मार्च । विश्वभर ११२ औं अन्तरराष्ट्रिय नारी दिवस मनाइँदैछ । नेपालमा पनि ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुश्चितता’ भन्ने राष्ट्रिय नाराका साथ देशभर यो दिवस मनाइँदेछ । अन्तरराष्ट्रियस्तरमा यो दिवस मनाउन थालेको ११२ वर्ष पुगे तापनि नेपालले मनाउन थालेको ६२ वर्ष मात्र पुगेको छ । खासमा ज्यालादारी श्रमिक महिलाहरुको हक अधिकारको लागि युरोपबाट शुरु भएको लडाइँ नै पछि गएर महिला दिवसको रुपमा अन्तरराष्ट्रियस्तरमा स्थापित भयो । यो ११२ वर्षको अवधिमा विश्वमा महिला अधिकारका क्षेत्रमा धेरै उपलब्धिहरु हासिल भएका छन् भने विशेष गरी विपन्न तथा विकासशील मुलुकहरुमा महिला अधिकार, समानता र समृद्धिका अझ धेरै मुद्दाहरु सम्बोधन हुन बाँकी छन् । नेपालको सन्दर्भमा महिलाप्रति अनुदार नीति बोकेका विश्वका कैयौं देशहरुको तुलनामा राजनीतिक अधिकार धेरै प्राप्त भएको मान्न सकिन्छ भने आर्थिक, सांस्कृतिक अधिकारमा पनि संवैधानिक तथा कानुनी व्यवस्थाहरु धेरै प्रगतिशील बन्दै गएका छन् । तर यति हुँदाहुँदै पनि ती अवसर र अधिकार सहज रुपमा उपभोग गर्ने सामाजिक अवस्था अझै बन्न सकेको छैन । यो अवस्था ल्याउनका लागि हामी सबैले नारी दिवसलाई केवल वार्षिक उत्सवको रुपमा मात्र सीमित नगरी दैनिक संस्कृतिको रुपमा विकास गर्नु आवश्यक छ । स्थानीयस्तरमा कुरा गर्दा हरेक वर्ष गरिने इतिहास रटानको परम्परागत भाषण र भेलाको टुप्पोबाट ओर्लिएर व्यवहारिक योजनाको जरासम्म पुग्नसके महिला अधिकार प्राप्तिको यात्रामा अझ छिटो र प्रभावकारी परिणाम ल्याउन मद्दत पुग्छ । यस वर्षको नारी दिवसको सन्दर्भमा यस पत्रमार्फत स्थानीयस्तरमा अभ्यास गर्न सकिने केही व्यवहारिक योजनाहरु सार्वजनिक बहस र अभ्यासको वातावरण बनोस् भन्ने आशयले तपाइँहरुसमक्ष प्रस्तुत गरेको छु ।

क. नारी दिवसलाई वर्षैभर मनाऔं

अन्तरराष्ट्रियस्तरमा वर्षको एकपटक नारी दिवस मनाइरहँदा नेपाली सन्दर्भमा हिन्दू संस्कृतिका मुख्य पर्वलाई मात्र थप गर्दा पनि (अझ बौद्ध, किराँत, इस्लाम आदि त बाँकी नै छन्) वर्षको कम्तीमा एक दर्जन नारी दिवसहरु मनाउन सकिने रहेछ । अभियन्ता र ईच्छुकहरुको चिन्तन मननका लागि केही सूचीहरु प्रस्तुत गरेको छु ।
१. दुर्गापूजाः शक्ति सप्ताहको रुपमा शक्ति साधना र शक्ति सञ्चय गर्न सिकौं ।
२. लक्ष्मीपूजाः सम्पन्नताको खोजी र आर्थिक अधिकार दिवसको रुपमा मनाउन सिकौं ।
३. सरस्वतीपूजाः वाक स्वतन्त्रता तथा शिक्षा दिवसको रुपमा वाणी सिद्धिका विज्ञानहरु सिकौं ।
४. तीजः गुनासो सुनुवाइ तथा खुशी दिवसको रुपमा मनाउन सिकौं । शहरीकरणको साङ्लोले गरीबको तीज नखोसौं ।
५. मातृऔंसीः सम्मान दिवसको रुपमा विस्तार गरौं । हरेक घरलाई मातृमय बनाउने बाटो पहिल्याऔं ।
६. भाइटीकाः भातृत्व दिवसको रुपमा मनाउँदै छोराछोरीमा सम्पत्तिको समान अधिकारको भेटी बाँड्न थालौं ।
७. जन्मोत्सवः बाँच्न पाउने अधिकार दिवसको रुपमा मनाऔं । बत्ती निभाउने हैन, उज्यालोको बीउ खोज्न सिकौं ।
८. विवाह उत्सवः यसलाई लैंगिक समानता दिवस बनाऔं । सहवासमा सीमित हैन, सहक्षमताको बगैंचा फुलाऔं ।
९. प्रसव उत्सवः यसलाई मातृ शिशु दिवसको रुपमा स्थापित गरौं । प्रसवसँगै बन्ध्याकरणको वाध्यता बन्द गरौं ।
१०. मृत्यु उत्सवः मृत्युलाई सन्तोष र सम्मानजनक बनाउन सिकौं । श्राद्धको बियाडबाट पितृ प्रेरणाको बीउ रोपौं ।
११. अन्तरराष्ट्रिय महिला हिंसा अन्त्य दिवस (१६ दिने दिवस)ः महिला हिंसा विरुद्धको १६ दिने दिवसलाई हिंसाका घटनाहरुको व्यापक भण्डाफोर, कारवाही, न्याय र नियन्त्रणका अनेकौं (सामाजिक, मनोवैज्ञानिक, शारीरिक, कानुनी, सांस्कृतिक, आध्यात्मिक) विधिहरुको खोजी र विकास गरौं ।
१२. नारी दिवसः महिला अधिकार स्थापनाको क्षेत्रमा स्थानीय, राष्ट्रिय, अन्तरराष्ट्रिय अवस्था र उपलब्धिहरुको मूल्यांकन गरौं । आउँदो वर्षका बाँकी काम र नयाँ आवश्यक्ताहरुको योजना तयार गरौं ।

ख. यो वर्ष यी कामहरु गरौं
नारी दिवसलाई वर्षैभर मनाउने संस्कृतिको विकास गर्न यो वर्ष स्थानीयस्तरमा यो वर्ष यसो गरौंः

१. महिला समुहहरुलाई बलियो खुट्टा टेकाऔंः नेपालको सामुदायिक विकासको सफलतामध्ये गएको दशकमा सामुदायिक वन उपभोक्ता समुह र स्वास्थ्य क्षेत्रको आमा समुहले गरेको योगदानलाई नेपालले मात्र नभै विश्वले पत्याएको छ । आजका दिनमा यो विश्वासको भार बोक्ने आशा सहकारी संस्थाहरुले देखाउँदैछन् । नारी दिवसको यस वर्षको नारा ‘सामाजिक न्याय र लैंगिक समानताः दिगो विकासको सुश्चितता’ लाई व्यवहारमा रुपान्तरण गर्न सामाजिक क्षेत्रबाट दुई दशकअघिदेखि विशेष गरी यिनै समुहको योगदान छ । संघीयता कार्यान्वयनसँगै समावेशी विकासका संरचनाहरु स्थापित गर्न, विशेष गरी निर्णय प्रक्रियामा महिला नेतृत्व सुनिश्चित गर्न र विकासमा लैंगिक समानताको जागरण ल्याउन सामुदायिक वन उपभोक्ता समुहको ठूलो भूमिका थियो भने यसलाई अझ टोल टोलमा अभ्यास गरेर सशक्त बनाउन स्वास्थ्य क्षेत्रका आमा समुहले नेपाली विकासको सामाजिक इतिहासमा अग्रणी भूमिका निभाएका थिए । गणतन्त्र घोषणापछि यी दुवै सुस्ताएका छन् र संघीयता जागेपछि त झन् निदाएजस्ता भएका छन् । यिनलाई फेरि उठाउन लागौं । स्थानीय तहको पहिलो कार्यकाल सकिनै लाग्यो । जहाँ काम बाँकी छ, त्यहाँ छिटो गरी कानुनको व्यवस्था गरेर तिनलाई दर्ता र आवद्धताको अभिलेखमा ल्याउने काम गरौं । झांगिँदै गरेका सहकारीहरुको हकमा महिलाहरुलाई सांगठनिक, सामाजिक र आर्थिक रुपले बलियो बनाउने विधि र योजनाहरु विकास गरौं । यिनैले नारी दिवसलाई वर्षैभर मनाउने संस्कृति हुर्काउन सक्छन् । त्यही संस्कृतिको कोक्रोमा हाम्रो सिंगो सभ्यता र समृद्धि परिपक्व बन्नसक्छ ।

२. निर्वाचनमा महिला नेतृत्व बढाऔंः

स्थानीय तहको पहिलो कार्यकाल सकिन लागेको छ र निर्वाचन मुखैमा आइपुगेको छ । हरेक दलले निर्वाचनमा महिला प्रतिनिधित्वलाई दक्षता, जिम्मेवारी र संख्या सबै हिसाबले बढाउने वातावरण विकास गरौं । निर्णय गर्ने नेताहरुले ३३ प्रतिशतको प्रावधानलाई महिला नेतृत्वको अवसरभन्दा पनि तगारोको रुपमा प्रयोग गर्ने प्रवृत्तिलाई निरुत्साहन गरौं । महिला प्रतिनिधित्व, महिला नेतृत्वको सवालमा अन्तरपार्टी सहकार्य गर्नेसमेतको वातावरण सिर्जना गरौं ।

३. संगठित बहसलाई बलियो बनाऔंः

महिला सशक्तिकरणको माध्यमबाट दिगो विकासलाई सुनिश्चित गर्न महिला अधिकारको बहसलाई स्थानीयकरण र संगठित गरौं । यसका लागि आजको सन्दर्भमा सबैभन्दा प्रभावकारी, छिटो र सस्तो मिडिया तथा सामाजिक सञ्जाल नै हुन् । अनलाइन मिडियाहरुले निरन्तर रुपमा स्थानीय सवालकेन्द्रित अनलाइन गोष्ठीहरु आयोजना गर्ने बन्दोबस्ती गरुन् । त्यसो गर्दा लेखपढ गर्न नसक्ने तर ज्ञान, श्रम र योगदानमा सामाजिक परिचालन गर्ने र अगुवाइ लिनसक्ने महिलाहरु पनि अन्तरक्रियामा प्रत्यक्ष जोडिनसक्छन् । यसले व्यक्ति, मिडिया, समाज, संगठन सबैलाई दीर्घकालमा फाइदा नै पुग्नेछ ।

ग. अन्तमा,
महिला अधिकारको सन्दर्भ चलिरहेको यो बेला देशमा आजकल घरेलु हिंसा वा अन्य देवानी मुद्दाभन्दा सञ्चारमा यौनहिंसाको मुद्दाले तीब्रता पाएको छ । चलचित्र क्षेत्रमा घटेको भर्खरैको एउटा घटना र त्यसपछिका परिघटनाहरुले यो क्षेत्रमा यौनहिंसालाई हिंसाको परिभाषाबाट झिक्नुपर्छ र यसलाई सामान्य मान्नुपर्छ भने जसरी भीडले न्यायलाई नियन्त्रण गर्न खोजिरहेको देखियो । भीडले जित्दै जाने हो भने निमुखाले काहीं र कहिल्यै पनि न्याय पाउन सक्दैन भन्ने मनोवैज्ञानिक त्रास फैलियो । यी त्रासहरु नै आजका अराजकताका विरुद्ध अर्को दिन सुपर अराजकता भएर निस्किने सम्भावना रहन्छ । त्यसले शान्ति, सुरक्षा र विकासलाई सधैं चुनौति दिइरहन्छ । यस प्रकारका सामाजिक अराजकताले हार्नैपर्छ र घुँडा टेक्नैपर्छ । कलाकारिता क्षेत्रमा बर्खाको ढल जस्तै फैलिंदै गएको यौन अराजकतालाई बेलैमा नियन्त्रण गर्नेतर्फ सबैको ध्यान पुग्यो भने त्यसले कलाकारिताको आयतनलाई नै फराकिलो, अग्लो, बलियो र सुन्दर बनाउन मद्दत पुग्नेछ । अनेकौं जिम्मेवारीहरुको बीचमा यस वर्षको नारी दिवसले कम्तीमा एउटा ताजा सवालमा ठोस कार्य सम्पन्न गर्न सक्नेछ ।

महिलामाथि शासन हैन, सहकार्यमा पुरुषहरुको पूर्ण सहभागिता नभै लैंगिक समानता र दिगो विकास सम्भव छैन । स्थानीयस्तरमा, यो वर्षैभर सम विकासका बाटाहरु खनौं र वर्षैभरको नारी दिवसमा सहभागी बनौं ।

याे पढ्न छुटाउनु भयाे की ?

बागमती प्रदेशको मुख्यन्यायधिबक्तामा धादिङका श्यामनारायण श्रेष्ठ

Friendship Khabar

उज्यालो भविष्य द्वारा शताब्दी पुरुष लगायतलाई सम्मान

Kedar Dahal

शिक्षा मन्त्रालयसँग ५ बुँदे सहमति भए पछि शिक्षक कर्मचारीको आन्दोलन स्थगित

Friendship Khabar